हसन अल-कोन्तार: मलेशिया विमानस्थलमा महिनौँ फसेका यी व्यक्ति अहिले अरू शरणार्थीलाई सहयोग गर्दै

  • 13 अगस्ट 2019
हसन अल-कोन्तार तस्वीर कपीराइट Hassan Al Kontar

महिनौँसम्म मलेशियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा फसेका सिरियाका हसन अल-कोन्तार विश्वभरि 'विमानस्थलमा फसेका व्यक्ति' को रूपमा चर्चित भएका थिए।

गत वर्ष उनलाई क्यानडाले शरण दिएको थियो।

अहिले उनी नयाँ ठाउँमा शरण लिन उत्सुक दुई सय शरणार्थीलाई सहयोग गर्न जुटेका छन्।

म्यानस टापु तथा नाउरुमा रहेका ती शरणार्थीले आफ्नो अवस्थाबारे बताउँदै उनलाई सामाजिक सञ्जालमार्फत् सम्पर्क गरेपछि ३८ वर्षीय हसनले उनीहरूबारे जानकारी पाएका थिए।

त्यतिखेर उनी स्वयम् आफ्नो अवस्थाबारे अन्लाइन अभियानमा सहभागी थिए। सन २०११ मा सिरियामा भएको युद्धपश्चात् पीडित भएका उनी सन् २०१८ मा मलेशियाली विमानस्थलमा महिनौँ बस्न बाध्य भए।

हाल क्यानडामा रहेका उनी अचेल शरणार्थी तथा बसोबाससम्बन्धी मुद्दाका वकालत गर्छन्।

सहयोगको अभियान

उनले क्यानडाका दुई गैरनाफामुखी संस्था क्यानडा केरिङ सोसाइटी तथा मोजेकसँग मिलेर मानुस टापु तथा नाउरुमा फसेका २०० जना शरणार्थीलाई निजी प्रायोजनमा क्यानाडा ल्याउन लागिपरेका छन्।

तस्वीर कपीराइट AFP/Getty
Image caption अस्ट्रेलियाको नीतिको निकै आलोचना भएका छन्

उनीहरूले थालेको नयाँ अभियानलाई अस्ट्रेलियाको शरणार्थी परिषद् तथा एमनेस्टी इन्टरन्याश्नले साथ दिएका छन्।

"हामी आशा मारेका मानिसहरूलाई आशा दिलाउन खोज्दैछौँ," ब्रिटिश कोलम्बियास्थित आफ्नो निवासबाट बीबीसीसँग बोल्दै उनले भने।

सन् २०१२ देखि शरण खोज्दै डुङ्गामा आउने शरणार्थीहरूलाई अस्ट्रेलियाले आप्रवासीहरूलाई हतोत्साही बनाउने एउटा विवादास्पद नीतिअन्तर्गत म्यानस टापु तथा नाउरुमा पठाउने गर्छ।

क्यान्बेराले ती मानिसलाई शरणार्थी नै भए पनि अस्ट्रेलियामा बस्न नदिने भन्दै आएको छ।

यो नीतिले मानिसहरूको बेचबिखन तथा तिनको समुद्रमा मृत्यु हुने घटना रोक्ने अस्ट्रेलियाको भनाइ छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
चार महिनादेखि विमानस्थलमा फसेका मानिस

तर संयुक्त राष्ट्रसङ्घ तथा अन्यले भने ती टापुमा रहेका शरणार्थीहरूले बारम्बार यौन तथा शारीरिक आक्रमणलगायत मानवाधिकार उल्लङ्घन बेहोर्ने गरेको बताएका छन्। डाक्टरहरूले त्यहाँ मानसिक स्वास्थ्य सङ्कटको चेतावनी दिएका छन्।

आधिकारिक रूपमा हिरासतमा नभए पनि ती शरणार्थी अनिश्चित कालका निम्ति उक्त ट्रान्जिट केन्द्रमा रहेका छन्।

तीमध्ये केही शरणार्थीलाई एउटा सहमतिअन्तर्गत अमेरिकामा शरण दिइयो तर अझपनि आठ सय मानिस त्यहाँ रहेको ह्युमन राइट्स वाचले बताएको छ। तीमध्ये अधिकांश सन् २०१३ देखि त्यहाँ छन्।

सीमा सुरक्षासम्बन्धी दुई दशकदेखि अस्ट्रेलियामा बहस चर्किएको छ। न्यूजील्यान्डले डेढ सय शरणार्थी आफूले स्वीकार्ने भनेको छ, तर अस्ट्रेलियाले त्यसो गर्दा 'जस्केलाबाट ढोकाबाट' आफ्नै देशमा आउन दिएजस्तो हुने भन्दै मानेन।

