बोरिस जोनसन: नयाँ ब्रिटिश प्रधानमन्त्रीका काम के के हुन्?

  • 24 जुलाई 2019
नम्बर १० डाउनिङ स्ट्रिट तस्वीर कपीराइट Getty Images

बोरिस जोनसन कन्जरभेटिभ पार्टीका नयाँ नेता चयन भएका छन्।

बुधवार टरिजा मेले औपचारिक रूपमा राजीनामा दिएपछि उनी प्रधानमन्त्री बन्नेछन्।

तर उनले अब के जिम्मेवारी बहन गर्नुपर्नेछ?

प्रधानमन्त्रीले के गर्छन्?

प्रधानमन्त्री सरकार प्रमुख हुन् र उनलाई महारानीले नियुक्त गर्नेछिन्। ब्रिटेनमा सामान्यतया: आम निर्वाचनमा विजयी पार्टीको नेता नै प्रधानमन्त्री हुने चलन छ।

मन्त्रीहरू नियुक्त गर्नु प्रधानमन्त्रीको काम हो। थोरै सांसदहरूले मात्र मन्त्रीको भूमिका पाउँछन्। वरिष्ठ मन्त्रीहरू मात्र मन्त्रीपरिषद्को सदस्य बन्न पाउँछन् ।

प्रधानमन्त्रीले कुनै पनि समयमा मन्त्री नियुक्त गर्न र हटाउन सक्छन्।

उनले मन्त्रालयहरू खारेज गर्न र नयाँ बनाउन पनि पाउँछन्।

चान्सलर अफ एक्सचेकर भनिने अर्थमन्त्रीका साथ प्रधानमन्त्री कर र व्यय नीतिको हर्ताकर्ता पनि हुन्।

तस्वीर कपीराइट Getty Images

प्रधानमन्त्रीले नयाँ कानुनहरू ल्याउन पनि सक्नेछन् तर संसद्‌ले तिनलाई समर्थन गर्नुपर्छ।

प्रधानमन्त्री सरकारका सबैखाले नीति र निर्णयहरूका लागि जिम्मेवार हुन्छन्।

प्रधानमन्त्रीसँग अन्य कुन-कुन शक्ति हुन्छ?

सरकारी निर्णयहरू कार्यान्वयन गर्ने व्यक्तिहरू तथा विभागहरू रहने नागरिक प्रशासन प्रधानमन्त्रीको समग्र नियन्त्रणमा रहन्छ। प्रशासनले नै नाइटहुड र डेमहुड लगायत मान, पदवी, तक्मा, पुरस्कारहरूबारे निर्णय गर्छन्। तिनीहरूले लर्ड भनिने संसदको माथिल्लो सभाका मनोनित सदस्यहरू पनि नियुक्ति गर्न सक्छन्।

प्रतिरक्षा र सुरक्षासँग सम्बन्धित धेरै प्रकारका जिम्मेवारी पन‌ि प्रशासनकै हुन्छ।

उदाहरणका लागि, उनीहरूसँग यूकेको सेनालाई परिचालन गर्ने शक्ति हुन्छ। तर हालैको प्रचलन अनुसार त्यस्तो सेना परिचालनको निर्णयलाई संसदीय अनुमोदन प्राप्त हुनु पर्छ।

कतिपय विशेष जिम्मेवारी पनि प्रधानमन्त्रीकै काँधमा हुन्छ। जस्तो कि अपहरणमा परेको वा नचिनिएको हवाई जहाजलाई आक्रमण गरेर खसाल्ने वा नखसाल्ने भन्ने जस्ता निर्णयहरू।

उनीहरूले यूकेको परमाणु हतियारको प्रयोगलाई पनि अनुमोदन गर्न सक्छन्।

प्रधानमन्त्रीलाई कसरी उत्तरदायी बनाइन्छ?

यस्तो शक्ति भए पनि ब्रिटेनका प्रधानमन्त्रीले आफूखुशी जे पनि निर्णय गर्न पाउँदैनन्।

त्यसका लागि उनले बहुमत सांसदहरूको विश्वासको मत लिनुपर्ने हुन्छ।

किनकी विधेयक पारित हुन बहुमत सांसदको भोट आवश्यक पर्दछ।

यदि सरकार संसदमा पटक पटक पराजित भएमा सांसदहरूले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेस गर्न सक्छन्। यदि प्रधानमन्त्रीले अविश्वासको प्रस्तावमाथिको संसदीय मतदानमा हारे भने देशमा आम निर्वाचन गर्नुपर्ने हुन पनि सक्छ।

यदि प्रधानमन्त्रीको पार्टीले आम निर्वाचन हारे भने उनले राजीनामा दिनुपर्छ र विजयी पार्टीको नेतालाई प्रधानमन्त्री बन्न बाटो बनाइदिनु पर्छ।

यदि प्रधानमन्त्रीले देशको हीत विरूद्ध काम गरेका छन् भन्ने लागेमा, सैद्धान्तिक रूपमा , महारानीसँग प्रधानमन्त्रीलाई बर्खास्त गर्ने शक्ति छ। तर त्यसले संवैधानिक संकट पैदा गर्नसक्छ।

कसले प्रधानमन्त्री चुन्न पाउँछन्?

