प्रीतम सिंह: ६० वर्षअघि राजा महेन्द्रलाई कश्मीरमा भेटेपछि नेपालमा व्यवसाय गर्न सहज बनाइदिने आश्वासन

  • 22 अगस्ट 2019
प्रीतम सिंह तस्वीर कपीराइट PRITAM SINGH'S Collection

बबरमहलबाट प्रसूतिगृहतिर जाँदा भेटिने एउटा गल्लीमा फराकिलो कम्पाउन्डभित्र बनेको एउटा पुरानो शैलीको घर छ।

त्यसको मूलद्वारमा सुनौलो प्लेटमा लेखिएको छ - सिंह रेजिडन्स। अर्थात् प्रीतम सिंहको घर।

सोमवार अपराह्न त्यहाँ पुग्दा वातावरण चकमन्न थियो। अग्ला रूखहरूले छेकिएको सो घरमा घरधनी सिंह केही सहयोगीसँग बस्छन्।

ढोकामा पहरा दिएर बसेका एक अधबैँसे पुरुषले घरको माथिल्लो तलामा पुर्‍याउँदा दाह्री फुलेर सेतै भएका प्रीतम सिंह भेटिए। शिरमा दस्तार (सिखहरूले लगाउने फेटा) बाँधेका उनी हँसिलो मुद्रामा थिए।

प्रीतम सिंह अर्थात् काठमाण्डू उपत्यकामा बसोबास गर्ने सिख समुदायका नेता। जम्मू-कश्मीर राज्यमा ८४ वर्षअघि जन्मिएका उनी कसरी नेपाल आइपुगे र यही बसे भन्ने कथा रोचक छ।

सक्रियता

सन् १९५८ मा व्यवसाय गर्न नेपाल आएका अहिले पनि क्रियाशील छन्।

तस्वीर कपीराइट PRITAM SINGH'S Collection

उनी दिनहुँजसो चोभारस्थित एउटा निजी विद्यालयमा जान्छन् र त्यसको रेखदेख गर्छन्।

नेपालमा बसोबास गर्न थालेको छ दशकपछि सिंहले एक पटक फेरि पुराना दिनहरू सम्झिए। त्यसो गर्दा कुनै बेला उनी भावुक बने त कुनै बेला रोमाञ्चित।

जम्मू-कश्मीरबाट संयोगले ढुवानी व्यवसाय गर्न नेपाल आइपुगेका उनी सन् १९६० को एउटा घटना सम्झ‍ँदा निक्कै पुलकित देखिन्थे।

त्यही घटनाले उनको जीवनमा नयाँ मोड ल्याइदियो। र, अहिले उनीसँग यसरी भेट गर्नुको सम्बन्ध पनि सोही दिनबाट विकसित घटनाक्रमसँग जोडिएको छ।

राजा महेन्द्रसँग कश्मीरमा भेट

सन् १९६० को जुलाई दोस्रो साता भारत-प्रशासित कश्मीरको राजधानी श्रीनगरमा राजा महेन्द्रसँग प्रीतम सिंहको भेट भयो।

हुन त उनले त्यसको दुई वर्षअघि नै पहिलो पटक काठमाण्डूस्थित नारायणहिटी राजदरबारमा राजा महेन्द्रलाई भेटिसकेका थिए।

तर श्रीनगरको त्यो भेट उनका लागि विशेष थियो। उनलाई त्यहाँका तत्कालीन प्रधानमन्त्रीले निम्त्याएर राजा महेन्द्रसँग भेटघाट गराएका थिए।

तस्वीर कपीराइट PRITAM SINGH'S Collection
Image caption राजा वीरेन्द्र र रानी ऐश्वर्यसँग प्रीतम सिंह

"म नेपालबाट आमाबुवालाई भेट्न भनेर श्रीनगर गएको थिएँ," त्यस बेलाको घटना सम्झदैँ उनले भने, "यस्तै जुलाईको ९-१० तारिखको कुरा हुनुपर्छ... म घरैमा थिएँ। एक्कासि त्यस बेलाको जम्मू-कश्मीरका प्रधानमन्त्री बक्सी गुलाब मोहम्मदबाट बोलावट भएको छ भन्ने खबर आयो।"

उनलाई राजा महेन्द्र कश्मीर भ्रणममा आएका छन् भन्ने जानकारी त थियो, तर उनैलाई भेट्न प्रधानमन्त्रीले बोलाएका हुन् भन्ने चाहिँ थाहा थिएन।

त्यहाँको मन्त्रिपरिषद्‌मा एक पटक मन्त्री बनिसकेका उनका भाइ रङ्गेल सिंहमार्फत् उनलाई खबर आएको थियो।

