कश्मीर तनावले भारतीय सेनामा कार्यरत नेपालीका परिवार चिन्तित

  • 17 अगस्ट 2019
भारतीय गोर्खा तस्वीर कपीराइट twitter/ADGPI Indian Army
Image caption साङ्केतिक तस्बिर

धनकुटाकी सरिता राई अचेल छिनछिनमा आफ्नो मोबाइल हेरिरहेकी हुन्छिन्।

२४ घण्टा नै डाटा अन गरेर राखिएको मोबाइलमा केही 'नोटिफिकेसन' आउने बित्तिकै आँखा डुलाइहाल्छिन्।

उनको रातमा निद्रा र दिनमा चैन हराएको छ। सरिताको ध्यान सधैँभरि एउटै कुरामा केन्द्रीत छ- कतै श्रीमान्‌को कल वा सन्देश आयो कि?

उनी यसरी चिन्तित हुनुको कारण हो- भारतले गत अगस्ट ५ गते जम्मू-कश्मीर राज्यलाई दिइएको विशेषाधिकार खोस्ने निर्णय गरेपछि उक्त क्षेत्रमा उत्पन्न परिस्थिति।

"मेरो श्रीमान् जम्मू-कश्मीरमै खटिनु भएको छ, पहिलेजस्तो अचेल कुराकानी हुन पाएको छैन, न त भिडिओ कल नै गर्न सकिन्छ," उनी भन्छिन्, "यस्तो भएपछि चिन्ता त लागिहाल्छ नि!"

भारतीय सेनामा काम गरेका नेपाली भन्छन्, 'इगो साँध्न युद्ध, नेता भने गद्दीमा'

'रासन सकियो, हिउँ र जङ्गली साग खाएर लड्यौँ'

कश्मीरमा भएको परिवर्तनले जम्मूका नेपालीभाषी 'गोर्खा'हरू खुसी

गोर्खा भर्तीसम्बन्धी सन्धिबारे ओली र मेबीच लन्डनमा छलफल

चिन्ताको कारण

सरिताका श्रीमान् गएको दुई वर्षदेखि भारतीय सेनामा कार्यरत छन्। उनी अहिले जम्मू-कश्मीरको पाकिस्तानसँग सीमा जोडिएको क्षेत्रमा खटिएका छन्।

कश्मीरमा तनाव बढ्दै जाँदा र भारत-पाकिस्तान सीमा क्षेत्रमा गोली हानाहान भएको खबर आउँदा उनलाई श्रीमान्‌को धेरै याद आउँछ।

सरिता भन्छिन्, "कमसेकम फोन र इन्टरनेट सधैँ चलिदिए हुन्थ्यो। उहाँ कुन अवस्थामा हुनुहुन्छ भन्ने जानकारी त पाइन्थ्यो नि!"

हाल सुनसरीको इटहरीमा बसेर स्नातक तह प्रथम वर्षमा अध्ययनरत राईले श्रीमान्‌सँग धेरै लामो समय पनि बिताउन पाएकी छैनन्।

एक वर्षअघि मात्र विवाह बन्धनमा बाँधिएका उनीहरूबीच अगस्ट ५ अघि दैनिक जस्तो कुराकानी हुन्थ्यो।

अगस्ट ५ पछि भने एकसाता जति कुराकानी हुनै पाएन।

तस्वीर कपीराइट twitter/ADGPI Indian Army
Image caption साङ्केतिक तस्बिर

कुराकानी

अहिले भने जम्मू-कश्मीर क्षेत्रमा मोबाइल सेवा फेरि सञ्चालनमा आएपछि एक–दुई दिनमा कुराकानी भइरहेको राई बताउँछिन्।

"सबै नेटवर्क लाग्दैन रे त्यसैले गर्दा कहिलेकाँही साथीको फोनबाट कुरा गर्नुहुन्छ," उनले भनिन्।

उनका श्रीमान् दुई महिनाअघि नेपाल आएर फर्किएका थिए।

अहिले हरेक दिन सरिता श्रीमान् सकुशल रहुन् भनेर कामना गर्ने गर्छिन्। विभिन्न भगवान्‌लाई भाकल पनि गर्छिन्।

