नेपाली नेताको ‘विलास’: ‘किचकन्याको मोहपाश’ बलियो कि आफ्नै धरातल

  • 13 अगस्ट 2019
प्रधानमन्त्री तस्वीर कपीराइट RSS

गत वैशाखमा काठमाण्डूमा एउटा कार्यक्रम थियो। मञ्चमा थिए, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र झलनाथ खनाल आदि नेता। अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल थिएनन्।

नेकपाका नेता घनश्याम भुसाल प्रस्ताव राखे, "पार्टी-सङ्गठनभित्र पहिला सत्यनिरूपण गरौँ। को-को के धरातलमा छौँ, त्यो सत्यनिरूपण गरौँ।"

"हाम्रो जीवन कसरी चलेको छ, त्यसको सत्यनिरूपण गरौँ। हामीले के खाँदैछौँ, त्यो सत्यनिरूपण गरौँ।"

नेताहरूको जीवनशैलीप्रति भुसालको प्रश्न थियो त्यो।

भुसालले त्यस्तो अभिव्यक्ति दिएको तीन महिनापछि उनकै दलका दुई अध्यक्ष ओली र प्रचण्ड विदेश भ्रमणबाट फर्किएका छन्।

ती भ्रमणहरूप्रति सामाजिक सञ्जालमा प्रश्नहरूको ओइरो लागेको छ। कसैले आशङ्का गरेका छन्, कसैले पारदर्शिताको प्रश्न उठाएका छन्।

सिङ्गापुर र दुबई

ओली 'उपचार गराउन' सिङ्गापुर गएका थिए।

बारम्बार प्रश्न उठ्ने भएकाले हुनसक्छ, राज्यकोषको दुरुपयोग रोक्ने प्रण गरेका ओलीको उपचार लगायतका अन्य खर्च उनी आफैँले बेहोर्ने कुरा सरकारको तर्फबाट सार्वजनिक गरिएको छ।

उनी र उनको टोलीको टिकट खर्चको भार भने सरकारको कोषमाथि परेको छ। यसअघिका प्रधानमन्त्रीको निजी भ्रमण र उपचार खर्च दुवै सरकारले बेहोर्दै आएको थियो।

पहिले ओलीले पनि सरकारबाट उपचार खर्च लिएको विवरण प्रकाशमा आएका थिए।

उनले यस पटक त्यसमा केही कटौती गरेको देखिएको छ। धेरैको चासो भने उनले आउँदा दिनमा अद्यावधिक गर्ने सम्पत्ति विवरणमा त्यो खर्च झल्किएला कि नझल्किएला भन्नेमा रहनेछ।

उनकै दलका अर्का अध्यक्ष प्रचण्ड त पत्नीसहित परिवारका अन्य सदस्यलाई लिएर दुबई भ्रमणमा गएका थिए।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार त्यो उनको निजी भ्रमण हो। र, खर्च पनि पारिवारिक स्रोतबाट गरिएको बताइएको छ।

मत जित्ने, मन नजित्ने?

उनी यसअघि आफ्नी पत्नीको उपचारमा अमेरिका लगायतका देशका अस्पतालमा गराएका छन्।

प्रधानमन्त्री हुँदा प्रचण्डले बुझाएको सम्पत्ति विवरण उद्धृत गर्दै कैयौँले महङ्गा अस्पतालमा उपचार गराउने र विदेश भ्रमणमा हुने खर्चमा प्रश्न उठाउने गरेको पाइन्छ।

उनले ती खर्च विवरण र त्यसको स्रोत यसअघि पनि सार्वजनिक गरेका छैनन्।

तस्वीर कपीराइट RSS

प्रचण्डले प्रधानमन्त्री हुँदा पेस गरेको सम्पत्ति विवरणलाई लिएर सामाजिक सञ्जालमा प्रश्न उठाइएका छन्।

एम्नेस्टी इन्टरन्याश्नल नेपालका पूर्वअध्यक्ष एवम् वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल भन्छन्, "प्रचण्डजीको भ्रमणलाई लिएर मिडियामा अफवाह हो वा के हो आयो। उहाँले हामी यस्ता हौँ भनेर पारदर्शी रूपमा आफ्नो सम्पूर्ण कुरा जनतालाई भन्नुपर्ने होइन?"

"किन भने लोकतन्त्र जनताको विश्वासको आधारमा टिकेको हुन्छ। तर उहाँहरूले जनताको मत जितेपनि मन जित्ने काम गर्नु भएको छैन।"

साँठगाँठको शङ्का

सरकारी पद धारण गरेको व्यक्तिबाट पारदर्शी व्यवहारको अपेक्षा गरिन्छ।

भ्रष्टाचार नियन्त्रणको अठोट गर्ने नेपाली नेताहरूले निष्ठा र आदर्श गरे पनि त्यो मामिलामा उनीहरू कमजोर धरातलमा रहेको टिप्पणी व्यापक रूपमा रूपमा हुँदै आएको छ।

त्यसलाई उनीहरूले पेस गर्ने सम्पत्ति विवरणले पनि बल दिने गरेको पाइन्छ।

नेताहरूको विलासी जीवनशैली, त्यसमाथि निजी विदेश भ्रमण र विदेशमा उपचार आफ्नै खर्चमा गरेको कुरामा 'आम अविश्वास' देखिन्छ।

भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा नेपाल प्रत्येक हरेक वर्ष जसो माथि नै हुन्छ।