"म घरबाट त्यस्तै दिउँसोको ४ बजेतिर राजभवन (श्रीनगरस्थित तत्कालीन प्रधानमन्त्रीको सरकारी निवास) गएँ, त्यहाँ त राजा महेन्द्र र बक्सी साहेबसँगै बसिरहेका थिए," उनले भने, "बक्सी साहेबले मलाई धाप मारेर 'यी हाम्रो ठूलो परिवारका सदस्य हुन्, नेपालमा व्यवसाय गर्छन्' भन्नुभयो।"

त्यसपछि राजा महेन्द्रसँग करिब १५ मिनेटजति कुराकानी भएको प्रीतम सिंह सम्झन्छन्।

कुराकानी

"राजा महेन्द्रले 'नेपालमा व्यवसाय गर्न कत्तिको सहज छ? कुनै समस्या त छैन नि?' भनेर सोध्नुभएको थियो," उनी भन्छन्, "मैले 'सबै ठिकठाक छ' भनेँ।"

उनका अनुसार राजा महेन्द्रले सिंहलाई आफ्ना शाही पार्श्ववर्ती मेजर जेनरल शेरबहादुर मल्लसँग चिनजान गराइदिए र भने, "तिमीलाई केही समस्या पर्‍यो भने मल्ललाई भन, म समाधान गराइदिन्छु।"

राजा महेन्द्रले सन् १९६० जुनमा जापान, अमेरिका र क्यानडाको औपचारिक भ्रमण गरेर फर्कने क्रममा कश्मीरको पनि अनौपचारिक भ्रमण गरेको इतिहासकारहरूले लेखेका छन्।

तस्वीर कपीराइट PRITAM SINGH'S Collection
Image caption तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीसँग प्रीतम सिंह

तर उनीहरूले उक्त भ्रमणको उद्देश्य स्पष्ट पार्न सकेका छैनन्।

प्रीतम सिंहले महेन्द्रको उक्त भ्रमणको उद्देश्यबारे खुलाउँदै भने, "राजा महेन्द्र र रानी रत्नसहित करिब ३० देखि ४० जनाको भ्रमण टोली अमरनाथ यात्रामा गएको थियो। उहाँहरू अमरनाथ यात्रामा निस्कँदा पहलगामसम्म पुर्‍याउन हामी पनि गएका थियौँ।"

महेन्द्रसँगको त्यो सङ्क्षिप्त भेटपश्चात् केही दिनमा सिंह नेपाल फर्किए र ढुवानी व्यवसायमा मग्न भए।

अनिकालको त्यो ढुवानी

झन्डै दुई वर्षपछि एक दिन उनलाई अञ्चलाधीश कार्यालयबाट फोन आयो।

"कालीबाजे भन्ने एकजना अञ्चलाधीश थिए, उनको नाम मैले बिर्सिएँ," सिंह भन्छन्, "उनले मलाई 'राजाबाट हुकुम भएको छ, भारतबाट तत्कालै १० हजार टन चामल ल्याउनुछ। कसरी ल्याउने हो?' भनेर सोधे।"

त्यस बेला पाँच-सातवटा मात्र ट्रकका भरमा आफ्नो व्यवसाय चलाइरहेका उनका लागि त्यत्रो चामल केही दिनभित्रै ल्याउन निक्कै कठिन थियो।

तर पनि उनले अञ्चलाधीशलाई भने, "मैले भनेको सुविधा दिनसक्नुहुन्छ भने म ल्याउन सक्छु।"

अञ्चलाधीशले उनलाई सुविधा दिने आश्वासन दिएपछि सिंहले तीनवटा माग राखे- ट्रकको नम्बर प्लेट सहजै लगाइदिने, कर छुट गर्ने एवम् सामान लोड र अन्लोडलाई सहज बनाइदिने।

उनले भारतीय ट्रकबाट ढुवानी गराउने उद्देश्यले यस्ता सर्त राखेका थिए।

सरकारले उनका तीनवटै सर्त स्वीकार मात्र गरेन, भारतीय ट्रकहरूलाई अस्थायी नम्बर प्लेट लगाइदिने जिम्मा पनि उनैलाई दियो।

"त्यस बेला मलाई ५०० देखि ६५० नम्बरसम्म आफैँ बाँड्न अनुमति दिइएको थियो। त्यसले गर्दा मैले सबैलाई आफैँ नम्बर लगाइदिँदै चामल ढुवानी गराएँ। सरकारले दुई-तीन महिना लाग्ने सोचेको रहेछ मैले १५-२० दिनभित्रै सबै चामल नेपाल ल्याइपुर्‍याएँ," उनी भन्छन्।

सिंहका अनुसार त्यो चामल नेपालको पहाडी भेगमा अनिकाल लागेपछि भारतले सहयोगस्वरूप नेपाललाई उपलब्ध गराएको थियो।

