हङ्‌कङः प्रहरी प्रतिबन्ध तोड्दै हजारौँद्वारा प्रदर्शन

  • 27 जुलाई 2019
युएन लङ तस्वीर कपीराइट Reuters
Image caption प्रहरीले प्रदर्शनकारी तितरबितर पार्न अश्रुग्यास प्रयोग गरेको थियो

हङ्‌कङमा प्रहरी प्रतिबन्ध तोड्दै हजारौँ प्रदर्शनकारी सडकमा भेला भएका छन्।

प्रदर्शनकारीहरूले उत्तरी शहर युएन लङमा प्रदर्शन गरिरहेका छन्, जहाँ प्रजातन्त्रवादी प्रर्दशनकारीमाथि सशस्त्र मुखौटा लगाएका मानिसहरूले गत हप्ता आक्रमण गरेका थिए।

प्रदर्शनकारीहरूले प्रहरीलाई ती मुखौटाधारी आक्रमणकारीप्रति आँखा चिम्लिएको आरोप लगाएका छन्, जुन प्रहरीले अस्वीकार गरेको छ।

हङ्‌कङमा एउटा विवादास्पद सुपुर्दगी विधेयको विरोधबाट शुरू भएको प्रदर्शन हप्तौँदेखि हुँदै आएको छ।

एकदमै अस्वाभाविक कमद चाल्दै हङ्‌कङ प्रहरीले हिंसा हुन सक्ने त्रास उत्पन्न भएको भन्दै शनिवारको प्रदर्शनमाथि प्रतिबन्ध लगाएको थियो।

प्रहरीविरोधी नारा

तर प्रदर्शनकारीहरू युयेन लङमा जम्मा भएर प्रहरी विरोधी नारा लगाइरहेका छन्।

दङ्गा प्रहरीहरू पनि उपस्थित छन् र प्रदर्शन शुरू भएपछि प्रहरी अधिकारीहरू प्रदर्शनकारीको भिडिओ खिचिरहेका देखिन्छन्।

गत आइतवार १०० जना जति सेतो टीशर्ट लगाएका मान्छेहरू युएनको मेट्रो स्टेशनमा झरेर प्रदर्शनकारी, पत्रकार र बटुवालाई काठ र धातुका लठ्ठीले कुटपीट गरेका थिए।

तस्वीर कपीराइट EPA
Image caption उत्तरमा रहेको श्रमजीवी धेरै रहने जिल्ला युएन लङका सडकमा प्रदर्शनकारीहरू

त्यसैको विरोधमा आजको र्‍याली आयोजना गरिएको हो।

आक्रमणमा ४५ जना घाइते भएका थिए, त्यसको दोष एउटा समूहमाथि लगाइएको थियो।

प्रहरीले आपत्‌कालीन कल गर्दा ढिलो प्रतिक्रिया दिएको आरोप लगाएका थिए।

आक्रमणकारीले रेल्वे स्टेशनबाट बाहिरिएपछि मात्र प्रहरी आएको आरोप लगाएका थिए।

प्रहरीले अहिलेसम्म उक्त समूह सम्बद्ध नौजना गिरफ्तार गरिसकेको जनाएको छ।

किन हुँदैछ प्रदर्शन?

विवादास्पद विधेयकले बलात्कार र हत्याजस्ता अपराधका सन्दिग्धलाई मुख्यभूमि चीन, ताइवान र मकाउसामु सुपुर्दगी गर्न सकिने प्रस्ताव गरेको थियो।

हङ्‌कङ सन् १९९७ यता 'एक देश, दुई प्रणाली' अन्तर्गत चीनको अङ्ग रहिआएको छ।

त्यसले गर्दा विशेष प्रशासनिक एकाइले न्यायिक स्वतन्त्रतासहित मुख्यभूमिजस्तो नदेखिने स्वतन्त्रता उपभोग गर्दै आएको छ।

तर प्रदर्शनकारीहरू सुपुर्दगी विधेयकले हङ्‌कङलाई योजनाबद्ध ढङ्गबाट चीनको पूर्ण नियन्त्रणमा ल्याउन खोजेको भनेर भय प्रकट गर्छन्।

विधेयक निलम्बन गरिएपछि प्रदर्शनकारीका चारवटा खास माग छन्:

  • विधेयक पूर्ण रूपमा फिर्ता लिइनुपर्ने
  • जुन १२ को प्रदर्शनलाई व्याख्या गर्दा प्रयोग गरिएको 'दङ्गा' शब्द फिर्ता लिनुपर्ने
  • पक्राउ परेका सम्पूर्ण प्रदर्शनकारीहरू मुक्त गरिनुपर्ने
  • प्रहरी दमनको अनुसन्धान गरिनुपर्ने

