टी-२० विश्वकप छनौट क्रिकेट: ज्ञानेन्द्रको कीर्तिमानी ब्याटिङ, मलेशियाविरुद्ध नेपाल विजयी

  • 24 जुलाई 2019
ज्ञानेन्द्र
Image caption म्यान अफ द म्याच भएका कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकको कीर्तिमान बनाए

कप्तानी गरिरहेका ज्ञानेन्द्र मल्लले विस्फोटक ब्याटिङ गरेपछि सिङ्गापुरमा सञ्चालन भइरहेको टी-२० विश्वकप क्रिकेट छनौटको एशियाली प्रतियोगितामा नेपालले मलेशियालाई पराजित गरेको छ।

वर्षाले खेल प्रभावित भएपछि नौ ओभरमा छोट्याइएको खेलमा मलेशियाले सात खेलाडी गुमाउँदै बनाएको ८३ रनको चुनौतीलाई नेपालले तीन विकेट गुमाइ आठ ओभरमा पुरा गर्यो।

प्रतियोगिताको विजेताले सन् २०२० को विश्वकपको लागि छनौट प्रतियोगिता खेल्न पाउँछ।

नेपालले विश्वकप छनौटको सम्भावनालाई कायम राख्न प्रतियोगिताको बाँकी सबै खेल जित्नुपर्ने चुनौती छ।

दुई नयाँ कीर्तिमान

नेपाललाई जित दिलाउन प्रारम्भिक ब्याट्सम्यान मल्लले नेपालको तर्फबाट सबैभन्दा छिटो पचास रनको कीर्तिमान राखेका छन्।

शुरुदेखि नै आक्रामक देखिएका कप्तान मल्लले २० बलमा पाँच चौका र तीन छक्काको साथ अर्धशतक पूरा गरे।

उनले अघिल्लो हप्तामात्र मलेशियाविरूद्ध विनोद भण्डारीले २५ बलमा बनाएको छरितो अर्धशतकको कीर्तिमान तोडेका हुन्।

मल्लले यो सँगै प्रारम्भिक ब्याट्सम्यान प्रदीप ऐरीसंग मिलेर पहिलो विकेटको साझेदारीमा पनि नयाँ कीर्तिमान बनाएका छन्।

यो जोडीले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरेको हो। मल्लले मङ्गलवार मात्रै कतारसँगको खेलमा पारस खड्कासंग मिलेर पहिलो विकेटका लागि ४९ रनको उच्च स्कोर जोडेका थिए।

अर्धशतक प्रहार गरेको अर्को बलमा मल्ल आउट भएका थिए।

उनलाई मोहम्मद सहादतले आउट गरेका हुन्। सहादतले ऐरीलाई १२ रनमा र दीपेन्द्र सिंह ऐरी दुई रनमा आउट गरे।

नेपालको विजयको लागि शरद भेषावकर नटआउट ३ रन र विनोद भण्डारीले आठ बलमा नटआउट १३ रन जोडे। उनले आठौँ ओभरको अन्तिम बलमा सहादतलाई छक्का प्रहार गर्दै खेल जिताएका हुन्।

Image caption सोमपाल कामीले तीन विकेट लिए

वर्षाको डर

पहिलो खेलमा कतारसँग हार ब्यहोरेकोले नेपालले बाँकी तीनवटै खेलमा शतशत प्रतिशत नतिजा निकाल्नुपर्ने अवस्थामा छ।

त्यसैले वर्षाले खेल ढिला भएपछि मलेशियाविरुद्धको खेल रद्ध हुने स्थितिमा पुग्दा नेपाल अप्ठेरो स्थितिमा पुगेको देखिएको थियो।

तर वर्षा रोकिएपछि नौ ओभरको खेल सम्भव भयो। नेपालले टस जितेर फिल्डिङ रोजेको थियो।

नियमित कप्तान पारस खड्का ढाडको समस्याका कारण खेल्न नसकेपछि उपकप्तान ज्ञानेन्द्र मल्लले कप्तानीको जिम्मेवारी लिएका थिए।

खड्का सहित ललितनारायण राजवंशी पनि टिममा छैनन्। उनीहरुको स्थानमा प्रदिप ऐरी र रोहित पौडेल टिममा समावेश भएका थिए।

चुनौती

यसअघि पहिलो ब्याटिङ गरेको मलेशियाले निर्धारित ओभरमा सात विकेट गुमाउँदै ८३ रन बनाएको थियो।

सोमपाल कामीले पहिलो ओभरमै दुई खेलाडीलाई खाता खोल्न नदिई आउट गर्दै नेपाललाई गतिलो शुरूवात दिलाए।

उनले खेलको पहिलो बलमा नै अनवर अरुद्धिनलाई तथा ओभरको अन्तिम बलमा सफिक सर्राफलाई आउट गरेका थिए।

तर मलेशियाका सइद अजिजले १५ बलमा ३० रन तथा भिरन्दीप सिंहले १७ बलमा २१ रन बनाए।

अन्य ब्याट्सम्यानहरुले दोहोरो रन छुन सकेन। नेपालमा लागि सोमपाल कामीले तीन र भेट्रान बसन्त रेग्मीले दुई विकेट लिए।

सन्दीप लामिछाने र करण केसीको नाममा पनि १/१ विकेट रह्यो।

अबका खेल

नेपालले अब कुवेतसँग शनिवार र सिङ्गापुरसँग आइतवार खेल्नेछ।

नियमित कप्तान पारस खड्काले ढाडमा देखिएको समस्याका कारण अबको खेल नखेल्ने सम्भावना छ।

सम्बन्धित सामग्री