यसरी चाँडै सबै चामलको ढुवानी गराउन सफल भएपछि सिंहलाई राजा महेन्द्रले नारायणहिटी दरबारमै बोलाए।

"त्यसबेला उहाँकै हातबाट मैले एक हजार रुपैयाँ बक्सिस, प्रमाणपत्र र धन्यवाद पाएँ," हाँस्दै उनले भने, "तर प्रमाणपत्रमा राजाको दस्तखत छैन। त्यसबेलाका खाद्यसम्बन्धी मन्त्रीको दस्तखत छ।"

राजाको आदेशमा छोराको नागरिकता

त्यही बेला राजा महेन्द्रले अरू केही चाहिन्छ कि भनेर सोधेछन्।

"त्यस बेला मेरो छोरो चार वर्षको थियो। मैले उसलाई नागरिकता दिलाई पाऊँ भनेँ। राजाबाट हुकुम भयो अनि मैले पछि त्यसैका आधारमा छोराको नागरिकता पनि पाएँ," सिंह भन्छन्।

त्यो महेन्द्रसँग उनको तेस्रो भेट थियो।

त्यसको केही वर्षपछि महेन्द्रकी जेठी छोरी अधिराजकुमारी शान्ति राज्यलक्ष्मीको घरबाट सिंहलाई निम्तो आयो।

त्यहाँ पुग्दा राजा महेन्द्र पनि उपस्थित थिए।

राजाले सिंहलाई भने, "कुमार र अधिराजकुमारीले अमरनाथ यात्रा गर्ने इच्छा गर्नुभएको छ, तिमीले घुमाइदिनुपर्‍यो।"

त्यसको केही दिनमै शान्ति, उनका पति बझाङ्गी राजा दीपक जङ्गबहादुर सिंह र अन्य केही व्यक्तिसहित प्रीतम सिंह अमरनाथ यात्राका लागि निस्किए।

दीपकसँग र शान्तिको विवाह सन् १९६५ मा भएको थियो।

तस्वीर कपीराइट PRITAM SINGH'S Collection

सिंहलाई अमरनाथको त्यो यात्राको मिति सम्झना छैन, तर विवाहको एक-दुई वर्षपछि हो कि भन्ने लाग्छ।

नेपाली राजपरिवारका ती सदस्यहरू अमरनाथ यात्राका क्रममा झन्डै एक महिना सिंहसँगै घुमे।

उनले पथप्रदर्शक बनेर अमरनाथसहित कश्मीरका सबैजसो पर्यटकीय र धार्मिक क्षेत्रको भ्रमण गराए।

"उहाँहरू करिब १० दिनजति त हाम्रो घरमै पनि बस्नुभयो," उनी प्रफुल्ल मुद्रामा सुनाउँछन्।

त्यस बेलादेखि अधिराजकुमारी शान्तिको परिवारसँग जोडिएको घनिष्ठता अहिले पनि कायमै रहेको उनी बताउँछन्।

"उहाँहरू त हुनुहुन्न, तर अहिले पनि उहाँका छोराछोरीहरूसँग भेट भइरहन्छ। मेरो हालखबर सोधिरहन्छन्," सिंहले भने।

विसं २०५८ सालमा भएको राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्रको परिवारसहित अधिराजकुमारी शान्तिको पनि मृत्यु भयो।

पहिलो भेट

प्रीतम सिंहको राजा महेन्द्रसँग भएको पहिलो भेटको कथा पनि रोचक छ।

जम्मूमा जन्मिएका उनले विद्यालयको पढाइ सकेपछि विमानचालक बन्ने सपना देखे।

त्यो सपनाले डोर्‍याएर उनलाई लखनऊ पुर्‍यायो। त्यहाँ उनले विमानचालकको तालिम लिए।

तालिम लिँदा उनका दुलत भन्ने मिल्ने साथी थिए।

ती साथीले पछि नेपालको विमान उडाउन थाले र क्याप्टेन भए।

राजा महेन्द्रका भ्रमणहरूमा विमान उडाएकाले उनको राजासँग निकट सम्बन्ध थियो।

उनै साथीमार्फत् सन् १९५८ मा नेपाल आएका बेला सिंहले पहिलो पटक राजा महेन्द्रलाई राजदरबारमै भेटेका थिए।

"त्यो भेटमै राजा महेन्द्रले के गर्नुहुन्छ भनेर सोध्नु भएको थियो," सिंह सम्झन्छन्, "हाम्रो परम्परागत रूपमा जम्मू-कश्मीरमा यातायातको व्यवसाय छ भनेपछि उहाँले 'नेपालमा आएर पनि व्यापार गर्नूस्, केही सहयोग चाहिए भन्नूस्' भन्नुभयो।"

