प्रकृति संरक्षण: बाघ, गैँडा, हात्तीजस्ता दुर्लभ वन्यजन्तु संरक्षण प्रयासबारे बहस

  • 13 अगस्ट 2019
रामनारायण बिडारी तस्वीर कपीराइट RSS

राष्ट्रिय सभामा सांसद रामनारायण बिडारीले आइतवार प्रश्न गरे: "मान्छेलाई वन्यजन्तुको आहारा बनाउने?"

वन्यजन्तुका कारण 'निकुञ्ज छेउका गरिब जोखिममा परिरहेको' भन्दै बिडारीले संरक्षण अधिकारीहरूको आलोचना गरेपछि प्रकृति संरक्षणबारेको बहस पुन: चर्किएको छ।

सांसद बिडारीले निकुञ्ज छेउका गरिब तथा विपन्न मानिसहरूले वन्यजन्तुका कारण ठूलो क्षति भोग्नु परिरहेको बताएका हुन्।

वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ भने वन्यजन्तुको बासस्थानमा मानिसहरूले अतिक्रमण गर्ने क्रम बढेपछि वन्यजन्तुबाट मानिसलाई हुने जोखिम बढेको बताउँछन्।

वन्यजन्तुको बासस्थानमा मानवीय गतिविधि बढेकोले समस्या आएको उनी बताउँछन्।

बिडारीले किन बोले?

मकवानपुरको थाहा नगरपालिकामा जन्मिएका बिडारी राष्ट्रपतिद्वारा मनोनित सांसद हुन्।

उनको घर निकुञ्ज छेउ नभएपनि उनले नेपालमा राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्र नजिक बस्ने स्थानीय बासिन्दाले भोगिरहेको पीडा देखेर आफू बोल्न बाध्य भएको बीबीसीलाई बताए।

उनले भने, "वन्यजन्तुको आक्रमणमा जसको अङ्गभङ्ग भएको छ, त्यसलाई के गर्ने? जसको घर उजाड भएको छ, त्यसलाई के गर्ने? जसको ज्यान गएको छ, त्यसलाई के गर्ने? त्यस्तो विषयमा सरकारको ध्यान जानु पर्‍यो भनेर मैले बोलेको हुँ।"

"कञ्चनजङ्घादेखि शे-फोक्सुन्डो र चितवनदेखि बर्दियासम्मका देशका सबै राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्ष छेउ बस्ने गरिब मानिसको पीडालाई सरकारले सम्बोधन गर्न नसकेकोले म बोल्न बाध्य भएको हुँ।"

तस्वीर कपीराइट UJJWAL ACHARYA

उनका विचारमा प्रकृति र वन्यजन्तु संरक्षणको कामसँगै संरक्षित क्षेत्रसँग जोडिएका मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायलाई सुरक्षित तुल्याउने कार्य पनि गर्नुपर्छ।

बिडारीले भने, "मैले वन्यजन्तु संरक्षण गर्नु हुन्न भनेको होइन। वन्यजन्तु र मान्छे संरक्षणको काम सँगै गर्नुपर्छ भनेको हुँ।"

हालैको समयमा निकुञ्ज वरपर मात्र होइन संरक्षित क्षेत्रदेखि निकै पर रहेका गाउँ शहरमा पनि वन्यजन्तुको आक्रमण हुन थालेको भन्दै चिन्ताहरू व्यक्त भइरहेका छन्।

काठमाण्डू र पोखरा जस्ता घना शहर क्षेत्रमा पनि चितुवा भेटिन थालेका छन्।

नेपालमा प्रकृति संरक्षण

आफ्नो भूभागको करिब २० प्रतिशत भूमिमा प्रकृति संरक्षणको लागि छुट्याइएको भन्दै अन्तर्राष्ट्रिय रूपमा नेपालको प्रशंसा हुने गरेको छ।

नेपालमा सन् १९७६ यता १२ राष्ट्रिय निकुञ्ज, दुई आरक्ष, छ संरक्षण क्षेत्र र १३ मध्यवर्ती क्षेत्र घोषणा भइसकेका छन्।

तर मानव र वन्यजन्तुबीचको द्वन्द्व जारी छ।

वन्यजन्तुका कारण हुने जनधनको क्षतिमा सरकारले पीडितलाई क्षतिपूर्ति दिने गरेको छ।

वन्यजन्तुको आक्रमणमा ज्यान गएको मानिसको आफन्तले १० लाख रूपैयाँ क्षतिपूर्ति पाउने गरेका छन्। बालीनाली र पशुको क्षतिबापत पनि क्षतिपूर्ति पाउने गरेका छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार गएको आर्थिक वर्षमा मात्रै करोडौँ रुपैयाँ क्षतिपूर्ति दिइसकिएको छ।

विभागका अनुसार गएको माघदेखि असार मसान्तसम्म झन्डै नौ करोड रुपैयाँ क्षतिपूर्ति बापत दिइएको छ।

वन्यजन्तुका कारण कति क्षति?

