भूकम्पको चार वर्षपछि नुवाकोटको साततले दरबारको पुनर्निर्माण शुरू

  • 18 अगस्ट 2019
साततले

नुवाकोटको पहिचानको रूपमा मानिने साततले दरबार र दरबार आसपासका सम्पदाहरूको पुनर्निर्माण भूकम्प गएको चार वर्षपछि बल्ल शुरू भएको छ।

ढिला भए पनि दरबारको पुनर्निर्माण शुरू हुँदा नुवाकोटवासीले खुशी व्यक्त गरेका छन्।

दरबार पुनर्निर्माणका लागि जिम्मा लिएरको चिनियाँ सरकारले पटक पटकको प्राविधिक अध्ययन र विभिन्न प्रक्रिया पूरा गरेर पुनर्निर्माण शुरू गरेको अधिकारीहरू बताउँछन्।

चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले साततले दरबार, दरबार आसपासका सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व बोकेका संरचना र मठमन्दिरको पटक पटकको सर्वेक्षण र विभिन्न प्रक्रिया पूरा गरेर पुनर्निर्माण कार्य शुरू गरेको दरबार हेरचाह तथा संरक्षण कार्यालय नुवाकोटले जनाएको छ।

अस्तित्व

नेपालको जीवित इतिहासको रूपमा मानिने साततले दरबार विनाशकारी भूकम्प गएको चार वर्षपछि पुनर्निर्माण शुरू हुँदा जिल्लाको गरिमा बोकेको दरबार बन्ने भयो भन्दै यहाँका सर्वसाधारणले खुशी व्यक्त गरेका छन्।

स्थानीयवासी गोविन्दप्रसाद आचार्यले भने, "काम शुरू भएकोमा हामीलाई खुशी लागेको छ। समयमै काम सम्पन्न गरिदिए हुन्थ्यो। यो दरबारको अस्तित्व रहिरहे हुन्थ्यो।"

यसअघि टेको लगाएर अडाइराखेको दरबार कुन बेला ढल्ला भन्ने चिन्ता स्थानीयवासीमा व्याप्त थियो।

तर पुनर्निर्माण शुरू भएपछि त्यस्तो समस्या नरहेको भन्दै दरबार आसपासका स्थानीयवासी ढुक्क देखिन्छन्।

दरबारको बाटो हुदै अन्यत्र ठाउँ आवतजावत गर्न समेत समस्या रहेकोमा अहिले त्यस्तो समस्या नरहेको स्थानीयवासी मोहनकुमारी श्रेष्ठले बताइन्।

उनले भनिन्, "दरबार जीर्ण भइसकेकाले आसपासका स्थानीयवासीलाई बासमा समेत असुरक्षा रहेको थियो, तर अहिले त्यस्तो समस्या छैन।"

चहलपहल

"धेरै खुशी लागेको छ। दरबारको बाटो हुँदै अन्य ठाउँ वा मन्दिर जान पनि सुरक्षित आवतजावत गर्न सकिने भएको छ। दरबार पुनर्निर्माण शुरू भएपछि चहलपहल पनि बढेको छ।"

दरबार र दरबार आसपासका अन्य आठवटा संरचनासहित ४५ महिनामा सबै सम्पन्न गर्ने सम्झौता भएको दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अर्जुन फुयालले बताए।

निर्माण हुदै गरेको दरबारको संरचना पहिलाको जस्तो नै हुने फुयालको भनाइ छ।

"निर्माण पक्षले पुरातत्त्व विभागको डिजाएन अनुसार काम गर्ने सम्झौता भएको छ। हाम्रो सल्लाह अनुसार उहाँहरूलार्इ अप्ठेरो पर्दा हामीले सहयोग गर्नेछौँ। दुवैथरीको समझदारी र सहयोगमा काम भइरहेको छ।"

विदुर नगरपालिका-२ मा रहेको सङ्ग्रहालय दरबारको रूपमा विस. १८०१ मा नुवाकोट राज्यमाथि विजय प्राप्त गरेपछि पृथ्वीनारायण शाहले १८१६ सालमा आफ्ना सेनाद्वारा निर्माण गर्न लगाएको बताइन्छ।