नक्कली प्रमाणपत्र र नक्कली सम्झौता: चीनबाट फर्किएका महिलाको यथार्थ

  • 30 जुलाई 2019
नेपाली महिला कामदार तस्वीर कपीराइट CHETNATH ACHARYA
Image caption परिचय बचाउन तस्बिर सम्पादन गरिएको छ

कागजी रूपमा सरकारी मापदण्ड पूरा गरेर चीनको दक्षिणपूर्वी क्षेत्रस्थित एउटा सहरमा रोजगारीका लागि पठाइएका ४४ नेपाली महिलालाई उद्धार गरेर स्वदेश फर्काइएको छ।

एउटा म्यानपावर कम्पनीमार्फत् चीन गएका उनीहरूले उक्त कम्पनीले आफूहरूलाई झुक्याएर पठाएको बताएका छन्।

सो कम्पनीले दक्षताको नक्कली प्रमाणपत्र बनाएर पठाउँदा आफूहरूले काम गर्न नसकेको र तोकिएको तलब नपाएको उनीहरूको गुनासो छ।

चीनबाट फर्काइएकी पश्चिम नेपालकी एक महिलाले भोगेको कठिनाइ उनकै शब्दमा-

विदेशको रहर

मेरो घर रोल्पा हो। म गाउँमै सामान्य खेतीकिसानी गरेर बसिरहेकी थिएँ।

म ३३ वर्षकी भएँ। मेरा दुई छोरा र एक छोरी छन्। ठूलो छोरा १३ वर्षको भयो, अरू सानै छन्।

मेरो श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा हुनुहुन्छ।

गाउँमा धेरैले विदेश गएर प्रगति गरेको देखिन्छ।

मलाई पनि विदेश गएर काम गर्न मन लाग्यो र म राहदानी बनाएर काठमाण्डू आएँ।

चीन जाने सुरसार

काठमाण्डूमा विदेश जानका लागि कम्पनीहरू खोज्ने क्रममा गौशालास्थित कम्पास रिक्र्युट्मेन्ट नामको एउटा म्यानपावर कम्पनीमा पुगेँ।

त्यो कम्पनीले चीनमा कामदार पठाउने रहेछ।

तलब र सेवा सुविधा राम्रै लागेपछि मैले चीन जाने प्रक्रिया सुरु गरेँ।

हामीलाई कम्पनीले चीनमा ज्याकेट फ्याक्ट्रीमा 'प्याकेजिङ'को काम गर्न पठाउने भनेको थियो।

महिनाको दुई सय ५० अमेरिकी डलर तलब हुन्छ भनियो। तर हाम्रो सम्झौतापत्रमा भने चार सय डलर तोकिएको रहेछ।

हामीसँग जान लागेका केही साथीहरूले चार सय डलरको बारेमा सोध्दा कम्पनीका मान्छेले 'यस्तो गर्नैपर्छ' भन्ने जानकारी दिए।

उनीहरूले मासिक तलब दुई सय ५० डलर हुन्छ भन्ने अर्को कागजमा पनि हस्ताक्षर गराएका थिए।

हामीले 'फ्री भिसा' र 'फ्री टिकट' पनि देखेकै हो, तर सबैले पैसा बुझाएर नै विदेश जान्छन् भन्ने सुनेकाले मैले पनि पैसा तिरेरै जाने निधो गरे।

साठी हजार रुपैयाँ

म कम्पनीलाई ६० हजार रुपैयाँ बुझाएर चीन गएकी हुँ।

हाम्रो सम्झौतापत्रमा महिनामा २८ दिन दैनिक ११ घण्टा काम गर्नुपर्ने उल्लेख थियो। दुई सातामा एक दिन बिदा भनिएको थियो।

खान र बस्न पनि कम्पनीले नै दिने भनिएको थियो।

विदेश गएर पैसा कमाउने सपना कस्को पो हुँदैन र? म पनि त्यस्तै सपना बुन्दै गत मे १२ तारिखमा चीन पुगेँ।