बोरिस जोनसनले कन्जरभेटिभ पार्टीका सांसद र साधारण सदस्य दुवैको समर्थन पाउनु आवश्यक थियो।

सुरूमा १० जना टोरी सांसदहरू सम्भावित प्रधानमन्त्रीका रूपमा मनोनित भए।

तर कन्जरभेटिभ सांसदहरूको श्रृङ्खलाबद्ध गोप्य मतदानहरूले त्यो संख्यालाई दुईमा झार्दै बोरिस जोनसनर जेरमी हन्टलाई अन्तिम प्रतिष्पर्धी बनाए।

टोरी पार्टीका सदस्यहरूले भोट दिनु पूर्व दुवैजना विभिन्न बहसमा सामेल भएका थिए।

यसको अर्थ हो करिब १ लाख ६० हजार मानिसले ६ करोड ५० लाख भन्दा बढी जनसंख्याका लागि नेता चुनेका थिए भन्ने हो। बोरिस जोनसनले ९२ हजार १ सय ५३ भोट ल्याए भने जेरमी हन्टले ४६ हजार ६ सय ५६ भोट ल्याए।

अधिकांश कन्जरभेटिभ पार्टीका सदस्यहरू ५५ वर्ष माथिका छन् र अधिकांश उच्च सामाजिक वर्गबाट आएका छन्।

आम निर्वाचन किन भएन ?

नयाँ प्रधानमन्त्री चयन गर्नका लागि आम निर्वाचन नै हुनुपर्छ भन्ने जरुरी हुँदैन।

कन्जरभेटिम पार्टी पहिले देखि नै सत्तामा छ र जबसम्म बोरिस जोनसनले बहुमत सांसदको समर्थन प्राप्त गर्छन् नयाँ आम चुनाव गर्नु पर्दैन।

यदि उनले कुनै बेला चुनावको घोषणा गर्न चाहे भने दुई तिहाई सांसदको समर्थन आवश्यक पर्छ।

यसले ब्रेक्जिटलाई कहाँ पुर्‍याउँछ?

टरिजा मेको बहिर्गमनका बावजुद ब्रेक्जिट समस्या हल हुने सम्भावना धेरै टाढा छ।

छिमेकी युरोपेली देशहरू र यूकेको सम्बन्धको भविश्यलाई परिभाषित गर्ने समाधानका साथ आएका बोरिस जोनसनलाई त्यसले निक्कै व्यस्त बनाउनेछ।

उनले हालको सम्झौतामाथि पुन: छलफल सुरु गर्ने संकल्प गरेका छन्। जसलाई मेले तीन पटकसम्म संसदबाट पारित गराउन असफल भइन्।

तस्वीर कपीराइट Getty Images

ब्रेक्जिटका लागि तोकिएको मिति अगावै एउटा संशोधित सम्झौतामा सहमति हुन्छ भन्ने कुनै प्रत्याभूति छैन।

तर जोनसनले भने ३१ अक्टोबरमा यूके नयाँ सम्झौताका साथ वा कुनै सम्झौता विना नै युरोपेली संघबाट बाहिरिने बताएका छन्।

प्रधानमन्त्री पदका सुविधा

प्रधानमन्त्री सन् १७३५ देखि नै ब्रिटेनका प्रधानमन्त्रीको निवास रहँदै आएको लण्डनस्थित टेन डाउनिङ स्ट्रिटमा बस्छन्।

तर यस्मा केही अपवाद पनि छन्। सन् १९९७ मा आफ्नो हुर्कंदो परिवार भएकाले टोनी ब्लेयरले १० नम्बरको दाँजोमा केही ठूलो र फराकिलो नम्बर ११ को घर लिएका थिए।

यसका अतिरिक्त प्रधानमन्त्रीसँग एउटा सरकारी निवास पनि हुन्छ। चेकर्स भनिने त्यो ग्रामिण आवास उनले जुनसुकै बेला प्रयोग गर्न सक्छन्।

बोरिस जोनसनले एउटा सरकारी प्रधानमन्त्रीय कार पाउँछन्। हालका लागि यो 'जागुअर एक्सजे सेन्टिनल' मोडलको रहेको छ जस्लाई प्रधानमन्त्रीको आवश्यकता अनुसार निर्माण गरिएको हो।

हालका लागि ब्रिटेनका प्रधानमन्त्रीको वार्षिक तलब १ लाख ५० हजार ४ सय २ पाउन्ड तोकिएको छ।