पाकिस्तान विमान दुर्घटना: सेनाको विमान आवासीय क्षेत्रमा खस्यो, १८ जनाको मृत्यु

  • 30 जुलाई 2019
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
दुर्घटनास्थल रावलपिन्डीनजिकै छ

पाकिस्तानी सेनाको एउटा सानो विमान रावलपिन्डीनजिकै एउटा आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन्।

ज्यान गुमाउनेमा चालकदलका पाँच सदस्य र १३ सर्वसाधारण रहेको बताइएको छ। अरू १२ जना घाइते भएका छन्।

सो विमान तालिमका लागि उडाइएको थियो। दुर्घटनामा परेपछि त्यसमा आगो लागेको र विमान खसेको ठाउँमा रहेका केही घरहरूमा आगो फैलिएको थियो।

एउटा घरमा आठ जना, दोस्रोमा तीन जना र तेस्रोमा दुई जनाको मृत्यु भयो।

राजधानी इस्लामाबादनजिकै रहेको रावलपिन्डीमा पाकिस्तानी सेनाको मुख्यालय छ।

दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन।

शोकाकुल र स्तब्ध स्थानीय मानिसहरू दुर्घटना भएको क्षेत्रमा भेला भएको समाचारसंस्था एएफपीले जनाएको छ।

तस्वीर कपीराइट AFP

"ठूलो विस्फोटनको आवाजसँग म बिउँझिएँ," मोहम्मद सादिकले भने।

"मानिसहरू चिच्याइरहेका थिए। हामीले उनीहरूलाई सघाउन खोज्यौँ तर आगोको ज्वाला माथिसम्म उठेको थियो र आगो भीषण थियो," उनले भने।

अर्का स्थानीय व्यक्तिका अनुसार घरहरूमा ठोकिनुअघि नै विमानमा आगो लागेको देखिएको थियो।

गम्भीर रूपमा घाइते भएकाहरूलाई अस्पताल लगिएको आपत्कालीन उद्धार सेवाले जनाएको छ।

सबै शव नराम्ररी डढेकाले मृतकको सनाखत गर्न डीएनए परीक्षण गरिनेछ।

तस्वीर कपीराइट AFP

दुर्घटनास्थलबाट प्राप्त तस्बिरमा धुँवाले कालो भएका भवनहरूको भग्नावशेष देखिन्छ।

एएफपीका एक संवाददाताका अनुसार त्यहाँबाट पछिसम्म धुँवा उडिरहेको थियो र नजिकै रहेको घरको छतमा विमानको अवशेष देखिन्थ्यो।

सन् २०१० मा एउटा निजी विमान कम्पनीले सञ्चालन गरेको विमान इस्लामाबादनजिकै दुर्घटनाग्रस्त हुँदा १५२ जनाको मृत्यु भएको थियो। त्यो नै पाकिस्तानमा भएको सबैभन्दा डरलाग्दो विमान दुर्घटना थियो।

सम्बन्धित समाचार