भारतमा बाल यौन दुराचार, कति भयावह?

  • 26 जुलाई 2019
डेरिक ओ ब्राइन तस्वीर कपीराइट GETTY IMAGES

आफूले सानोमा जबरजस्ती भोगेको यौन दुर्व्यवहारको तीतो अनुभवलाई एक जना भारतीय सांसदले संसद्‌मा सुनाएपछि त्यसले आमरूपमा रूढीवादी ठानिने भारतीय समाजमा बाल यौन उत्पीडनको मुद्दालाई सतहमा ल्याइदिएको छ।

तृणमूल कंग्रेसका नेता डेरिक ओब्राइनले माथिल्लो सदन राज्यसभामा बालबालिकालाई यौन अपराधबाट बचाउने उद्देश्य लिएको एउटा कानुनमाथि दर्ता गरिएको संशोधनका विषयमा बुधवार बोल्दै थिए।

अहिले ५८ वर्ष पुगेका ओ ब्राइनले आफू १३ वर्षको हुँदा उक्त घटना भएको सुनाएका थिए।

उनले टेनिस खेलको अभ्यास सकेपछि कट्टु र टिशर्ट लगाएर कोलकातामा एउटा भिडभाडपूर्ण बसमा आफू चढेको स्मरण गरे।

उनले भने, 'मलाई यौन दुर्व्यवहार गरियो। कसैले मेरो कट्टुमा वीर्य स्खलन गरायो। मलाई थाहा छैन कसले यस्तो गर्‍यो।'

ती सांसदले यो विषयमा आफ्ना अभिभावकसँग कुरा गर्नुअघि छ-सात वर्षसम्म आफूले कसैलाई नभनेको पनि बताए।

असुरक्षा

भारतीय कानुनले बाल यौन उत्पीडनका पीडीतहरूको परिचय संरक्षण गर्छ तर आफ्नो परिचय गोप्य राख्न पाउने हकलाई बेवास्ता गर्दै आफूले भोगेको आघातका बारेमा मानिसहरूले सार्वजनिक रूपमा बोलेका छन्।

ओब्राइन सम्भवत: आफूले व्यक्तिगत रूपमा भोगेको यस्तो आघातका बारेमा बोल्ने पहिलो भारतीय सांसद हुन्।

टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको संसदको बैठकमा यसरी बोल्ने निश्चित रूपमा उनी पहिलो नेता हुन्।

सामाजिक सञ्जालमा उनको हिम्मतको प्रशंसा गरिएको छ र उनको अभिव्यक्ति राष्ट्रिय अखबारहरूको मूल समाचार बनेको छ।

ओब्राइनको भनाइले भारतमा रहेको बाल यौन उत्पीडनको ठूलो समस्यालाई चर्चाको केन्द्रमा ल्याएको छ।

अहिलेसम्म भारत सरकारले गरेको यस विषयको एउटा मात्र अध्ययनका क्रममा सन् २००७ मा सर्वेक्षणमा सहभागी ५३ प्रतिशत बालबालिकाले आफू कुनै प्रकृतिको यौन दुर्व्यवहारको शिकार भएको बताएका थिए।

त्यसपछिका वर्षहरूमा सार्वजनिक अपराध सम्बन्धी तथ्यांकहरूले दशौँ हजार उजुरी गरिएका घटनाहरू रहेको देखायो।

तस्वीर कपीराइट Getty Images

पछिल्लोपटक उपलब्ध सन् २०१६ को तथ्यांकले भारतमा प्रत्येक १५ मिनेटमा एक जना बालबालिका शोषणमा पर्ने गरेको देखायो।

अभियानकर्ताहरू वास्तविक सङ्ख्या अझ ठूलो रहेको ठान्छन् र उनीहरूका विचारमा यौन अपराध दबाउने प्रवृतिका कारण धेरै घटनाहरू प्रहरीसमक्ष नै पुग्दैनन्।

सन् २०१२ मा भारतले बालबालिकालाई यौन अपराधनबाट जोगाउने उद्देश्य बोकेको पोक्सो भनिने कानुन ल्याएको थियो।

