नौ प्रतिशतभन्दा माथि आर्थिक वृद्धिदर हासिल गर्ने प्रधानमन्त्री ओलीको भनाइको आलोचना

  • 18 अगस्ट 2019
केपी शर्मा ओली तस्वीर कपीराइट RSS

सिङ्गापुरमा स्वास्थ्य परीक्षण गरेर फर्किएपछि पहिलो पटक संसद्‍मा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार 'देशमा केही भएन' भनी आलोचना गर्नेहरूलाई देशको आर्थिक वृद्धिदर उत्साहजनक भएको भन्दै जबाफ दिएका छन्।

उनले "केही भएन, केही भएन" भन्दै आलोचनाहरू भइरहेपनि देशमा पूर्वाधार निर्माणका कामहरू तीव्र गतिमा अघि बढिरहेको र यो वर्षको आर्थिक वृद्धिदर पनि सात प्रतिशतभन्दा माथि रहेको बताए।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले भने, "तीव्र आर्थिक वृद्धिका आधार (तयार गर्ने) कामहरू गर्दागर्दै पनि हामीले सात प्रतिशत भन्दा बढी आर्थिक वृद्धि हासिल गर्न सकेका छौँ।"

"अहिले देशको आर्थिक वृद्धिदर ७.५ प्रतिशतको दरले भइरहेको छ। केही नहुँदा पनि यस्तो भइरहेको छ। अर्को वर्ष ८.५ प्रतिशत पुग्छ। अर्को वर्ष ९.५ प्रतिशत पुग्छ।"

प्रतिपक्षी नेपाली कांग्रेस सांसद मीनेन्द्र रिजालले भने प्रम ओलीलाई देशको आर्थिक वृद्धिदरको बारेमा "हलुका टिप्पणी" नगर्न आग्रह गरे।

तस्वीर कपीराइट RSS

ओलीको आलोचना

प्रधानमन्त्रीको कुरा सुनिसकेपछि कांग्रेस सांसद रिजालले ओलीलाई "हलुका टिप्पणी" नगर्न आग्रह गरेका थिए।

उनले भने, "प्रधानमन्त्रीज्यू आर्थिक वृद्धिका बारेमा हलुका टिप्पणी नगर्नुहोस्।"

"पुँजीगत खर्च अघिल्लो वर्षभन्दा ३५ अर्ब रुपैयाँ कम भयो। अर्थमन्त्रीज्यू मेरो पुरानो मित्र हुनुहुन्छ। कार्य सम्पादन करार गर्नु भएको होला। मलाई त चिन्ता उहाँको पो लाग्न थाल्यो, प्रधानमन्त्रीको टिप्पणी सुन्दा।"

उनले रेल र पानीजहाजको योजना बनाएर तिनलाई पूरा गर्न नसकेको भन्दै सरकारप्रति कटाक्ष समेत गरे।

आर्थिक वृद्धिदर

नेपालको आर्थिक वृद्धिदर सात प्रतिशतभन्दा माथि रहने नेपाल राष्ट्र ब्याङ्कको आकलन थियो।

विश्व ब्याङ्कका अनुसार सेवा र कृषि क्षेत्रका साथै पर्यटन र विप्रेषणमा भएका वृद्धिका कारण नेपालको आर्थिक वृद्धिदर उकालो लागेको हो।

सन् २०२० मा नेपाल भ्रमण वर्ष आयोजना गर्दै देशमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ।

तर बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपका कारण कृषि उत्पादनमा नकारात्मक असर पर्न सक्ने र त्यसकारण कृषिप्रधान अर्थतन्त्रमा उच्च वृद्धिदर कायमै राख्ने काम निकै चुनौतीपूर्ण रहेको अर्थविद्हरू बताउने गर्छन्।

तस्वीर कपीराइट Surendra Phuyal/BBC
Image caption निर्माणाधीन काठमाण्डू-तराई द्रुतमार्गको ललितपुर मकवानपुर खण्ड। यहाँ नेपाली सेनाले वाग्मतीको दुवै किनारमा सडक खन्ने काम गरिरहेको छ।

मेलम्ची र अन्य पूर्वाधारबारे प्रधानमन्त्रीले के भने?

आइतवार संसद्‌मा बोल्दै प्रधानमन्त्री ओलीले देशमा गत वर्ष १४ सय किलिमिटर बाटो र तीन सयवटा पुल बनेको बताउँदै पूर्वाधार निर्माणको काम यस्तै गतिमा अघि बढ्ने दाबी गरे।

प्रधानमन्त्रीले सडकजस्ता पूर्वाधार निर्माणको क्रम अघि बढिरहेको बताएपनि राजधानी उपत्यका र देशका अन्य सहर तथा गाउँमा कैयौँ निर्माणाधीन वा विस्तार भइरहेका सडक आयोजना पूरा नभएकाले सडक प्रयोगकर्ताहरू निरन्तर सास्ती खेप्न बाध्य भइरहेका विवरण सार्वजनिक हुने क्रम रोकिएको छैन।

सिन्धुपाल्चोकको मेलम्ची खोलामा बाँध बाधेर त्यहाँको पानी सुरुङबाट काठमाण्डू ल्याउने बहुचर्चित र बहुप्रतीक्षित मेलम्ची आयोजनाको प्रसङ्ग कोट्याउँदै प्रधानमन्त्रीले भने, "मेलम्चीको ठेकेदार भाग्यो। यस्तो कहिलेकाहीँ हुन्छ।"

"सरकार भाग्या त होइन नि, ठेकेदार भाग्या हो। मेलम्चीको पानी हामी आफैँ ल्याउँछौँ।"

मेलम्चीको २६ किलोमिटर सुरुङ छिचोल्ने काम पूरा भइसके पनि त्यसलाई पानी बगाउन योग्य बनाउने काम सकिएको छैन। त्यो पूरा नहुँदै निर्माणको जिम्मा लिएको ठेकेदारले काम छोडिदिएपछि सरकार अप्ठेरोमा परेको हो।

तर मेलम्ची खानेपानी आयोजनाको काम पूरा गर्न अब नयाँ विकल्पहरू पहिल्याउन लागिएको अधिकारीहरू बताउँछन्।

ती विकल्प पहिल्याएर पनि मेलम्चीको पानी ठ्याक्कै कहिलेसम्म काठमाण्डू उपत्यकामा झर्ने हो त्यो प्रष्ट भइसकेको छैन।

'उत्तरदायित्व वहन गर्ने नयाँ प्रणाली'

आफ्नो सरकारको समग्र कार्यशैलीको कुरा गर्दै प्रधानमन्त्री ओलीले सरकारले "उत्तरदायित्व वहन गर्ने नयाँ प्रणाली" सुरु गरिएको बताए।

उनले भने, "प्रधानमन्त्री र मन्त्री तथा मन्त्री र सचिवहरूबीच सम्झौता गर्दै कामहरू अघि बढाउने काम भइरहेको छ।"

उनले सरकारले कानुन निर्माणको सबै काम सकिएपछि सुशासन र शान्ति सुव्यवस्था कायम गर्न आफ्नो ध्यान केन्द्रित गर्ने बताए।

उनले भूमि व्यवस्थापनको काममा पनि सरकार अघि बढिरहेको बताए।

उनले भने, "अतिक्रमित सार्वजनिक, सरकारी र गुठीका जग्गा जजसको स्वामित्वमा छ, त्यसको स्वामित्वमा ल्याउने काम गरिरहेका छौँ।"

सम्बन्धित सामग्री

सम्बन्धित समाचार