कश्मीर प्रकरण: काठमाण्डूमा भारत र पाकिस्तानको दूतावास अगाडि प्रदर्शन

  • 20 अगस्ट 2019
कश्मीर

भारत र पाकिस्तानबीच कश्मीरलाई लिएर बढेको तनाव मत्थर पार्न माग गर्दै राजधानीमा भएका प्रदर्शनमा अधिकारकर्मीहरूसँगै पूर्वभारतीय गोर्खा सैनिककी छोरी सरस्वती ढकाल अधिकारी पनि सहभागी थिइन्।

शिक्षण पेशामा आबद्ध उनले बीबीसी न्यूज नेपालीसँग कश्मीरको तनाव सधैँका लागि अन्त्य भएको हेर्न चाहेको बताइन्।

उनी भन्छिन्, "म सानो हुँदा नै बाबा कश्मीरमा जानुभएको सुन्दा मनमा चिसो पस्थ्यो। परिवारका अरू पनि भारतीय सेनामा हुनुहुन्थ्यो। हामी घुम्न जाने बेलामा पनि बाबाले कहिल्यै पनि कश्मीरमा लग्नु भएन।"

"हाम्रो हजुरबुवा र आमाले पनि कश्मीरमा डरत्रास छ, त्यो ठाउँमा जाँदा सतर्क हुनुपर्छ भनेर बुवालाई भनिरहनुहुन्थ्यो। त्यही भएर अहिले पनि कश्मीर सुन्ने बित्तिकै तर्सिन्छु।"

आफ्नो बुवाले ३० वर्ष काम गरेर १५ वर्षअघि नै भारतीय सेनाबाट अवकाश पाइसके पनि पछिल्लो कश्मीर तनावले आफ्नो बाल्यकालको अवस्था पुन: सम्झाएको उनले बताइन्।

पाकिस्तानी दूतावासबाहिर धर्नामा सहभागी उनले थपिन्, "मलाई त्यसबेला भएको समस्या अहिले धेरैलाई कश्मीरमा भइरहेको छ। कश्मीरमा काम गर्ने नेपालीका परिवारका बच्चाहरू एक किसिमको डर र त्रासमा हुर्किरहेका छन्।"

"यो अवस्था सधैँ रहनु हुँदैन। त्यो क्षेत्र राम्रो भयो अब भारत र पाकिस्तानबीच लडाइँ हुँदैन भनेर सुन्न पाए हुन्थ्यो जस्तो सधैँ लागिरहन्छ।"

मित्रतामा जोड

धर्नामा सहभागी अर्की महिला जानुका श्रेष्ठ भण्डारीले भारत र पकिस्तानबीच तनाव कम गर्न दुवै देशमाथि दबाब बढाउनुपर्ने उल्लेख गरिन्।

उनले भनिन्, "शान्तिपूर्ण कार्यक्रममा सहभागी भएर यो क्षेत्रमा शान्ति र अमनचयन हुनुपर्‍यो भन्ने सन्देश दिन हामीले खोजेका हौँ।"

भारतीय दूतावासनजिकै खानी विभागको कार्यालय बाहिर धर्ना दिन उभिएका अभियानकर्ताहरूको समूहमा मानवअधिकारकर्मी कृष्ण पहाडी पनि उपस्थित थिए।

उनले परमाणु अस्त्र भएका पाकिस्तान र भारतबीचको द्वन्द्वले विश्व शान्तिमा नै गम्भीर धक्का पुर्‍याउने भएकाले दुवै देशका सरकार प्रमुखलाई वार्तामा बस्न आह्वान गरे।

पहाडी भन्छन्, "हामी भारत र पाकिस्तान दुवै देशका प्रधानमन्त्रीलाई ३४ वर्षअघि स्थापना भएको दक्षिण एशियाली सहयोग सगठन सार्क अहिले कहाँ छ भनेर प्रश्न गर्न चाहान्छौँ।"

"नागरिकहरू युद्धको विरुद्धमा छन्। त्यही भएर कुनै पनि सरकारलाई युद्धको भाषा नबोल्न खबरदारी गर्न हामी यहाँ भेला भएका हौँ।"

सार्कमा द्विपक्षीय विषयहरू छलफल गर्न नपाइने भनिए पनि सार्कको अध्यक्षका नाताले नेपालले भारत र पाकिस्तानका नेताहरूबीच सम्वादका लागि पहल गर्नुपर्ने पहाडीको मत छ।

तर धर्नामा सहभागी जानुका श्रेष्ठ भण्डारी सरकारको सामर्थ्यमा शङ्का व्यक्त गर्छिन्।

उनले भनिन्, "यत्रो दुई तिहाइको समर्थन पाएको सरकारले आफ्नै देशमा त केही गर्न सकेको छैन् भने अन्य देशको विवादमा कसरी सहजकर्ता हुन सक्छ?"

"यो सरकारबाट मैले चाहिँ त्यो किसिमको आशा राखेको छैन।"

सोमवार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कश्मीरमा विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको बताएका थिए।

त्यसबाहेक कश्मीर क्षेत्रमा विभिन्न ठाउँमा कार्यरत नेपालीहरूको स्थिति र क्षेत्रीय शान्ति तथा स्थिरता बारे नेपालको सरोकार रहेको उनले उल्लेख गरेका थिए।

दुवै देशका सरकारप्रमुखलाई पत्र

मानव अधिकार तथा शान्ति समाजले धर्नाको अन्त्यमा दुवै देशका प्रधानमन्त्रीहरूलाई लेखिएको पत्र दूतावासहरूका अधिकारीहरूलाई बुझाएको थियो।

उक्त पत्रमा भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा बढेका तनावलाई मत्थर पार्न आग्रह गरिएको छ।

त्यसबाहेक अहिलेको तनाव चुलिँदै गएमा यसबाट दक्षिण एशियाको शान्ति भङ्ग हुने र यसले विश्व शान्तिलाई नै खलबल्याउने भन्दै युद्धको सम्भावनालाई खारेज गर्न दुवै देशलाई भनिएको छ।

त्यसका लागि वार्ताको विशेष पहल अघि बढाउन र सार्कलाई क्रियाशील गराउन उक्त पत्रमा अनुरोध गरिएको छ।

उक्त धर्नालाई ध्यान दिँदै काठमाण्डूको लैनचौरस्थित भारतीय दूतावास र महाराजगञ्जस्थित पाकिस्तानी राजदूतावास क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो।

कश्मीरलाई दिइएको विशेष हैसियत दुई हप्ताअघि समाप्त पार्ने घोषणा भारतले गरेपछि उत्पन्न तनावका माझ पहिलो पटक यस किसिमको प्रदर्शन काठमाण्डूमा आयोजना गरिएको हो।