श्रीलङ्का आक्रमण: शृङ्खलाबद्ध बम विस्फोटनपछि मुसलमान समुदायसँग 'फरक व्यवहार'

  • 14 अगस्ट 2019
श्रीलङ्का
Image caption मोहम्मद इलियासका अनुसार उनको पसलमा व्यापार ९० प्रतिशत भन्दा बढीले घटेको छ।

श्रीलङ्काको पश्चिमी क्षेत्रमा रहेको मोहम्मद इलियासको पसलमा केही महिना अघिसम्म राम्रो व्यापार हुन्थ्यो।

अहिले व्यापार घटेको छ र इलियासको घाटा बढ्दै गएको छ।

उनको पसलमा रङ्गका बट्टादेखि लिएर बिजुलीका चिमसम्म उपलब्ध छन्। राजधानी कोलम्बोबाट झन्डै ९० किलोमिटर टाढा रहेको कोट्टारामुल्ला गाउँमा उनको पसल निकै चलेको थियो।

सिन्हाला समुदायको बाहुल्य भएको ठाउँमा अल्पसङ्ख्यक मुसलमानहरूको पनि बसोबास छ।

मुस्लिम समुदायका इलियासले वर्षौँदेखि सबै धार्मिक समुदायका मानिसहरूलाई सेवा दिँदै आएका छन्।

परिवर्तन

तर गत एप्रिलमा भएको शृङ्खलाबद्ध बम विस्फोटनले भने उनको जीवनमा निकै ठूलो परिवर्तन ल्याइदिएको छ।

"बम आक्रमणपछि सिन्हाला समुदायका ९० प्रतिशतभन्दा बढीले मेरो पसलबाट सामान किन्न छोडे," उनले भने। "मेरो व्यापार निकै घटेको छ।"

स्थानीय समूहहरूसँग सम्बन्ध रहेका 'इस्लामिक' समूहले कोलम्बोस्थित विलासी होटेल र गिर्जाघरमा आक्रमण गरेका थिए।

आक्रमणमा परेर पर्यटकसहित २५० भन्दा बढीको मृत्यु भएको थियो। इस्लामिक स्टेटले जिम्मेवारी लिएको उक्त घटनाले सिङ्गो मुलुकलाई नै स्तब्ध बनाएको थियो।

"केही हप्तायता केही ग्राहक फर्किए पनि त्यो पर्याप्त छैन। यस्तै भइरहने हो भने म ठूलो समस्यामा पर्छु," उनले भने।

उक्त घटनापछि धेरै मुसलमानहरूले आफूहरूलाई खलनायक बनाइएको महसुस गरेको बताउने गरेका छन्।

आक्रमण

श्रीलङ्काका विभिन्न भागमा मुसलमान समुदायका व्यक्तिहरूले चलाएका व्यवसाय र घरहरूमा आक्रमण हुँदै आएको छ।

गत जुन महिनामा एक वरिष्ठ भिक्षुले खुला रूपमा सिन्हाला समुदायका मानिसहरूलाई मुसलमानहरूका पसलबाट सामान नकिन्न आग्रह गरेका थिए।

श्रीलङ्काका अर्थमन्त्रीले त्यस्तो अभिव्यक्तिको आलोचना गर्दै आफ्नो देशको 'तालेबानीकरण' विरुद्ध 'सच्चा बौद्ध धर्म मान्नेहरू' एक हुनुपर्ने धारणा व्यक्त गरेका थिए।

झन्डै दुई करोड २० लाख जनसङ्ख्या भएको श्रीलङ्कामा मुसलमानहरूको सङ्ख्या १० प्रतिशतको हाराहारीमा छ।

हिन्दू धर्म मान्नेहरुको सङ्ख्या १२ प्रतिशत र इसाई धर्म मान्नेहरूको सङ्ख्या सात प्रतिशत छ। बहुसङ्ख्यक मानिसहरू सिन्हाला बौद्ध धर्म मान्छन्।