वरिष्ठ अधिवक्ता अर्यालका अनुसार ट्रान्स्परेन्सी इन्टरन्याश्नलको वार्षिक प्रतिवेदनमा नेपालको राजनीतिक भ्रष्टाचार मुख्य बुँदा बन्ने गरेको छ।

प्रचण्ड स्वयंले पनि आफूसँग विभिन्न प्रसङ्ग जोडिने गरेको स्वीकार गर्छन्। तर उनले ति सबै अतिरञ्जना भएको दाबी गर्ने गरेका छन्।

सर्वसाधारणमा भने उच्च तहमा पुगेको जुनसुकै दलको नेताको गलत व्यक्तिसँगको साँठगाँठ रहेको विश्वासले जरो गाडेको पाइन्छ।

"लाग्छ, सत्तामा पुग्नेबित्तिकै राजनीतिक नेताहरूले गाडधन भेट्टाइहाल्छन्," बाह्रखरी डट कम सम्पादकीय लेख्छ।

"सत्तारूढ नेताहरूले आफ्नो आर्थिक हैसियतले नधान्ने जीवनशैली अपनाउन व्यापारी व्यवसायीसँग सहयोग लिने गर्छन्।"

"त्यसरी नेताहरूलाई गरेको सहयोग व्यवसायीले नाफासहित उठाउँछन् राज्यको ढुकुटीबाट।"

तस्वीर कपीराइट OPMCM

आँखाको इसारामा समाधान

दलभित्रैबाट पनि आफ्नै नेताको जीवनशैली र व्यवहारप्रति आशङ्का पाइन्छ, प्रश्न उठाइन्छ।

नेकपा नेता भुसालको भनाइको सार थियो - समाजवाद स्थापनाको लक्ष्य लिएको नेताको बिहानदेखि साँझसम्म अनैतिक मानिसहरूसँग उठबस र भेटघाट सघन हुन्छ।

त्यसमा तस्करदेखि भूमाफिया र पेसागत दायित्व निर्वाह नगर्ने आफ्नै दलसम्बद्ध पेसाकर्मीदेखि कर छली गर्नेहरू हुन्छन्।

'अभाव'बाट उम्किन चाहने नेता-कार्यकर्ताका समस्याको समाधान लिइबसेका ती मान्छे खालि इसारा पर्खिएर बसेका हुन्छन्।

भुसालले भनेका थिए, "तपाईँ आँखामात्रै झिम्काउनूस्, सबै समस्या उसैले समाधान गरिदिन्छ। यो क्रममा जो मान्छेले एक पटक झिमिक्क गर्‍यो सकियो।"

"दन्त्यकथाको किचकन्याको पाशमा पुगेजस्तो त्यसले फेरि फर्किएर कहिल्यै खुट्टा टेक्तैन।"

अर्यालका विचारमा व्यवस्थामाथि बारम्बार प्रश्न उठ्ने गरेको उनीहरूको व्यवहारले नै हो।

उनी भन्छन्, "लोकतन्त्रको महत्तवपूर्ण पक्ष पारदर्शी र खुला समाजलाई भनिन्छ। नेताहरूको सम्पूर्ण कुरा खुला किताबजस्तै हुनुपर्छ।"

"त्यो पार्टीका जिम्मेवार पदाधिकारी र मन्त्रीहरू कसैको जीवनशैली कहिल्यै पारदर्शी भएन। सधैँभरि शासन व्यवस्थामाथि प्रश्न उठ्ने मुख्य कारणमध्ये त्यो हो।"

तस्वीर कपीराइट RSS

भएन किचकन्याको खोजी

एक पदासीन मन्त्रीले नै चन्दा लिएकाले व्यवसायी हाबी भएको र नियन्त्रण गर्न नसकेको विवशता व्यक्त गरेको खबर पनि आएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगतमा केही मन्त्रीलाई भ्रष्टाचारको मुद्दा लगायो, एवम् ठूल्ठूला अनियमितता र अख्तियार दुरुपयोग गरेका प्रकरण बाहिर पनि आए।

तर अख्तियारकै एक आयुक्तले राजनीतिक मुद्दा खोतल्दा आफूहरूको जागिर नरहने आशय व्यक्त गरेको समाचार आएको भर्खरै हो।

तर घनश्याम भुसालले नेताहरूले आफ्ना कमजोरी ढाकछोप गर्न न्यापालिकामा नियुक्तिलाई प्रभावित गर्नुका साथै प्रेस, नेता लगायतको ठूलो गठबन्धन बन्ने गरेको दाबी पेस गरेका थिए।

'हाम्रो जीवन कसरी चलेको छ, हामीले के खाँदैछौँ?' भन्ने सत्यनिरूपण र 'नेताहरू दन्त्यकथाको किचकन्याको पाशमा पुगे-नपुगेको' उत्खनन भयो?

तीन महिनापछि राखिएको जिज्ञासामा नेता भुसालले पार्टीभित्र प्रजातान्त्रिक स्थान खोल्न आफूले आह्वान गरेको बताए।

उनले भने, "तमाम प्रश्नहरू जसमाथि प्रश्न गरिनु पर्नेछ र सुधारका विषय अपनाउनुपर्नेछ। तर त्यस विषयमा पार्टीमा कुनै छलफल नै चलेको छैन। त्यो एजेन्डा नै बनेको छैन।"

सम्बन्धित सामग्री