तरकारीमा विषादी परीक्षणको नतिजा नै अविश्वसनीय

  • 25 जुलाई 2019
तरकारी व्यापारी तस्वीर कपीराइट RSS

नेपालमा तरकारी र फलफूल लगायतका खाद्यमा विषादीको अवशेषबारे वास्तविक अवस्था पहिचानमै समस्या रहेको विज्ञहरूले बताएका छन्।

खाद्य सामग्रीमा विषादीको सही पहिचानका लागि खानेकुराको चरणबद्ध जाँच, भएकै विधिहरूको स्तरोन्नति र नमुनाका तुलना गर्ने क्षमतासहितका आधुनिक प्रयोगशाला आवश्यक रहेको बताइएको छ।

काठमाडौंको कालिमाटीसहित देशका सात ठाउँमा रहेका द्रूत विश्लेषण प्रयोगशालामा अहिले नेपालमा दुईवटा समूहका विषादी मात्र जाँच्न सकिन्छ। तर त्यसको नतिजा भरपर्दो नभएको विज्ञहरू बताउँछन्।

नेपाल केमिकल सोसाइटीका अध्यक्ष डा. निरञ्जन पराजुली भन्छन्: "त्यो [जाँच] पनि शङ्कास्पद छ।"

शङ्कास्पद किन?

काठमाण्डूको कालिमाटी तरकारी बजारमा विसं २०७१ देखि २०७६ जेठ १५ सम्म गरिएका ७,४४३ नमुना परीक्षणमा ६४ वटा खान अयोग्य पाइएका थिए भने ३५ वटा जाँचका लागि क्वारेन्टाइनमा पठाइएको केन्द्रीय प्रयोगशालाको तथ्याङ्क छ।

पराजुली भन्छन्: "त्यो शङ्कास्पद किन छ भने केही स्थानमा स्वतन्त्र रूपमा अध्ययन हुँदा विषादीका अवशेष तरकारीका सबैजसो नमुनामा पाइएका छन्।"

नेपालमा अहिले १७० एवम् भारतमा २३४ प्रकारका विषादी प्रयोग भइरहेका छन्।

पराजुली भन्छन्: "तर हाम्रो खाद्य विभागसँग २९ वटा विषादीको मात्र नमूना छ। तिनको पहिचान हुने अवस्थामा समेत मात्रा थाहा नहुने समस्या छ।"

RSS
नेपालमा विषादी

  • ८५ प्रतिशततरकारीमा प्रयोग

  • ३९६ ग्रामप्रतिहेक्टर प्रयोग

  • २ समूह(९ समूहका विषादीमध्ये) मात्रै जाँच सम्भव

  • जाँच पूर्वाधार७ द्रूत प्रयोगशाला, १ केन्द्रीय प्रयोगशाल

स्रोत: कृषि तथा पशुपंक्षी मन्त्रालय र नेपाल केमिकल सोसाइटी

धेरै प्रयोग हुने काउली, सिमी र गोलभेंडाजस्ता तरकारीमा प्रयोग भइरहेको साइपर मेथिनजस्ता विषादी अहिलेको क्षमताले जाँच गर्न भ्याउँदैन।

सरकारले सेवा र जिम्मेवारीका हिसाबले जाँच गर्ने प्रयोगशालासँगै विश्वविद्यालयहरूमा समेत अध्ययन प्रयोगशाला निर्माण गरिने अवस्थामा वास्तविक अवस्था थाहा हुन सजिलो हुने विज्ञहरू बताउँछन्।

समान क्षमता आवश्यक

नेपाल र भारत दुवै विश्व व्यापार सङ्गठन डब्लुटिओका सदस्य राष्ट्र भएकाले सामान्य अवस्थामा दुवै देशका नियामक निकायबीच समझदारीले समेत विषादीको समस्यासँग जुझ्न सकिने बताइन्छ।

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका पूर्वनिर्देशक डा टिकाबहादुर कार्की भन्छन्, "आपसमा सम्झौताहरू भएर खाद्य सामग्री आउने ठाउँमै स्वच्छताको प्रमाणपत्र लिएर आउने प्रणालीको विकास गर्न सकिन्छ।"

"त्यस्तो अवस्थामा हाम्रो सक्रिय छड्के जाँच नै पर्याप्त हुन्छ। तर पहिले समान क्षमताका प्रयोगशाला दुवै देशमा हुन आवश्यक छ।"

त्यस्तो समझदारी हुँदा नेपालले समेत आफूले निर्यात गर्ने खाद्यका लागि चाहिने अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य क्षमता बनाउनुपर्ने हुन्छ।

नेपालको सोही क्षमताको अभावमा स्वच्छताको प्रमाणपत्र दिन नसक्दा भारतले समयसमयमा अलैंची र अदुवाजस्ता सामग्रीका निर्यातमा समस्या सिर्जना गर्ने गरेको जानकारहरू बताउँछन्।

नेपालमा अहिले एक सरकारीसहित तीनवटा प्रयोगशाला मात्र अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त छन्।

अहिले देशका सीमामा १६ वटा प्लान्ट क्वारेन्टाइनहरू मात्र छन् जसको काम रसायनिक विषादी जाँच्नु होइन।

नेपालमा आउने विषादीमध्ये ८५ प्रतिशतभन्दा बढि तरकारीमा प्रयोग हुने सरकारी तथ्याङ्क छ।

नेपालमा विषादीको समस्या के हो?

  • अत्याधिक प्रयोग हुनु
  • समय अवधि पूरा नभइकन विषादीयुक्त खाद्यान्न बजारमा पठाइनु
  • टमाटर र भान्टाजस्ता तरकारी र फलफूल ताजा र चम्किलो देखाउन विषादी प्रयोग गरिनु
  • माछामा झिँगा रोक्नका लागि विषादीहरू राखिनु
  • केरा र आँपजस्ता फलफूल पकाउनका लागि प्रतिबन्धित विषादीहरू प्रयोग हुनु

सरकार के भन्छ?

नेपाल सरकारका अधिकारीहरूले विषादीको समस्या 'भयावह नभए पनि ढुक्क भएर बस्ने अवस्था नरहेको' बताउने गरेका छन्।

अहिले नेपालमा प्रतिहेक्टर ३९६ ग्राम विषादीहरू प्रयोग भइरहेका छन्। जुन विकसित देशहरूसँगै तुलना गर्दा समेत धेरै परिमाण नभएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जीसी बताउँछन्।

तर नियमनको पाटो कमजोर हुँदा व्यावसायिक उत्पादन क्षेत्रमा तिनको प्रयोग निकै उच्च पाइएको अधिकारीहरू बताउँछन्।

जीसी भन्छन्: "प्याकेटमा रातो सङ्केत राखिएका निकै हानिकारक हुने विषादी नेपालमा पूर्णत: प्रतिबन्धित छ। त्यसपछिको तुलनात्मक कम पहेंलो रङ्गको सङ्केत हुने समेत एक तिहाइजति मात्र प्रयोग हुन्छ।"

"नयाँ विषादी भित्र्याउने मामिलामा समेत सरकार उदार छैन, बरू जैविक मलतर्फ नीति केन्द्रित छन्।"

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
कौसी खेती: न विषादीको डर, न महङ्गीको मार

सम्बन्धित सामग्री