आर्सनलका मेसुट ओजिल र सेड कोलासिनेकको कार लुटेरासँग सामना

  • 26 जुलाई 2019
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
भिडिओमा छुरी बोरेका मानिसहरूसँग कोलासिनेकले प्रतिरक्षा गर्न खोजेको देखिन्छ।

प्रिमियर लिग खेल्ने दुईजना फुटबल खेलाडीहरूमाथि लण्डनको सडकमा हतियार बोकेको एक समूहले लुटपाटको प्रयास गरेको छ।

आफ्ना खेलाडीहरू मेसुट ओजिल र सेड कोलासिनेक कार अपहरणकारीको निशानामा परेको आर्सनल क्लबले पुष्टि गरेको छ।

तर दुवैजना भाग्न सफल भएको र उनीहरूलाई कुनै चोटपटक समेत नलागेको बताइएको छ।

भिडिओमा के देखियो?

सामाजिक सञ्जालमा देखापरेको एक भिडिओमा स्थानीय समय अनुसार साँझको पाँच बजेतिर कोलासिनेक लुटेराहरूलाई लखेटेको देखिन्छ।

आर्सनलले एक विज्ञप्तिमा भनेको छ: "हामी दुवै खेलाडीसँग सम्पर्कमा छौँ र उनीहरू ठीक छन्।"

तस्वीर कपीराइट Reuters
Image caption सेड कोलासिनेक र मेसुट ओजिल

भिडिओमा छुरी बोकेका मानिसहरूसँग कोलासिनेकले प्रतिरक्षा गर्न खोजेको देखिन्छ।

पाइडल समेत चलाउन मिल्ने मोटरसाइकलमा आएका मास्क लगाएका मानिसहरूसँग जुध्न खेलाडीहरू गाडीबाट बाहिर हाम फालेका देखिन्छन्।

सशस्त्र हमलाकारी

दुवै हमलाकारीहरू सशस्त्र थिए र उनीहरूले २६ वर्षीय कोलासिनेकतर्फ छुरी तेर्स्याएको देखिएको छ।

आर्सनलका फ्यान समेत रहेका एकजना प्रशारक पियर्स मोर्गनले ट्वीट गर्दै 'घटनापछि तत्काल लागु हुनेगरी कोलासिनेकलाई क्याप्टेन बनाइनुपर्ने' बताएका छन्।

महानगरिय प्रहरीका एकजना प्रवक्ताले भनेका छन्: "बताइए अनुसार मोटरसाइकलमा आएका सन्दिग्ध व्यक्तिले कार चालकलाई लुट्ने प्रयास गरेका थिए।"

"चालकले आफ्ना यात्रुसहित त्यहाँबाट उम्काउन भ्याए र गोल्डर्स ग्रिनको एउटा रेष्टुराँमा पुर्‍याए जहाँ अधिकारीहरूले उनीहरूसँग कुराकानी गरेका थिए।"

घटनामा संलग्न अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन।

कोलासिनेक र मिडफिल्डर ओजिल लण्डनका सडकमा त्यस्तो निशानामा पर्ने पहिलो फुटबल खेलाडी भने होइनन्।

सन् २०१६ मा त्यतिखेर वेस्ट ह्यामका स्ट्राइकर एन्डी क्यारोलमाथि तालिमबाट घर फर्कँदा बन्दुक ताकिएको थिए।