जोस्अ वाङ्क सन् २०१४ को प्रजातन्त्र पक्षधर प्रदर्शनका एकजना नेता हुन् जो १७ जुनमा जेलबाट छिट्टै छुटेका थिए।

जेलबाट छुटेपछि उनले सञ्चारमाध्यम र समर्थकहरूलाई सम्बोधन गर्दै बेइजिङपक्षधर प्रमुख कार्यकारी क्यारी लामले पद छाड्नुपर्ने बताएका थिए।

हङ्‌कङमा दशौँ लाखलाई चिढ्याउने विवाद

हत्याका सन्दिग्धलाई पक्राउपुर्जी

तस्बिर सर्वाधिकार BBC

ताइवानमा एक अभियोजनकर्ताले हङ्‌कङका चान तोङ-काईलाई भ्रमणमा रहेका बेला आफ्नी प्रेमिका पून हिउ-विङ को हत्या गरेको आरोपमा पक्राउपुर्जी जारी गरे।

चान पछि हङ्‌कङ फर्किए तर हङ्‌कङ र ताइवानबीच सुपुर्दगीसन्धि नभएकोले मुद्दा चलाउनका लागि उनलाई ताइवान पठाउन सकिएन।

सुपुर्दगीसम्बन्धी कानुनमा परिवर्तन गर्ने घोषणा

तस्बिर सर्वाधिकार BBC

मुख्यभूमि चीन, ताइवान र मकाउमा सुपुर्दगी रोक्ने अहिलेको व्यवस्था खारेज गर्ने प्रस्ताव गरिएको छ।

पहिलो प्रदर्शन

तस्बिर सर्वाधिकार Reuters

र्‍यालीमा कजवे बे पुस्तक भण्डारका पूर्वमालिक लाम विङ-कीसहित करिब १२ हजार मानिस सहभागी भए। लामले चिनियाँ सरकारको आलोचना गर्ने पुस्तक बिक्री गर्ने प्रकाशकका लागि काम गरेका थिए। उनलाई सन् २०१५ मा दक्षिणी चिनियाँ सहर शेन्जेनमा पक्राउ गरिएको थियो र गैरकानुनी रूपमा व्यापार गरेको आरोप लगाइएको थियो।

मुद्दा चलाउन चिनियाँ सरकारले आफूलाई सुपुर्दगी गराउन सक्छ र त्यस्ताे प्रस्ताव पारित हुनुअघि आफूले हङ्‌कङ छाडिसक्ने उनी बताउँछन्।

सरकारी प्रस्तावविरुद्ध दोस्रो प्रदर्शन

तस्बिर सर्वाधिकार Getty Images

आयोजकहरूका अनुसार र्‍यालीमा एक लाख ३० हजारले सहभागिता जनाए।

हङ्‌कङ‌का वकिलहरूको मौन प्रदर्शन

तस्बिर सर्वाधिकार Anthony Kwan

झन्डै तीन हजार वकिल, अभियोजनकर्ता, कानुनका विद्यार्थी र प्राज्ञले मौन जुलुस निकाले र प्रस्ताव फिर्ता लिन माग गरे।

लाखौँ सहभागी जुलुस

तस्बिर सर्वाधिकार Getty Images

आयोजकका अनुसार हङ्‌कङ सरकारको प्रस्तावविरुद्ध झन्डै १० लाख मानिस प्रदर्शनमा सहभागी भए जुन २२ वर्षयताकै ठूलो थियो। प्रहरी र प्रदर्शनकारीबीच झडप भयो र १९ जना पक्राउ परे। लन्डन, प्यारिस, सिड्नी, भ्यानकुभर र न्यूयोर्कजस्ता सहरमा पनि त्यस्तै प्रदर्शन भए।

हङ्‌कङ सरकारले एउटा वक्तव्यमार्फत्‌ आफूले फरक विचारको सम्मान गर्ने गरेको तर प्रस्तावलाई जुन १२ मा विधायिकामा प्रस्तुत गर्ने प्रक्रिया अघि बढाउने भनेको थियाे। बेइजिङ समर्थक सांसदहरूले प्रस्तावको पक्षमा सात लाख अनलाइन हस्ताक्षर सङ्कलन गरिएको जनाएका छन्।

झडप

तस्बिर सर्वाधिकार Getty Images

सन् २०१४ मा जस्तै हङ्‌कङको मुख्य चौबाटोमा धर्ना दिएका हजारौँ प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले रबरका गोली र अश्रुग्यास प्रहार गर्‍यो। प्रहरी, प्रदर्शनकारी र पत्रकार गरी कैयौँ घाइते भए।

हङ्‌कङकी नेत्री क्यारी लामले हिंसा समस्याको समाधान नभएको भन्दै निन्दा गरेकी छन्।

सम्बन्धित सामग्री