बुधवार भारतको माथिल्लो सदनले पारित गरेको संशोधनले बालबालिकालाई गरिने गम्भीर यौन शोषणका अपराधमा मृत्युदण्डसम्मको सजाय दिनसक्ने कडा प्रस्ताव गरेको छ।

महिला तथा बाल बिकासमन्त्री स्मृती इरानीले बाल यौन शोषणसँग सम्बन्धित १ लाख ६६ हजार विचाराधीन मुद्दाहरूलाई तत्काल किनारा लगाउन १ हजार २३ वटा द्रुत अदालत गठन गर्न लागिएको बताएकी थिइन्।

तल्लो सदनबाट पनि अनुमोदन भएपछि यो विधेयकले कानुनको रूप लिनेछ।

दण्डमा जोड

बुधवारको बहसमा सहभागी राज्यसभाका सांसदहरूले मुख्य गरी दण्डको बारेमा बोलेका थिए।

धेरैले मृत्युदण्डको सजायले अपराधलाइ निरूत्साहित गर्नसक्ने भएपनि यस्ता अपराध नियन्त्रण गर्न अझ धरै गर्न बाँकी रहेको उल्लेख गरेका थिए। एक जनाले दोषी पाइएकालाई रसायनको प्रयोग गरी बन्ध्याकरण गरिनुपर्ने माग गरे।

तर ओब्राइनले दण्डमा मात्रै जोड दिएर समाधान फेला नपर्ने उल्लेख गरे।

'मेरा सबै साथीहरूले सजायको कुरा गरे तर यो सजायसँग मात्रै जोडिएको होइन। अदालतले सजाय सुनाउने आफ्नो जिम्मेवारी वहन गर्छन् तर हामीले कसरी यस्ता घटना हुन नदिने हो?' उनले प्रश्न गरे।

अभियानकर्ताहरूका अनुसार भारतमा बाल यौन दुर्व्यवहार नियन्त्रणमा सबैभन्दा ठूलो अवरोध यो विषयसँग जोडिएको गोपनियता हो।

बालबलिकाहरू आक्कल झुक्कलमात्रै दुर्व्यवहार विरूद्ध उजुरी दिन्छन्। त्यसका कैयौँ कारण छन्। बेला बेलामा उनीहरू आफूलाई के भइरहेको छ भनेर बुझ्दैनन् वा उनीहरू चुप लाग्छन् किनकी उनीहरूलाई या त लाज लाग्छ या उनीहरू आफूले गल्ती गरेको महसुस गर्छन्।

दुराचारी बालबालिकाकै वरिपरि

तर जब उनीहरूले उजुरी हाल्छन् अधिकांश समयमा अविश्वास व्यक्त गरिन्छ, अस्वीकार गरिन्छ र ढाकछोप पनि गरिन्छ। एकदमै नजिकको सम्बन्ध रहेका व्यक्ति जोडिएका घटनामा त अवस्था अझ खराब हुन्छ।

ओब्राइनलाई दुर्व्यवहार गर्ने व्यक्ति अपरिचित भएपनि तथ्यांकहरूले अधिकांश अवस्थामा विश्वास गरिएका वा स्याहार गर्ने व्यक्तिहरू जस्तै अभिभावक, आफन्त र विद्यालयका शिक्षकहरू संलग्न हुने देखाएको छ।

ओब्राइन भन्छन्, 'शोषण कहाँबाट सुरू हुन्छ यो एकदमै स्पष्ट छ। यो घरबाट सुरू हुन्छ। मेरो, तपाइँको र बाँकी हामी सबैको।'

उनले यस्ता घटनामा मौन नबस्न पनि आग्रह गरे। ओब्राइनले भने, 'म मानिसहरूलाई विशेष गरि सार्वजनिक जीवन भएका क्रिकेटरहरू, कलाकारहरू र सांसदहरूलाई बोल्न आग्रह गर्छु। जति बढी हामी बोल्छौँ त्यति बढी बालबालिकाहरू जोगिन्छन्।'

त्यसो गर्नु राम्रो सुरूवात हुनसक्छ। किनभने कुनै पनि समस्या हल गर्ने पहिलो पाइला त्यो समस्या हो भनेर स्वीकार्नुबाटै सुरू हुन्छ।