हङ्‌कङ तनाव: छलफल गर्न चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई डोनल्ड ट्रम्पको सल्लाह

  • 16 अगस्ट 2019
ट्रम्प र सी तस्वीर कपीराइट Reuters

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिन्पिङलाई प्रजातान्त्रिक सुधारका माग गरिरहेका हङ्‌कङका विरोध प्रदर्शनकारीहरूलाई भेट्न सुझाव दिएका छन्।

केही सातादेखि हङ्‌कङ अशान्त रहेको छ। यो साता त्यहाँको विमानस्थल पनि अवरुद्ध भयो।

यसअघि ट्रम्पले उक्त सङ्कटबारे कुरा गर्न सी र आफ्नो भेट हुनुपर्ने सङ्केत गरेका थिए।

गत १० सातादेखि हङ्‌कङमा दशौँ लाख मानिसहरूले सरकार विरोधी प्रदर्शनमा भाग लिइरहेका छन्।

सङ्कट गहिरिँदो

बिहीवार यूकेस्थित चिनियाँ राजदूतले स्थिति थप बिग्रिए बेइजिङले हङ्‌कङमा हस्तक्षेप गर्ने बताएका छन्।

सन् १९९७ मा यूकेले उक्त भूभाग चीनलाई हस्तान्तरण गरेयता हङ्‌कङले सबभन्दा खराब अवस्था सामना गरिरहेको उनले बताए।

हालको प्रदर्शन हङ्‌कङबाट चीन मुख्यभूमिमा सुपुर्दगी हुनसक्ने विवादास्पद विधेयकको विरोधबाट सुरु भएको थियो।

अघिल्लो ट्वीटमा ट्रम्पले राष्ट्रपति सीले हङ्‌कङको समस्या मानवीय तवरले समाधान गर्नेमा आफूलाई कत्ति पनि शङ्का नरहेको जनाएका थिए।

चीन-अमेरिका व्यापार तनावका माझ उनले हङ्‌कङ प्रदर्शनलाई बेइजिङको अमेरिकासँग प्रस्तावित व्यापार सम्झौतासँग जोडेका थिए।

तस्वीर कपीराइट Getty Images

"निश्चय पनि चीन सम्झौता चाहन्छ। तर पहिले उनीहरूले हङ्‌कङ समस्याको मानवीय तवरले समाधान गरुन्!" उनले ट्वीट गरेका थिए।

विवादास्पद सुपुर्दगी विधेयक हाल फिर्ता भइसकेको छ। तर प्रदर्शन भने प्रजातान्त्रिक सुधारको व्यापक मागमा परिणत भएको छ।

पहिला ब्रिटिश उपनिवेश रहेको हङ्‌कङ हाल 'एक देश, दुई प्रणाली' अन्तर्गत चीनको अङ्ग छ र त्यहाँ निकै उच्च स्तरको स्वशासन प्रदान गरिएको छ।

ट्रम्पको सुझाव के होला?

बीबीसी चिनियाँ सेवाका अमेरिका संवाददाता जाओयीन फङका अनुसार राष्ट्रपति सीले हङ्‌कङका प्रदर्शनकारीलाई भेट्ने सम्भावना एकदम कम छ।

बेइजिङले ती प्रदर्शनकारीलाई "आतङ्ककारीको जस्तै व्यवहार भएका दङ्गाकारी" भनेको छ।

त्यसैले फङ भन्छन्: त्यस्ता 'दङ्गाकारी' सँग आफ्नो नेताको भेटलाई चिनियाँ सरकारले उचित ठहर्‍याउन सक्दैन। त्यसमाथि प्रदर्शनकारीहरू स्वयंका पनि कोही खास नेता छैन जसले बेइजिङसँग छलफलमा अगुवाइ गर्न सकोस्।

"अझ महत्त्वपूर्ण के छ भने सी र प्रदर्शनकारीको भेटघाट सन् १९८९ मा तत्कालीन चिनियाँ प्रधानमन्त्री ली फङ र तिआन्आन्मेन चोकका प्रदर्शनकारीबीचको भेटघाटजस्तै देखिन सक्छ।"

ली फङको उक्त भेटघाटमा उनले उक्त विद्यार्थी प्रदर्शनलाई दिइएको दङ्गाको सङ्ज्ञा फिर्ता लिन मानेनन्। भेटघाट फलदायी भएन।

त्यसको दुई सातापश्चात् हिंसक दमन भएको थियो।

"चिनियाँ सरकारले त्यो घटनालाई विश्वको स्मरणमा पुन: ल्याउन चाहने छैन," जाओयीन फङ भन्छन्।