'हामीले बोलेनौँ भने अर्को पिँढीलाई पनि यौन दुर्व्यवहार भइरहन्छ'

  • 28 जुलाई 2019
प्रतिकात्मक तस्बिर

करिब दुई हप्ताअघि पत्रकार बिनु सुवेदीले सेतोपाटी डिजिटल पत्रिकामा 'दाइहरूको डर' शीर्षकमा एउटा ब्लग लेखिन्।

लेखमा उनले आफूमाथि भएका दुर्व्यवहारबारे आरोपितको नाम उल्लेख नगरी आफ्नो अनुभव लेखेकी थिइन्।

उक्त विषयमा बोल्ने आँट गरेको भन्दै कतिपयले प्रशंसा गरेको र कतिपयले चाहिँ 'नाम उल्लेख गर्न नसक्नेले किन लेखेको भनी प्रश्न गरेको' सुवेदीले बताइन्।

उनले जस्तै दुर्व्यवहारसम्बन्धी आफ्नो तीतो अनुभवबारे पछिल्लो समय सञ्चारमाध्यममार्फत् खुलेर लेख्न थालेका महिलाहरूको पनि अनुभव उस्तै छ।

त्यसरी लेख्नेमा त्रिभुवन विश्वविद्यालयका छात्रा, काठमाण्डू महानगरपालिकाकी पूर्वकर्मचारीदेखि पत्रकार तथा लेखिकासम्म छन्।

भोगाइ

यी मध्ये केहीले आरोपित व्यक्तिका नामै उल्लेख गरेका छन् भने केहीले उल्लेख नगरी आफ्नो भोगाइ लेखेका छन्।

तर लेखिसकेका अधिकांश महिलाले खासगरी दुईवटा प्रश्न सामना गरेको अनुभव सुनाएः

  • नाम उल्लेख गरेर के भयो त आरोपितमाथि कुनै अनुसन्धान वा कारबाही खोई?
  • नाम उल्लेख गर्न नसक्नेले लेखेर के हुन्छ? वा हुँदै नभएको लेखेको पो हो कि?

सामाजिक सञ्जालमार्फत् वा व्यक्तिगत रूपमा सोधिने यी प्रश्नले शुरूमा आफूहरूलाई केही तनाव दिए पनि बोलेकोमा पछुतो नलागेको उनीहरूको अनुभव छ।

पन्ध्र वर्षअघि तत्कालीन नगरप्रमुखले आफूलाई दुर्व्यवहार गरेको भन्दै गत वर्ष सार्वजनिक रुपमा बोलेकी काठमाण्डू महानगरपालिकाकी पूर्वकर्मचारी रश्मिला प्रजापतिले भनिन्, "मैले बोलेपछि नकारात्मक कुराहरू हुन्छन्, मैमाथि उत्रिनेहरू हुन्छन् भन्ने लाग्दा लाग्दै पनि मैले दुर्व्यवहारबारे बोल्नुपर्छ भन्ने लागेर श्रीमान्‌सँग सल्लाह गरेरै बोलेकी थिएँ।"

उनले यस्ता विषयमा प्रमाण नहुने कारणले पनि धेरै पीडकको मनोबल बढ्ने गरेको बताइन्।

नकारात्मक टिप्पणी

"तर कम्तीमा बहसमा ल्याउनका लागि र अरू पीडितलाई आफूविरुद्धको दुर्व्यवहारको प्रतिवाद गर्नुपर्छ भन्ने सन्देश दिन पनि बोल्न आवश्यक छ। कम्तीमा त्यसले पीडकमाथि कारबाही नभए पनि उनीहरू सतर्क हुन्छन्," प्रजापतिले भनिन्।

महिला अधिकारका विषयमा कलम चलाउँदै आएकी अमृता लम्साललाई कुनै पनि महिला जसले दुर्व्यवहारबारे खुलेर बोल्न थालेका छन् उनीहरूको मनोबल खस्काउने वा उनीहरूलाई निरुत्साहित गर्ने हिसाबले टिप्पणी गर्न नहुने बताउँछिन्।

उनले भनिन्, "सकारात्मक कुरा भनेको महिलाहरू बिस्तारै बोल्न थालेका छन्। यसमा नाम उल्लेख गरेको वा नगरेको भनेर मुद्दा बनाउन जरुरी छैन। दुर्व्यवहार जस्तो संवेदनशील विषयलाई बहसमा ल्याइएको ल्याइएन भन्ने चाहिँ महत्त्वपूर्ण हो।"

पत्रकार सुवेदीको अनुभवमा उनले नाम उल्लेख नगरी दुर्व्यवहार गर्नेहरू आफूले 'दाइ' भनेकै कतिपय रहेको भनेर लेखेपछि धेरैले त्यसलाई हल्काफुल्का रूपमा लिएको पाइन्।

"म समाचार सङ्कलनमा जाँदा ओहो हामीलाई दाइ नभन्नूस् भनेको सुनेँ। मलाई लागेको थियो उहाँहरूले यस्तो विषयलाई गम्भीर भएर लिनुहुन्छ भन्ने तर ख्यालठट्टा जसरी उडाउन खोज्नुभयो," उनले भनिन्।