विभागले उपलब्ध गराएको गएको विवरण अनुसार गएको आर्थिक वर्षमा (संरक्षित क्षेत्र वरपर अन्यत्र भएका) वन्यजन्तुको आक्रमणका कारण देशका विभिन्न स्थानमा ३० जनाको ज्यान गयो। ११८ जना घाइते भए भने १९ जना समान्य घाइते भए।

वन्यजन्तुको आक्रमणमा मानिस

आव २०७५/७६ मा वन्यजन्तुको आक्रमणबाट गम्भीर घाइते र मृत्यु हुनेको सङ्ख्या

स्रोत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

हात्तीको आक्रमणका कारण १५ जनाको ज्यान गयो भने गैँडाका कारण दुई जनाको ज्यान गयो। बाघको आक्रमणका कारण चार जनाको ज्यान गयो भने चितुवाको आक्रमणमा परी छ जनाको ज्यान गयो।

वन्यजन्तुको आक्रमणमा झन्डै १६ सय पशुधनको क्षति भएको विभागको भनाइ छ।

संरक्षित क्षेत्र वरपर मात्र वन्यजन्तुको आक्रमण हुन्छ भन्ने होइन। उदाहरणको लागि पूर्वी नेपालको झापा कुनै संरक्षित क्षेत्रमा पर्दैन। तर त्यहाँ जङ्गली हात्तीको बसोबास र ओहोरदोहोर भइरहन्छ।

राष्ट्रिय निकुञ्ज विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठ भन्छन्, "संरक्षित क्षेत्र नभएका देशका सरकारी, सामुदायिक, धार्मिक र अन्य वन क्षेत्रभित्र वा बाहिर पनि वन्यजन्तुको आक्रमण हुने गरेको छ।

"देशभित्र जहाँसुकै पनि वन्यजन्तुको आक्रमण भएमा क्षतिपूर्ति दिने गरिएको छ।"

सबै पीडितलाई क्षतिपूर्ति दिइसकिएको वा दिने प्रक्रिया चलिरहेको विभागका अधिकारीहरू बताउँछन्।

संरक्षणबारे बहस

वन्यजन्तुका कारण हुने क्षतिबारे बिडारीले राष्ट्रिय सभामा सरकारको ध्यानाकर्षण गराउँदै बोलेको भिडिओ हेरेर सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरू व्यक्त भइरहेका छन्।

संरक्षणसँग सरोकार राख्ने व्यक्तिहरूले बीबीसीसँग कुरा गर्दै स्थानीय बासिन्दाको सुरक्षा र हकहितको विषयलाई केन्द्रबिन्दुमा राखेर व्यवस्थापनका कामहरू अघि बढाउनु पर्नेमा जोड दिएका छन्।

सामुदायिक वन सहजकर्ता सञ्जाल नेपालकी अध्यक्ष अप्सरा चापागाइका विचारमा सरकारले संरक्षित क्षेत्र छेउका मानिसहरूलाई नै केन्द्रबिन्दुमा राखेर संरक्षण कार्यक्रमहरू अघि सार्नु पर्छ।

उनले भनिन्, "निकुञ्जका वन्यजन्तु वा अन्य कारणले पीडित भएका मानिसले अझै क्षतिपूर्ति पाउन सकेका छैनन्। स्थानीय बासिन्दाले धेरै लाभ लिन सक्ने गरी काम गर्न सक्नुपर्छ।"

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
‘बाघ संरक्षणमा वासस्थान मुख्य चुनौती’

जैविक विविधता

वनस्पतिविद् डा. श्रेष्ठका विचारमा वन क्षेत्रमा मानिसहरूले अतिक्रमण गर्ने क्रम बढेपछि वन्यजन्तुको आक्रमण हुने क्रम बढ्न थालेको हो।

उनका विचारमा हिमालदेखि तराईसम्म फैलिएका "संरक्षित क्षेत्रहरू नेपालको अद्वितीय प्राकृतिक सम्पदा हुन् र तिनको संरक्षण गर्नु अति नै जरुरी" छ।

त्यस्ता संरक्षित क्षेत्र र वरपरका जैविक विविधताका कारण नेपाल प्राकृतिक सम्पदामा धनी भएको उनको बुझाइ छ।

डा. श्रेष्ठ भन्छन्, "प्रकृति र वन्यजन्तु संरक्षणको धेरै महत्त्व छ। र संरक्षण कार्य निकै चुनौतीपूर्ण बन्दै गइरहेको छ।

"तर जहाँ जहाँ चुनौती छन्, जहाँ जहाँ समस्या छन्, त्यहाँका समस्याका कारण जान्न अध्ययन गर्नुपर्छ र त्यसका आधारमा समस्या समाधानका उपायहरू पहिल्याउनु पर्छ।"