नेकपाः स्कूल विभाग एक तर आकाङ्क्षी किन अनेक

  • 27 जुलाई 2019
नेकपा तस्वीर कपीराइट RSS

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले अहिले चर्चामा रहेको आफ्नो स्कूल विभागको जिम्मेवारी कसलाई दिने भन्नेबारे अझै निर्णय गर्न सकेको छैन।

एउटै जिम्मेवारी लागि दाबेदारको सङ्ख्या थपिँदै गएपछि नेकपा नेतृत्वलाई गाह्रो हुनु स्वाभाविक भएको कतिपयको तर्क छ।

स्कूल विभागको नेतृत्वका लागि सचिवालय नेताद्वय नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेल अनि स्थायी समिति सदस्यद्वय वेदुराम भुसाल र घनश्याम भुसाल अहिले चर्चामा छन्।

चर्चामा रहेका चार जनामध्ये नेता वेदुराम भुसालले २०६५ देखि २०७० सालसम्म तत्कालीन एमालेको स्कूल विभागको प्रमुखका रूपमा काम गरिसकेका छन्।

सचिवालयका दुई नेताबीच कुरा नमिलेपछि अरू नेताले पनि बोल्न थालेको र आफूसँग विगतको अनुभव भएकोले इच्छा जाहेर गरेको उनको भनाइ छ।

उनले भने, "मेरो पृष्ठभूमि त झन् सशक्त छ, मैले किन दाबी नगर्ने भन्ने हिसाबले मैले कुरा उठाएँ।"

स्कूल विभागप्रति किन आकर्षण?

परराष्ट्रमन्त्री समेत रहेका नेकपाका स्थायी समिति सदस्य प्रदीप ज्ञवाली कम्युनिस्ट पार्टीभित्र स्कूल विभागलाई महत्त्वपूर्ण रूपमा लिने गरिएको बताउँछन्।

उनी भन्छन्, "पार्टीका स्थापित विचारलाई कार्यकर्तामाझ स्थापित गर्ने सन्दर्भमा प्रशिक्षणको र त्यो ढङ्गको अभिमुखीकरणको निकै महत्त्व हुन्छ।, जसको केन्द्रीय भूमिकामा स्कूल विभाग हुन्छ। त्यही भएर धेरै नेताको चासो होला।"

नेताहरूका अनुसार स्कूल विभागले पार्टीका निर्धारित सिद्धान्त, विचार, कार्यक्रम, कार्यनीति तथा रणनीतिका आधारमा पार्टीका नेता, कार्यकर्तालाई प्रशिक्षण दिने काम गर्छ।

नेता वेदुराम भुसाल भन्छन्, स्कूल विभागले पार्टीका नेता, कार्यकर्तालाई पार्टीका निर्धारित नीति, सिद्धान्त, कार्यक्रम, विचार, कार्यदिशा आदिका बारेमा राम्रोसँग जानकारी गराउने हो, तिनको व्याख्या एवम् विश्लेषण गर्ने हो।

तस्वीर कपीराइट .

स्कूल विभागको महत्त्वबारे नेताद्वय भुसाल र ज्ञवालीका तर्कसँग तत्कालीन एमालेको प्रचार विभागमा डेढ दशकभन्दा बढी समय काम गरेको अनुभव बटुलिसकेका नेकपाका केन्द्रीय सदस्य सूर्य थापा पनि सहमत छन्।

तर उनी भन्छन्, "काम गर्दा यो धेरै महत्त्वपूर्ण विभाग हो भने काम नगर्दा केही पनि होइन।"

स्कूल विभागको नेतृत्व आफूले गर्छु भन्दै कतिपय नेताले सार्वजनिक रूपमा बोल्दै हिँड्नु ठिक नभएको थापाको भनाइ छ।

"यो चाहिँ धेरै माथापच्चीको विषय होइन। म हुनुपर्छ, अरूभन्दा म योग्य छु जस्ता तर्क गर्दै हिँड्नु बेकार कुरा हो।"

तर नेता ज्ञवाली त्यसलाई सकारात्मक रूपमा लिइनुपर्ने तर्क गर्छन्।

उनी भन्छन्, "पार्टीको वैचारिक रथ हाँक्नका लागि नेकपामा एकसे एक योग्य नेता हुनुहुन्छ। नेताहरूलाई उपयुक्त ढङ्गले जिम्मेवारी दिँदै सकारात्मक ढङ्गले नै टुङ्गिन्छ यो।"

कत्तिको चुनौतीपूर्ण जिम्मेवारी?

जो कोहीले पनि स्कूल विभागको म नेतृत्व गर्छु भन्नु उपयुक्त नभएको केन्द्रीय सदस्य थापाको तर्क छ।

पठनपाठनको संस्कृति हराउँदै गएको पृष्ठभूमिमा स्कूल विभागको जिम्मेवारीलाई हल्का ढङ्गले लिन नहुने कतिपय नेता बताउँछन्।

उनीहरूका अनुसारअध्ययन अनुसन्धानमा पर्याप्त समय दिन सक्ने नेताले मात्रै उक्त जिम्मेवारी राम्ररी निर्वाह गर्न सक्छन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
‘सानो टोलीमार्फत् काम गर्ने प्रमको शैली बेठिक’

नेता वेदुराम भुसाल भन्छन्, "मानिसहरूलाई पठनपाठनमा सामेल गराउनु आफैँमा चुनौतीपूर्ण छ। आफैँ नपढी अरूलाई पढाउन सकिँदैन।"

अध्ययन, अनुसन्धानमा रमाउन सक्ने नेताका लागि चाहिँ स्कूल विभागको जिम्मेवारी उपयुक्त हुने उनको ठम्याइ छ।

तर दाबेदारहरूको सङ्ख्यातर्फ इङ्गित गर्दै थापा भन्छन्, "अहिले त योग्यता, क्षमता, हैसियत र भूमिकाका आधारभन्दा पनि व्यक्तिका इच्छा, आकाङ्क्षा, प्रतिष्ठा आर्जन तथा व्यक्तित्व विकासको सोचाइले यस्तो देखापरेको छ।"