"मलाई मैले लेखेर ठिक गरेँ कि गरिनँ भन्ने लागिरह्यो। तर त्यो लेखिसकेपछि मलाई निकै हलुका महसुस भयो।"

उनले कतिपय अवस्थामा बोलेर झन् नराम्रो पो गरेँ कि भन्ने लागेको बताइन्।

सार्वजनिक रूपमा नाम नखुलाइकनै यस्ता विषय आइसकेपछि त्यसले अन्य पीडकहरूलाई सतर्क गराउने हुनाले त्यसबारे बहसलाई निरन्तरता दिनुपर्ने लम्साल बताउँछिन्।

"जुनसुकै पेसा होस् आरोपितको नाम सानै सर्कलमा भए पनि थाहा पाउन गाह्रो हुन्न र खासगरी पीडकले आफूले गरेको कुरा ख्याल गर्छ फेरि दोहोर्‍याउन हच्किन्छ। परिवर्तन बिस्तारै यसैगरी आउने हो," उनले भनिन्।

निर्विकल्प

लेखक तथा अधिकारकर्मी सावित्री गौतम यौन दुर्व्यवहारबारे बोलेर त्यसलाई बहसमा ल्याउनुको विकल्प नभएको बताउँछिन्।

उनका अनुसार अब सार्वजनिक वृत्तमा महिलाको उपस्थिति अपरिहार्य भएकोले पनि यस्ता विषयहरू उठाइन जरुरी छ।

"दुर्व्यवहारमा परेका थोरैले बोल्न थालेका हुन्। धेरैको आवाज हामीजस्तो बोल्न सक्नेले उठाइदिनुपर्छ। यो विषयबारे छलफल बहस गर्नुको विकल्प नै छैन अब," गौतमले भनिन्।

"यी विषय उठ्न थालेपछि नै हामीले त्रिविमा एकजना शिक्षकमाथि यौन दुर्व्यवहारको उजुरी परेको र मण्डला थियटरले एकजना नाट्यकर्मीलाई निलम्बन ग‍र्‍यो भन्ने सुन्यौँ। "

गौतमले आफूले यौन दुर्व्यवहारको विषयमा लेख लेख्दा पनि सम्भावित आलोचनात्मक टिप्पणीहरूको आकलन गरेर नै लेखेको बताइन्।

"मैले लेखेकै भरमा चरित्रहीन महिला भन्ने सुन्नुपरे पनि सुन्छु भन्ने मानसिक तयारी गरेरै लेखेको हुँ," गौतमले भनिन्।

"महिलामाथि हुने यौन दुर्व्यवहार देखाउन मिल्ने वा प्रमाण जुटाउन सकिने खालका हुन गाह्रो पर्छ। त्यसैले पनि हरेक संस्थाले यस विषयमा गोप्य वा सार्वजनिक रूपमै कुरा उठाएर महिलाको भोगाइबारे बुझ्ने र मनन गर्ने गर्नुपर्छ।"

नाम उल्लेख नगर्दा खराब नियत नभएका कतिपय पुरुषमाथि पनि असर गरेको भन्ने टिप्पणी पनि सामाजिक सञ्जालहरूमा भएका छन्।

त्यसबारे गौतम भन्छिन्, "यसबाट ती मानिसहरू मात्रै सशङ्कित हुनुपर्ने हो जसले शक्तिको आडमा कसैमाथि दुर्व्यवहार गरेका छन्।"

"त्यसबाहेक त यो विषय उठाउनैपर्छ। यसले कसैलाई बेफाइदा पुग्छ भन्ने मलाई लाग्दैन।"

नेपालमा यौन दुर्व्यवहारबारे बोलिसक्दा त्यसबारे जिम्मेवार निकायले त्यति गम्भीरतापूर्वक लिएको नदेखिएको पीडितहरूको गुनासो छ।

भारत लगायत अन्य देशमा कुनै पनि व्यक्तिमाथिको आरोपलाई लिएर यहाँ कारबाही वा अनुसन्धानको दायरामा ल्याउने काम नहुँदा त्यसले पीडकहरूले आफूले गरेको दुर्व्यवहारबारे धक नमान्ने उनीहरूको अनुभव छ।

"एकातिर नामै लिएर पनि केही कारबाही हुन्छ भन्ने ग्यारेन्टी छैन भने अर्कोतिर महिलाले भनि हाले भोलि विवाह कसरी हुन्छ त्यो महिलाको अथवा उसका परिवार/समाजले के भन्छन् भन्ने हिच्किचाहटमा हुन्छन्," रश्मिला भन्छिन्,

"तर त्यसो भन्दैमा हामीले बोलेनौँ भने हामीलाई दुर्व्यवहार गर्ने नै व्यक्तिले अथवा त्यस्तो गलत मनसायका व्यक्तिले हामीलाई जस्तै अबको पिँढीलाई पनि दुर्व्यवहार गरिरहन्छ।"

सम्बन्धित सामग्री