इन्टरनेट कुलत: युवाहरूमा नै देखिन थाल्यो मेरुदण्ड खिइने र अन्य जटिल रोग

  • 12 अगस्ट 2019
मोबाइल तस्वीर कपीराइट Getty Images

केही समयअघि गर्धन दुख्ने समस्या लिएर आफूकहाँ आएका २५ वर्षीय युवकलाई मेरुदण्डको हाड खिइने जटिल रोग भएको अनुमान हाडजोर्नीसम्बन्धी चिकित्सक राजेश महर्जनले गरेकै थिएनन्।

प्राय: ५५ वर्षमाथिका पुरुषमा देखापर्ने रोग ती युवकमा भएको निश्चित भएपछि डा. महर्जन अचम्ममा परे।

एक्सरे रिपोर्ट हेर्दा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने ती युवकको सामान्य अवस्थामा फर्कनै नसक्ने गरी हाड खिइसकेको रहेछ।

पछिल्लो समय गर्धन दुख्यो र रिँगटा लाग्यो भन्दै जँचाउन आउने युवाहरूको सङ्ख्या दिनानुदिन बढ्दै गरेको डा. महर्जनको अनुभव छ।

ती युवकको दिनचर्या र जीवनशैली सोधेपछि उनलाई पक्का भयो अधिकांश युवाहरूजस्तै उनको पनि कम्प्युटर र मोबाइलमा धेरै समय बित्ने रहेछ।

'इन्टरनेट कुलत'

उनलाई इन्टरनेटको कुलत केही वर्षदेखि रहेछ र उनी कार्यालयमा काम गर्दा होस् वा घरमा बस्दा कि कम्प्युटर कि मोबाइल चलाएर एउटै आसनमा घण्टौँ बस्ने रहेछन्।

डा. महर्जन भन्छन्, "हाम्रो शरीर कम्प्युटर चलाउँदा बस्ने वा मोबाइल चलाउँदा पल्टिने आसनका लागि बनेकै होइन।"

"तर पछिल्लो समय गर्धन दुख्यो भनेर आउने अधिकांश बिरामीको समस्या उनीहरू धेरै बेरसम्म एउटै ठाउँमा हलचल नगरी बस्नु हो।"

तस्वीर कपीराइट Getty Images

कार्यालयमा काम गर्ने व्यक्तिहरू मात्र नभई घरमा बस्ने गृहिणीमा पनि उमेर नपुग्दै त्यस्तै समस्या देखिने गरेको उनी बताउँछन्।

त्यस्तो रोग लिएर आउने अधिकांश गृहिणीहरू घरमा मोबाइलमा सामाजिक सञ्जाल चलाएर बस्ने गरेको सुनाउँछन्।

"'श्रीमान् अफिस र छोराछोरी स्कूल/कलेज गएपछि काम हुँदैन अनि फेसबुक र युट्युब चलाएर बस्छौँ' भन्नुहुन्छ," डा. महर्जनले भन्छन्।

"उहाँहरूको पनि उमेर नपुग्दै हड्डी खिइने चरणमा पुगिसकेको भेटिन्छ।"

रोगको लक्षण

त्यसबाहेक मांसपेसी दुख्यो र गर्धन दुख्यो भन्ने खालका सामान्य दुखाइ लिएर आउने बिरामीको सङ्ख्या दिनदिनै बढ्दै गएको डा. महर्जन बताउँछन्।

धेरै बेर कम्प्युटरमा बस्ने वा मोबाइलमा चलाउने र दैनिकी नै त्यही बनाउँदा त्यसले सुरुमा गर्धनको मांसपेसी कक्रक्क हुने हुन्छ।

अनि बिस्तारै दुख्न थाल्ने र त्यसपछि घाँटी वा ढाडको हड्डीको आकार परिवर्तन हुन्छ। अन्तत: मेरुदण्डको हड्डी खिइएर स्नायुमै असर परेपछि निको बनाउनै नसक्ने अवस्थामा पुग्ने उनी बताउँछन्।

त्यसैले घाँटी कक्रक्क परेको छ र दुखाइ छ भने त्यही बेला नै उपचार गराउन, आवश्यक आराम गर्न र व्यायाम गर्न उनी सुझाउँछन्।

जतिसक्यो छिटो उपचार

डा. महर्जन भन्छन्, "नत्र तिनै युवकको जस्तै हुन्छ जसले धेरै समय आराम गर्नुपर्छ र बाँचुन्जेल व्यायाम त गर्नैपर्छ।"

"तर त्यति गर्दा पनि हामीले सामान्य अवस्थामा फर्काउन सक्दैनौँ। उनको खिइएको हड्डी केही गर्दा पनि पहिलाको जस्तो अवस्थामा पुर्‍याउन सकिँदैन।"

तस्वीर कपीराइट Getty Images

मानिसको गर्धनमा मेरुदण्डका सातवटा हड्डी हुन्छन्।

निहुरेर मोबाइल चलाउँदा वा एउटै आसनमा बसेर कम्प्युटरमा काम गर्दा मेरुदण्डको त्यही भाग बोझ पर्ने चिकित्सकहरू बताउँछन्।

"(मेरुदण्डको) हड्डी धस्सिँदै जाँदाकै अवस्थामा उपचार गरिएन भने खिइन थाल्छ र खिइएपछि नसा (स्नायु) मा छुन्छ," उनी भन्छन्।

मेरुदण्डले मस्तिष्कलाई स्नायुप्रणालीसँग जोड्छ। मेरुदण्डका हड्डीमा समस्या उत्पन्न हुँदा पूरै शरीरमा समस्या पर्न सक्छ।

"त्यसपछि रिँगटा लाग्ने वा हात झम्झमाउने हुन्छ। त्यो भनेको चाहिँ अलि जटिल अवस्थामा पुग्नु हो र पुरानै अवस्थामा फर्काउन असम्भवजस्तै हुन्छ।"

पहिलापहिला पुरुषहरू ५५ वर्ष पुगेपछि र महिलाहरूको महिनावारी रोकिएपछि यो समस्या देखिने गरेको भए पनि अहिले युवावस्थामै धेरै बढेकोले समयमै ध्यान पुर्‍याउन उनी सुझाउँछन्।

कसरी जोगिने?