तस्वीर कपीराइट Getty Images

हामीलाई उत्तर कोरिया नजिकको क्षेत्रमा पठाइएको रहेछ।

हामी ल्याओनिङ प्रान्तस्थित दाङ्दोङ सहरको एउटा गार्मेन्ट फ्याक्ट्रीमा पुगेका थियौँ।

हामी उक्त फ्याक्ट्रीमा पुग्नेबित्तिकै कम्पनीले हामीलाई झुक्याएको रहेछ भन्ने थाहा भयो।

हामीलाई 'प्याकेजिङ'का लागि भनेर लगिएको थियो तर त्यहाँ मेसिन चलाउने काम लगाइयो।

जानेको सीप

हामीलाई मेसिन चलाउन आउँदैन थियो। तर म्यानपावर कम्पनीले हामीलाई मेसिन चलाउन आउँछ भन्ने खालको प्रमाणपत्र बनाएर पठाएको रहेछ।

हामीले सबै कागपत्र हेर्ने कुरा पनि भएन। सोध्ने साथीहरूलाई पनि काम पाउन यस्तो गर्नैपर्छ भनेको रहेछ।

हामीलाई मेसिन चलाउनै आउँदैन थियो तर किन कम्पनीले मेसिन चलाउने तालिम लिएको प्रमाणपत्र पठायो थाहा भएन।

उसले जानेरै त्यस्तो गरेको हो वा नजानेर गरेको भन्ने पनि हामीलाई थाहा भएन।

Image caption नेपाली महिलाहरूलाई चीन–उत्तर कोरिया सीमा नजिकैको सहरस्थित एउटा कारखानामा काममा लगाइएको थियो

मेसिनमै भए पनि हामी काम गरिरहेका थियौँ। सिक्दै, गर्दै थियौँ।

एक महिना भएपछि तलब दिने बेलामा हामीलाई चीनको कम्पनीले ५० डलर मात्रै दियो।

हामीले त्यसमा असहमति जनायौँ। अनि मालिकले एक दिन राति आएर एक सय डलर थपिदिए।

तर उनीहरूले अरू एक सय ५० डलरभन्दा दिन नसक्ने बताए।

उद्धारको पहल

काम पनि एकथोक गर्ने भनेर पठाउने अनि तलब पनि भने जति नहुने भएपछि हामीले बेइजिङस्थित नेपाली दूतावासमा खबर गर्‍यौँ।

सबैले नेपालमा रहेका आफन्तहरूलाई खबर गर्न थाले। मैले पनि काठमाण्डूमा दिदीलाई खबर गरेँ।

म्यानपावरमा पनि खबर गर्‍यौँ। त्यसपछि यो विषयको खबर बनेर धेरैतिर फैलिएछ।

हामीले खबर गरेपछि दूतावासले पहल गरेर नै हामी नेपाल आइपुगेका हौँ।

हामीले फ्याक्ट्रीमा एक महिनाभन्दा काम गरेनौँ, तर त्यहाँ खान र बस्न भने हामीलाई दिइरहे। केही नराम्रो गरेनन्।

कुरो नबुझ्दा ठगियौँ

नेपाल आइसकेपछि भने हामीले वैदेशिक रोजगार विभागमा गएर उजुरी गर्ने भनेका थियौँ।

सोमवार विभागमा उजुरीका लागि गएका पनि थियौँ।

म्यानपावरले हामीलाई क्षतिपूर्तिसहित रकम फिर्ता गर्छौँ भनेको छ।

त्यसैले म चाहिँ एक/दुई दिन पर्खने विचारमा छु। केही साथीहरूले चाहिँ उजुरी गर्ने भनेर विभागमा गएका छन्।

हामी विदेश गएर पैसा कमाउने सपना देखेर त्यसैको मात्र पछि लाग्दा ठगियौँ।

हामीलाई झुक्याउने र छल्ने काम भयो। म मेरो अनुभवले पनि अरूलाई यसरी नबुझी विदेश नजानु भन्न चाहन्छु।

सम्बन्धित समाचार