राजा महेन्द्रको आग्रहसँगै आफ्नै रुचिका कारण पनि उनले नेपाललाई व्यवसाय गर्ने थलो बनाउने सोच बनाएर त्यसको केही महिनामा नै उनी नेपालमा तीनवटा ट्रक लिएर आए।

त्यस क्रममा कैयौँ दिन लगाएर भारतको पटनादेखि काठमाण्डू आइपुगेको उनी सम्झन्छन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
गुरुद्वारामा नेपाली पुजारी

"कतै बाटो राम्रो थिएन, तराईमा त झन् बयलगाडा गुडाउने बाटो मात्र थियो," त्यसबेलाको नेपाल सम्झँदै उनी भन्छन्, "कान्ति राजपथबाट त ट्रक ल्याउन अझ मुस्किल थियो। जीपका लागि बनाएको बाटोमा हामीले धेरै दु:ख गरेर ट्रक लिएर आएका थियौँ।"

काठमाण्डू उपत्यकामा ट्रक भित्र्याएपछि उनले हनुमानढोकामा गएर तीनवटै ट्रक दर्ता गराए।

त्यस बेला दर्ता गरिएका ट्रकका नम्बर अहिले पनि उनलाई कण्ठ छन्- २३८, २३९ र २४०।

ढुवानी व्यवसायमा संलग्न भएकाले उनले पनि अन्य ड्राइभरका साथमा चालक अनुमतिपत्र पनि लिए।

"मेरो लाइसेन्स नम्बर ५२०० हो," दाह्री मुसार्दै उनले भने, "त्यो बेला अहिले जस्तै धेरै गाडी थिएनन्, सबै जस्तो काम हनुमानढोकाबाटै हुन्थ्यो।"

अहिलेको व्यवसाय

लामो समय ढुवानी व्यवसायमा संलग्न भएका सिंहको परिवारले अहिले भने त्यो व्यवसाय छाडेको छ।

झन्डै १० वर्षअघि पहिले छोरा र त्यसको छ महिनापछि श्रीमतीको मृत्यु भएपछि उनी बिस्तारै ढुवानी व्यवसायबाट टाढिए।

Image caption थापाथलीस्थित प्रीतम सिंहको घर

उनीहरूले अन्य दुईजना साझेदारसँग मिलेर केही दशकअघि मोर्डन इन्डियन स्कूल सुरु गरेका थिए।

अहिले पनि उनी त्यसैको रेखदेख गर्छन्। विद्यालयका लागि आवश्यक पर्ने बसहरूको प्रबन्ध उनैले गरिरहेका छन्।

लामो समयको यातायात व्यवसायको अनुभव विद्यालय सञ्चालनमा पनि काम लागेको उनी बताउँछन्।

उनका तीन छोरीहरू परिवारसहित विदेशमा छन्।

नेपालमा भने उनका जेठा नाति छन्। ललितपुरमा बस्ने उनी आफ्नै एउटा विद्यालय चलाउँछन्।

कश्मीरबारे मत

प्रीतम सिंह पछिल्लो पटक करिब एक वर्षअघि कश्मीर पुगेका थिए।

उनले त्यहाँको आफ्नो केही जमिन बेच्न चाहेको भए पनि हालसम्म बेच्न सकेका छैनन्।

तस्वीर कपीराइट Getty Images
Image caption कश्मीरले पाएको विशेषाधिकार अन्त्य गरिनुलाई प्रीतम सिंह उचित मान्छन्

उनी कश्मीरले पाउँदै आएको विशेषाधिकार खारेज गर्ने गत अगस्ट ५ को भारत सरकारको निर्णयको समर्थक हुन्।

उनी भन्छन्, "हामीले आफ्नो जग्गाजमिन पनि विक्री गर्न पाइरहेका थिएनौँ। एकदमै सस्तोमा किन्न खोज्थे, अब त्यहाँ सबैले जग्गाजमिन किन्न पाउने भएपछि महँगोमा विक्री हुन्छ।"

सिंहलाई सो निर्णयले कश्मीरका धेरै नागरिकलाई फाइदा पुग्छ भन्ने लाग्छ।

त्यहाँ भइरहेको आन्दोलनबारे चाहिँ उनी भन्छन्, "मलाई त सबै कुराहरू केही समयपछि ठिक हुन्छ जस्तो लाग्छ।"

करिब डेढ घण्टा लामो कुराकानीपछि बैठक कोठाबाट उठेर भर्‍याङसम्म आइपुगेका सिंहले दुवै हात हल्लाउँदै भने, "तपाईंले मलाई साठको बखतमा पुर्‍याइदिनुभयो। आँखाअगाडि त्यो बेलाकै कुराहरू झलझली आउन थाल्यो।"

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
नेपालमा सिखहरू