विश्व बाघ दिवस: चार वर्षमै पश्चिम नेपालमा बाघको सङ्ख्या दोबर

  • 29 जुलाई 2019
चितवन राष्ट्रिय निकुञ्जमा सन् २०१६ ज्यानअरीमा देखिएको बाघ तस्वीर कपीराइट Ujjwal Acharya

घाँसे मैदान, पानी र वासस्थानको व्यवस्थापन गरेपछि पछिल्ला वर्षहरूमा बाघको सङ्ख्या बढ्दै गएको पश्चिम नेपालका दुई राष्ट्रिय निकुञ्जहरूले जनाएका छन्।

बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार निकुञ्ज र आसपासका वन क्षेत्रमा सन् २०१४ मा ५० वटा बाघ रहेकोमा सन् २०१८ मा यो संख्या वृद्धि भएर ८७ पुगेको छ।

त्यस्तै बाँके राष्ट्रिय निकुञ्जमा पनि सन् २०१३ मा चारवटा मात्र बाघ रहेकामा सन् २०१८ मा यो संख्या बढेर २१ पुगेको छ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल भन्छन्: "बाघका लागि आहारा र बस्ने ठाउँको व्यवस्थापनसँगै चोरी सिकार नियन्त्रणमा आएकाले बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।"

बाघलाई जोखिम

यसअघि निकुञ्जमा वन्यजन्तुका लागि सबैभन्दा बढी खानेपानीको समस्या थियो। सुक्खा क्षेत्र भएकाले निकुन्जभित्र पानीको मुहान भेट्न सजिलो थिएन।

पानीका लागि बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तु कर्णाली र बबई नदी तथा बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तु राप्ती नदी किनारमा जाने गर्थे।

सन् २०१८ को अध्ययन प्रतिवेदन अनुसार नेपालमा बाघको सङ्ख्या दुई सय ३५ रहेको छ।

बराल भन्छन्: "सबैभन्दा बढी ९३ वटा बाघ चितवन राष्ट्रिय निकुञ्जमा भए पनि वृद्धिका दरले बाँके र बर्दिया अगाडि रहेका छन्।"

बाघ
Ujjwal Acharya
नेपालमा बाघ

  • २३५नेपालमा बाघको सङ्ख्या

  • ९३चितवन राष्ट्रिय निकुञ्ज

  • ८७बर्दिया राष्ट्रिय निकुञ्ज

  • २१बाँके राष्ट्रिय निकुञ्ज

  • १८पर्सा राष्ट्रिय निकुञ्ज

  • १६शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

स्टाटस अफ टाइगर्स एण्ड प्रे इन नेपाल २०१८

चितवनमा यसअघि बाघको संख्या एक सय २० रहेकोमा सन् २०१८ को गणनामा संख्या घटेर ९३ मा झरेको उनले बताए।

तराई क्षेत्रको सबैभन्दा ठूलो संरक्षित क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज नौ सय ६८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ।

बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तु सडक दुर्घटनामा पर्ने जोखिम रहेको निकुञ्जले जनाएको छ।

निकुञ्ज क्षेत्रमा पूर्व-पश्चिम राजमार्ग ७२ किलोमिटर र कोहलपुर-बबई रत्न राजमार्गको ३० किलोमिटर छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
बर्दियाका जङ्गलमा बाघ यसरी घुम्छन्

राजमार्गको दूरी लामो भएकाले राति सडक पार गर्ने क्रममा निकुञ्जका बाघलगायतका वन्यजन्तु सडक दुर्घटनामा पर्ने गरेका छन्।

निकुञ्जका अनुसार पाँच वर्षको अवधिमा सडक दुर्घटनामा दुई सय ६४ जनावरको मृत्यु भएको छ।

त्यसरी मृत्यु हुने अधिकांश जनावरहरू पानीको खोजीका लागि सडक पार गर्ने क्रममा भएको निकुञ्जले जनाएको छ।

बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी विष्णुप्रसाद थपलिया भन्छन्: "सडकमा जथाभावी फ्याँकिएका खानेकुरा खान जाँदा पनि केही जनावर गाडीको ठक्करले मारिएका छन्।"

गत वर्ष दुर्घटनाको जोखिममा परेका चार सय ३१ वन्यजन्तुको उद्धार गरिएको थियो।

बाँके राष्ट्रिय निकुञ्जलाई सरकारले एक सय पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको छ।

पर्यटकको सङ्ख्या वृद्धिका लागि व्यवस्थापनमा ध्यान दिएको निकुञ्जले जनाएको छ।

बाघ अवलोकनका लागि निकुञ्जले ज‍ङ्गल सफारीको व्यवस्था मिलाएको छ। बाघ हेर्नकै लागि थुप्रै पर्यटक निकुञ्ज आउने गरेका छन्।

तस्वीर कपीराइट HARI BHADRA ACHARYA

चोरी सिकारी नियन्त्रणको प्रयास

निकुञ्जका अनुसार अहिले वन्यजन्तुको आहारविहार व्यवस्था र वासस्थान निर्माणलगायतका काम भइरहेका छन्।

अहिलेसम्म बाँके राष्ट्रिय निकुञ्जमा एकसय पोखरी र बर्दियामा एकसय बढी पोखरी निर्माण गरिएको जनाइएको छ।

बराल भन्छन्: "बाघको आहारा प्रजाती चित्तल, जरायो र बँदेललगायतका जनावरका लागि घाँसे मैदान बनाएका छौँ।"

निकुञ्जका आसपासका बस्तीमा वन्यजन्तुले क्षति नगरोस् भन्ने उद्देश्यले तारजाली र पर्खाल लगाइएको बरालले बताए।

बाघको सङ्ख्या तीव्र गतिमा वृद्धि भइरहेकाले निकुञ्ज वरिपरिका वनहरूमा पनि वासस्थानको व्यवस्था मिलाउनुपर्ने देखिएको उनले बताए।

"विकासका नाममा वनजङ्गल मास्ने काम भइरहेकाले आगामी दिनमा बाघको वासस्थान अभाव हुने देखिएको छ," अधिकृत बरालले भने।

निकुञ्जबाट चोरी तस्करी रोकिए पनि बाहिरी जिल्लाबाट तस्करी गरेर बाँके र बर्दियामा ल्याउने गरिएकाले वन्यजन्तुको अवैध कारोबार मौलाउँदै गएको बताइन्छ।

खुला सिमाना र विमानस्थलले गर्दा बाँके अवैध कारोबारको उच्च जोखिममा रहेको थपलियाले बताए।

निकुञ्ज स्थापनापछि हालसम्म वन्यजन्तु तस्करीसम्बन्धी ५४ मुद्दा परेका छन् भने ३७ मुद्दा अदालतमा दर्ता भएको छ।

निकुञ्ज क्षेत्रमा हाल चोरी सिकारी नियन्त्रणमा रहे पनि सुरक्षा व्यवस्था कमजोर भएमा फेरि यस्ता गतिविधि मौलाउन सक्ने निकुञ्जका अधिकारीको भनाइ छ।

यस्तो कारोबारमा संलग्नलाई पाँचदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँचदेखि १५ वर्षसम्म जेल सजाय या दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ।

सम्बन्धित सामग्री