कश्मीर विवाद: भूमिका खेल्न नेपाललाई पाकिस्तानी विदेशमन्त्रीको आग्रह

  • 23 अगस्ट 2019
नेपाल पाकिस्तान तस्वीर कपीराइट QURESHI/TWITTER/RSS

पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री शाह महमूद कुरैशीले नेपालका पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भारत-प्रशासित जम्मू-कश्मीरको वर्तमान अवस्थाका बारेमा छलफल गरेको बताएको छ।

विज्ञप्तिमा भनिएको छ: "परराष्ट्रमन्त्रीले नेपाली समकक्षीलाई जम्मू-कश्मीरको विवादास्पद स्थितिलाई फेर्न भारतले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको प्रस्तावहरूको विपरीत गरेको गैरकानुनी र एकपक्षीय कार्यहरूका बारेमा जानकारी दिए।"

"उनले जम्मू-कश्मीरका बारेमा भारतको कदमले यो क्षेत्रकै शान्ति र सुरक्षाका गम्भीर खतरा निम्त्याएको बताए।"

सो विज्ञप्तिमा पाकिस्तानी विदेशमन्त्रीले नेपाललाई सार्क अध्यक्षको रूपमा यो क्षेत्रको शान्ति र स्थायित्वका लागि भूमिका खेल्न र भारत-प्रशासित जम्मू-कश्मीरका मानिसहरूको दुखलाई कम गर्न भारतलाई भन्न पनि अनुरोध गरेको बताइएको छ।

परराष्ट्रमन्त्री ज्ञवालीले भने: "यो धेरै बोलिरहने विषय होइन। मैले कश्मीरको विषयमा संसद्‍मा कुरा राखिसकेको छु।"

पाकिस्तानी विज्ञप्तिमा भनिएको छ: "विदेशमन्त्रीले नेपाली परराष्ट्रमन्त्रीलाई भारत-प्रशासित जम्मू-कश्मीरमा भएको खाद्य र जीवन बचाउने औषधीहरूको कमी, विगत १७ दिनदेखिको सञ्चारविच्छेद र पूर्ण बन्दको स्थितिमा निरन्तर खराव भइरहेको मानव अधिकार र मानवीय अवस्थाका बारेमा जानकारी दिए।"

"उनले भारत प्रशासित कश्मीरमा जेनोसाइड वाचले जारी गरेको आम नरसंहारको खतराको स्थितिको बारेमा पनि बताए र त्यहाँको स्थिति एकदमै खतरापूर्ण रहेको र भारतले कुनैपनि प्रकारको बल प्रयोग गर्दा धेरै जनधनको क्षति हुनसक्ने बताए।"

विज्ञप्तिका अनुसार नेपाली परराष्ट्रमन्त्रीले 'नेपालले अवस्थालाई नजिकबाट नियालिरहेको र सबै प्रकारका द्वन्द्वलाई शान्तिपूर्ण तरिकाले समाधान गर्ने आग्रहलाई नियमित गरिरहने' बताएका छन्।

पाकिस्तानको कदम

भारत-प्रशासित जम्मू-कश्मीर राज्यलाई दिइएको विशेष संवैधानिक मान्यता भारत सरकारले अन्त्य गरिदिएपछि पाकिस्तानले त्यसको कडा आलोचना गर्दै आएको छ।

उसले कश्मीर विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने आफ्नो योजना भएको बताएको छ।

भारतको हस्तक्षेप विरुद्ध पाकिस्तानले भारतसँग व्यापारिक तथा यातायात सम्बन्ध भङ्ग गर्दै भारतीय दूतलाई फिर्ता पठाइदिइएको थियो।

कश्मीरमा अवस्थाबारे पाकिस्तानको विदेश मन्त्रालयले दक्षिण एशियाका विभिन्न मुलुकलाई जानकारी गराएको बीबीसी उर्दूले जनाएको छ।

"नर्वेसहित कतिपय मुलुकले मध्यस्थता गरिदिने प्रस्ताव समेत राखेका छन्," पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैजलले गत सोमवार भनेका थिए।

"तर त्यस्तो मध्यस्थता भारतलाई स्वीकार्य नभएसम्म आवश्यक छैन।"

संसदमा ज्ञवालीको भनाइ

नेपाल भारत विदेशमन्त्री स्तरीय संयन्त्रको बैठकमा सहभागी भएर भारतीय विदेशमन्त्री एस. जयशङ्कर स्वदेश फर्के लगत्तै नेपाल र पाकिस्तानका समकक्षीबीच कुराकानी भएको हो।

पाकिस्तानी समकक्षीसँगको टेलिफोन छलफलका क्रममा के कुरा भयो भन्ने बीबीसी न्यूज नेपालीको प्रश्ननका विषयमा परराष्ट्रमन्त्री ज्ञवालीले आफूले त्यसबारे थप चर्चा गर्न नचाहेको बताए।

उनले आफूले संसद्‍मा राखेको भनाइ नै कायम रहेको बताए।

बिहीवार सङ्घीय संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत अन्य दलका सांसदहरूले भारतीय विदेशमन्त्रीसँग छलफलका क्रममा कश्मीर मुद्दाका विषयमा छलफल भए नभएको जानकारी माग गरेका थिए।

दुवै देशका अधिकारीहरूले नेपालमा भएका छलफलका क्रममा कश्मीरबारे चर्चा नभएको बताउँदै आएका छन्।

प्रतिनिधिसभाको बैठकमा सांसद मिनेन्द्र रिजालले भने: "भन्न मिल्ने भए जम्मु-कश्मीर र लद्दाख विषयमा यहाँले केही भन्नु भयो कि वा भारतीय विदेशमन्त्रीले केही भने कि संसद्‍लाई जानकारी पाउँ।"

जवाफमा ज्ञवालीले कश्मीरको विषय द्विपक्षीय छलफलको अजेन्डा नरहेको जानकारी दिएका थिए।

ज्ञवालीले भनेका थिए: "मैले केही दिन अघि नै नेपालको दृष्टिकोण सार्वजनिक गरेको छु।"

"कश्मीरमा करिब ९० हजार नेपाली काम गर्छन्। उनीहरूको अवस्था र सुरक्षाका बारेमा भारतस्थित दूतावास भारत सरकारसँग निरन्तर सम्पर्कमा छ र नेपालीहरू सुरक्षित छन्।"

"नेपाल दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको सदस्य राष्ट्र हुनुको नाताले क्षेत्रीय शान्तिको पक्षमा छ।"

सम्बन्धित सामग्री