"मेरो सबैलाई एउटै कामना छ, लडाइ नहोस्," उनी भन्छिन्, "मेरो मनले सधैँ अहिले त्यो नै सोचिरहेको हुन्छ।"

उनी आफ्नो मात्र नभएर सबैको चाहना शान्ति होस् भन्ने नै रहेको बताउँछिन्।

यसरी चिन्तिन हुनेमा सरिता एक्ली होइनन्।

केही दिन अघिसम्म इटहरीकै मञ्जु राईलाई पनि उस्तै चिन्ता थियो।

भारतीय फौजमा रहेका उनका श्रीमान् पनि जम्मू-कश्मीर क्षेत्रमै कार्यरत छन्।

ब्रिटेनको आश्वासन: 'गोर्खाको समस्या चाँडै समाधान हुन्छ'

नेपालको संसदले छेक्न सक्ला महिलाको गोर्खा भर्ती?

ब्रिटिश गृहमन्त्रीद्वारा क्षमायाचना

कामना

सञ्चार सेवाहरू बन्द भएपछि करिब एक साता सम्पर्कविहीन बनेका उनका श्रीमान् भने अहिले एक महिनाको छुट्टीमा घर आएका छन्।

"मैले त मेरा छोराहरूलाई पनि उहाँ कहाँ काम गर्नुहुन्छ भन्ने भनेको छैन," उनी भन्छिन्, "जम्मू-कश्मीरमा केही भएको खबर आउने बित्तिकै चिन्ता भइहाल्छ नि।"

तस्वीर कपीराइट AFP
Image caption जम्मू–कश्मीरको विशेषाधिकार खारेज गर्ने भारत सरकारको निर्णयपछि अहिले कश्मीरमा तनाव बढेको छ

केही दिनका लागि आफ्ना श्रीमान् बिदामा आएका भए पनि उक्त क्षेत्रमा धेरै नेपालीहरू काम गर्ने भएकाले शान्ति भइदिए हुन्थ्यो भन्ने उनी कामना गर्छिन्।

जम्मू-कश्मीर क्षेत्रमा तनाव बढेसँगै भारतीय सेनामा कार्यरत धेरै गोर्खा सैनिकका पारिवारिक सदस्यहरूले चिन्ता व्यक्त गर्न थालेको जानकारहरू बताउँछन्।

एकजना भूतपूर्व भारतीय सैनिक तथा संयुक्त भूतपूर्व सैनिक एवम् प्रहरी कल्याणकारी महासंघ नेपालका उपाध्यक्ष किशोरकुमार राई भन्छन्, "धेरैका परिवार नोकरीका लागि भारतमा छन्। त्यसैले अहिले हामीलाई फोन गरेर उहाँहरूले चिन्ता व्यक्त गरिरहनु भएको छ।"

उनी पहिले जस्तो अहिलेको अवस्थामा लडाइ भइहाल्दैन भनेर सम्झाउने गरेको बताउँछन्।

राई भन्छन्, "पहिले जस्तो लडाइ नभइहाल्ला किनकि आज दुनियाँ खाले हतियार छन्, त्यो चलायो भने सबै सखाप हुन्छ। त्यसैले भारत र पाकिस्तान लड्न लागे पनि अरू देशले रोकिहाल्छन् नि!"

उनले यस्तै तर्क दिएर भारतीय सेनामा कार्यरत परिवारका सदस्यहरूलाई सम्झाउने गरेको जानकारी दिए।

तर लडाइ हुँदा ज्यान पनि दिने प्रतिबद्धता गरेर गएकाले त्यहाँ कार्यरत गोर्खाहरूप्रति भने उनलाई पनि चिन्ता लागिरहन्छ।

"हामी त खासमा पेट पाल्नका लागि गएका हौँ नि," उनी भन्छन्, "तर लडाइका बखतमा त गोर्खाले फ्रन्टमै लड्नुपर्छ।"

दुवै खुट्टा गुमाएका लाहुरे सगरमाथा चढ्ने तयारी गर्दै

मृत्युको एक दशकपछि फेरि चर्चामा भारतीय ‘युद्धनायक’