त्यसबाट जोगिनका लागि डा. महर्जन यस्तो सुझाव दिन्छन् -

  • कम्प्युटर चलाउँदा वा मोबाइल चलाउँदा लामो समय एउटै आसनमा नबस्ने
  • ३० मिनेट पुगेपछि अनिवार्य आफ्नो ठाउँबाट उठेर केहीबेर घाँटी, ढाड, पाखुरा र कम्मर चलाउने, सम्भव भएसम्म केही मिनेट हिँड्ने
  • कम्य्युटर चलाउँदा आँखाबाट स्क्रीन सीधा हुनेगरी राख्ने
  • भुइँ छोएर बस्न मिल्ने खालको कुर्सी रोज्ने
  • आरामदायी कुर्सीको सट्टा सामान्य खालको कुर्सीमा ढाड सीधा राखेर बस्ने
  • कम्प्युटर, मोबाइल वा घडीमा स्वास्थ्यसम्बन्धी सन्देश दिने एप राख्ने
तस्वीर कपीराइट Getty Images

'आँखामा पनि समस्या'

लगातार कम्प्युटर र मोबाइल चलाउँदा ढाड र गर्धनमा मात्रै नभई आँखामा पनि समस्या भएको भन्दै उपचार गराउन आउने बिरामीको सङ्ख्या बढेको डा. इरिना कंसाकार तुलाधर बताउँछिन्।

उनका अनुसार पछिल्लो समय खासगरी बालबालिकाहरूले चस्मा लगाउनुपर्ने समस्या बढेको छ।

त्यस्तै किशोरावस्थादेखि माथि उमेरका बिरामीमा भने आँखामा सुख्खापन धेरै हुने समस्या लिएर आउने गर्छन्।

"खासगरी गेम खेल्ने बच्चाहरूमा टाढा नदेखिने 'मायोपिया' हुने गरेको देखिन्छ," डा तुलाधरले भनिन्।

"अनि किशोरावस्थादेखिका अधिकांश बिरामीहरूमा आँखा सुख्खा हुने पाइएको छ।"

किन आँखा खराब?

कुनै पनि ग्याजेटमा हेर्दा लामो समयसम्म एकटक हेरिरहने र सामान्यत: हाम्रो आँखाको परेला जति पटक झिम्किनुपर्ने हो त्यति नझिम्किँदा त्यसले आँखाका मांसपेसी थाक्ने र सु्ख्खापन देखापर्ने उनले बताइन्।

त्यसैले उनी सकेसम्म स्क्रीनमा कम हेर्न सुझाउँछिन्।

बालबालिकालाई मोबाइल वा कम्प्युटर प्रयोग गर्न कम दिने र यदि समस्या भए समयमै उपचार गराउनुपर्ने उनी बताउँछिन्।

"उनीहरूलाई टाढा नदेख्ने समस्या भइसकेको हुन्छ र चस्मा नलगाई स्क्रीन हेर्दा आँखालाई थप दबाव पर्छ त्यसैले उपचार समयमै गराउनुपर्छ," उनले भनिन्।

तस्वीर कपीराइट Getty Images

दिनमा दुई घण्टाभन्दा बढी कम्प्युटरमा काम गर्नेहरूलाई 'कम्प्युटर भिजन सिन्ड्रोम' हुने गरेको चिकित्सकहरू बताउँछन्।

लगातार स्क्रीन हेर्ने मानिसहरूमा आँखा सुख्खा हुने, पोल्ने, बिझाउने र हेर्नै असहज हुने गर्छ।

आँखा कसरी जोगाउने?

डा. तुलाधरका निम्न कुराहरू पालना गरेर आँखा जोगाउन सकिने सुझाव दिन्छिन् -

  • स्क्रीन धेरै नहेर्ने
  • हेर्नै परे स्क्रीनको उज्यालो बाहिरी वातावरणको उज्यालो भन्दा धेरै नबढाउने, 'ब्लूलाइट' कम गर्ने
  • २०/२०/२० भनिने आँखाको व्यायाम गर्ने (प्रत्येक २० मिनेटमा २० फीट टाढा २० सेकेन्डका लागि हेर्ने)
  • काम गर्दा आँखाको परेला पर्याप्त मात्रामा झिमझिम गर्ने
  • आँखाबाट माथि हुने गरी स्क्रीन नराख्ने
  • आँखा सुख्खा हुने वा बिझाउने भयो भने 'एन्टी-रिफ्लेक्टिभ कोट' भएको चस्मा लगाउने र सुख्खा हुन नदिने थोपाहरू हाल्ने
  • चस्मा लगाउने व्यक्तिले नियमित रूपमा चस्माको पावर ठिक छ वा छैन जाँच गर्ने
  • आँखालाई चाहिने आराम दिनुपर्छ भनेर ख्याल गर्ने

सम्बन्धित समाचार