तस्वीर कपीराइट ANADOLU AGENCY/GETTY IMAGES

श्रीलङ्काले तीन दशक हिंसात्मक गृहयुद्धको पीडा खेप्यो, दशौँ हजार मानिसले ज्यान गुमाए।

सन् २००९ मा पृथक्तावादी तमिल टाइगर्स विद्रोही समूह पराजित भएपछि त्यस्तो अवस्थाको अन्त्य भयो।

तर ईस्टर पर्वका दिन भएको उक्त घटनाले भने पछिल्लो एक दशकमा देखिएको शान्तिपूर्ण अवस्थालाई भताभुङ्ग बनाइदियो।

श्रीलङ्कामा बसोबास गर्दै आएका मुसलमानहरूले पछिल्लो घटनाको निन्दा गरे पनि सिन्हाला धर्म मान्ने कट्टरपन्थीहरूलाई भने त्यसले सन्तुष्ट बनाउन सकेको छैन।

सुरुमा उनीहरूको रिस इस्लाम धर्ममा कट्टरपन्थी मानिने वहाबी समुदायका मानिसहरूप्रति मात्रै लक्षित भए पनि हाल पूर्ण रूपमा मुसलमान समुदायमाथि त्यस्तो रिस देखिएको सो समुदायका नेताहरू बताउँछन्।

उदासीनता

श्रीलङ्काका प्रमुख राजनीतिज्ञहरू तथा सुरक्षाबल आफूमाथि भएको दमनप्रति उदासीन देखिएको उनीहरू बताउँछन्। सरकारले भने साम्प्रदायिक तनाव कम गर्न सुरक्षा बढाइएको बताएको छ।

"गत जुन महिनामा मुसलमानहरूको सम्पत्तिमाथि आक्रमण गरिरहेका सिन्हालाहरूको भिडले मेरो भाइलाई घर अगाडि नै मारिदियो। हामीले न्याय पाउँछौ वा पाउँदैनौँ भन्नेबारे हामी ढुक्क छैनौँ," श्रीलङ्काको पश्चिमोत्तर क्षेत्रमा रहेको पुट्टालाम जिल्लाका मोहम्मद नाजीमले भने।

प्रहरीले भने उक्त प्रकरणमा दुई जनालाई पक्राउ गरेको र उनीहरूमाथि छानबिन भइरहेको बताएको छ।

ईस्टर पर्वका बेला भएको बम आक्रमणपछि परम्परागत इस्लामिक पोसाक लगाएका महिलाहरूलाई समेत निसाना बनाइएको थियो।

सुरक्षाको कारण देखाउँदै सरकारले सार्वजनिक स्थलमा अनुहार छोपिने पोसाक लगाउन प्रतिबन्ध लगाएको थियो।

मुसलमान समुदायका सदस्यहरूको बुझाइमा आफ्ना व्यवसायलाई बहिष्कार गर्ने प्रचलन केही हदसम्म बौद्ध धर्मगुरुको सन्देशका कारण हो।

तर बौद्ध धर्मगुरुहरू मानिसहरूले स्वतःस्फूर्त रूपमा त्यसो गरेको दाबी गर्छन्।

सुधार

श्रीलङ्कामा मुसलमानहरूको अवस्था पछिल्लो समयमा केही हदसम्म सुधार भएको देखिएको छ।

आफ्नो समुदायलाई पूर्ण आतङ्ककारीसँग जोडिएको भन्दै विरोध जनाउँदै गत मे महिनामा राजीनामा दिएका मुसलमान समुदायका मन्त्रीहरूले फेरि पदभार ग्रहण गरेका छन्।

कोलम्बोको एउटा व्यस्त बजारका व्यापारीहरूले पनि सिन्हाला ग्राहक बिस्तारै फर्कन थालेको बताएका छन्।

तर आगामी डिसेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनअघि कस्तो अवस्था सिर्जना हुन्छ भन्ने विषयमा भने उनीहरू चिन्तित देखिन्छन्।

उक्त निर्वाचनमा राष्ट्रिय सुरक्षा एउटा प्रमुख विषयमा बन्ने अपेक्षा गरिएको छ।