भारतीय सेनामा कार्यरत नेपाली

हाल भारतीय सेनामा कति नेपाली नागरिक कार्यरत छन् भन्ने तथ्याङ्कहरू सार्वजनिक गरिएको पाइदैन।

भारतीय सेनामा काम गरेका भूतपूर्व गोर्खाहरू र हाल कार्यरतहरूसँग कुराकानी गर्दा उनीहरू ४० हजार भन्दा बढी नेपाली नागरिकहरू हाल कार्यरत रहेको अनुमान गर्छन्।

तस्वीर कपीराइट twitter/ADGPI Indian Army
Image caption भारतीय सेनामा करिब ४० हजार भन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ

त्यसमध्ये धेरैलाई भारतले सुरक्षाका हिसाबले संवेदनशील मानिएका क्षेत्रमा खटाएको बताइन्छ।

जम्मू-कश्मीरमा पनि ठूलो सङ्ख्यामा नेपाली नागरिक गोर्खाहरूलाई खटाइएको जानकारहरू बताउँछन्।

हाल भारतीय फौजमा कार्यरतका परिवार मात्र होइन, भारतीय सेनामा रहँदा मारिएका नेपाली नागरिकका परिवारले पनि पछिल्लो कश्मीर तनावप्रति चिन्ता व्यक्त गरेका छन्।

त्यस्तैमध्येका एक हुन्, भूतपूर्व भारतीय गोर्खा समेत रहेका र गत वर्ष कश्मीरमै भएको एउटा गोली हानाहानमा ज्यान गुमाएका सैनिकका पिता ङमानसिंह थापा।

रुपन्देहीका थापाका छोरा रमनसिंह थापा भारतीय सेनामा सुबेदार थिए।

तस्वीर कपीराइट Getty Images

छोरा गुमाएका पिताको पुकार

गत वर्ष डिसेम्बरमा उनको मृत्यु भएको हो। भारतीय सेनाले त्यसबेला ट्विटरमा जनाए अनुसार कश्मीरको कुपवारा जिल्लामा खटिएका थापाको पाकिस्तानी सेनाको गोली प्रहारबाट निधन भएको थियो।

त्यसक्रममा भारतीय सेनामा सुबेदार रहेका रुपन्देहीकै गमरबहादुर थापाको पनि निधन भएको थियो।

भारत-पाकिस्तान तनावका कारण आफ्नो छोरा गुमाएका थापा भन्छन्, "लडाइ हुँदा हाम्रा छोराहरूको ज्यान त जान्छन् नै अरू सबैका लागि पनि नोक्सान हो।"

उनी कश्मीरको विषयलाई लिएर भारत र पाकिस्ताबीच लडाइ भए भारत र पाकिस्तान मात्र होइन नेपाल समेत विकासका हिसाबले ५० वर्ष पछि धकेलिने बताउँछन्।

"देशमा रोजगारी नपाएपछि हामी काम गर्न गएका हौँ," उनी भन्छन्, "लडाइ भए हामी जस्तै काम गर्न जाने दाजुभाईलाई त समस्या पर्छ नै तर त्यस्तो हुनु कसैको पनि हितमा छैन।"

सुगौली सन्धिपश्चात् तत्कालिन ब्रिटिश-भारतीय फौजमा भर्ती हुन थालेका नेपालीहरू भारत ब्रिटिश उपनिवेशबाट मुक्त भएपछिको एउटा त्रिपक्षीय सन्धि अनुसार दुवै देशका सेनामा अहिले पनि भर्ना भइरहेका छन्।

ब्रिटिश सेनामा भर्ना भएका सेनालाई अन्य देशहरूमा पनि खटाइने गरेको छ भने भारतीय सेनाम रहेका गोर्खाहरू भने भारतभित्र मात्र खटाइन्छन्।

नेपालमा विशेषगरि कम्युनिस्ट पार्टीहरूले भारत र ब्रिटेनमा हुने गोर्खा भर्ती रोक्नुपर्ने आवाज उठाउने गरेका छन्।

तर सत्ताबाहिर रहँदा यस्तो आवाज उठाउने उनीहरूले सत्तामा पुगेपछि भने त्यसलाई बिर्सने गरेको आलोचकहरूले बताउँने गरेका छन्।

सम्बन्धित सामग्री