कोन्तारको प्रयास

कोन्तारलाई तिनको अवस्थाले निकै चिन्तित बनायो र उनले आफूलाई क्यानडामा ल्याउन सहयोग पुर्‍याएकी क्यानडा केरिङ सोसाइटीकी लरी कूपरसँग त्यसबारे कुरा गरे।

बीबीसीसँग कुरा गर्दै उनले भनिन् कि एक दिन जब उनी आफ्नी छोरीलाई ती मानिसको अवस्थाबारे बताउँदै थिइन् तब उनको दिमागमा अचानक ती सबैलाई प्रायोजन गरेर क्यानडा ल्याउने विचार आयो।

भोलिपल्ट बिहान उठेपछि उनलाई यो उपाय राम्रो लाग्यो र उनले कोन्तारलाई बताइन्।

"यी मानिसहरूलाई सबैले बिर्सिसकेका थिए। कसैले तिनलाई सहयोग गर्ने उपाय पत्ता लगाउन सकेका थिएनन्। त्यति बेला मलाई क्यानाडाको गजबको निजी प्रायोजन कार्यक्रमबारे सम्झना भयो र हामीले आवश्यक रकमको जोहो गर्न सक्छौँ भन्ने लाग्यो," उनले भनिन्।

सन् १९७० देखि नै क्यानडाले निजी नागरिक तथा निर्धारित प्रायोजक समूहहरूलाई शरणार्थीहरूलाई खानेकुरा, कपडा, बसोबास जस्ता आधारभूत आवश्यकता पूरा गराइदिने गरि सोझो प्रायोजन गर्न अनुमति दिन्छ।

अब यी अभियन्ताले ती शरणार्थीलाई पहिलो वर्ष क्यानडा बस्न चाहिने रकम जुटाउनेछन् तथा तिनलाई क्यानडामा आवश्यक सहयोग पुर्‍याउन स्वयंसेवकलाई प्रशिक्षण दिनेछन्।

क्यानडाको प्रायोजनसम्बन्धी निर्देशिका अनुसार प्रत्येक शरणार्थीलाई १२ महिना सघाउ पुर्‍याउन साढे सोह्र हजार क्यानेडियन डलर चाहिन्छ। अर्थात् ती टापुबाट शरणार्थी ल्याउन कुल ३३ लाख क्यानाडियन डलर चाहिन्छ।

अस्ट्रेलियाली नागरिकहरूले क्यानडाका अभियानकर्मीलाई सघाउन झन्डै एक लाख डलर जुटाइदिइसके।

शरणार्थीलाई आह्वान

"हामीले यो अभियान कसैलाई सार्वजनिक रूपमा अप्ठेरोमा पार्न वा अस्ट्रेलियाली सरकारलाई दबाव दिन गरेका होइनौँ। हामी केवल हाम्रो मित्रता प्रदर्शन गरेर उनीहरूलाई सही काम गर्न प्रेरित गर्न चाहन्छौँ," कोन्तारले भने।

शरणार्थीहरूलाई क्यानडामा जान इच्छा भए दर्ता हुन ती संस्थाहरूले भनेका छन्। हालसम्म २०० जना दर्ता भइसके।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
साउदी दिदीबहिनी किन परिवार छोडेर भागे

सुरुमा त्यस्ता शरणार्थी जो अन्यत्र जान सक्ने अवस्थामा छैनन् तिनलाई उनीहरू सहयोग गर्न चाहन्छन्।

कोष जुट्न थालेपछि उनीहरूले निवेदन बुझाउन थाल्नेछन्। यो प्रक्रिया पूरा हुन दुई वर्षसम्म लाग्न सक्छ तर उनीहरूले क्यानडा सरकारलाई छिटो प्रक्रिया टुङ्ग्याइदिन अनुरोध गर्नेछन्।

हाल ती टापुमा इरान, म्यान्मार, अफगानिस्तान, श्रीलङ्का, पाकिस्तान र इराकका शरणार्थी छन्। कतिपय राज्यविहीन छन्।

कोन्तार भन्छन् उनी आफ्नो व्यक्तिगत अनुभवबाट ती मानिसको अवस्था कस्तो छ भनेर अनुमान लगाउन सक्छन्। उनले तिनलाई राम्रो भविष्यको आशा गरिराख्न आग्रह गरेका छन्।

"म उनीहरूलाई हिम्मत नहार्न र विश्वास गर्न भन्न चाहन्छु," उनले भने।

यो पनि पढ्नुहोस्