अफगानिस्तान युद्धमा १८ वर्षदेखि अमेरिका सहभागी हुनुका कारण

  • 11 सेप्टेम्बर 2019
अमेरिका अफगानिस्तान तालिबान तस्वीर कपीराइट Getty Images

तालिबान विद्रोहीहरूसँग सम्झौता हुन लागेका बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक्कासि उक्त समूहसँग भइरहेको शान्ति वार्ता अन्त भएको घोषणा गरेका छन्।

तर अमेरिकाले अफगानिस्तानमा किन युद्ध गरिरहेको छ? अनि अफगानिस्तानको द्वन्द्व किन यति लामो समयसम्म चलिरहेको छ?

सेप्टेम्बर ११ को आक्रमण

तस्वीर कपीराइट Getty Images

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको हमलामा झन्डै तीन हजार सर्वसाधारण मानिसको मृत्यु भएको थियो।

आक्रमणमा इस्लामिक आतङ्कवादी समूह अल-कायदाका नेता ओसामा बिन लादेनको संलग्नता थियो।

त्यस बेला अफगानिस्तानमा शासन गरिरहेको कट्टरपन्थी इस्लामिक समूह तालिबानले बिन लादेनलाई अमेरिकी पक्षलाई हस्तान्तरण गर्न अस्वीकार गरेको थियो।

त्यसको एक महिनापछि अमेरिकाले अफगानिस्तानमाथि हवाई हमला सुरु गर्‍यो। उक्त युद्धमा अन्य मुलुकहरू पनि संलग्न भएपछि तालिबान सत्ताबाट बाहिरिएको थियो।

तर त्यसपछि पनि तालिबान हराएन। उसको प्रभाव झन् बढ्दै गयो।

त्यसयता अमेरिका र उसका सहयोगी राष्ट्रहरू अफगान सरकारको बचाउमा लागेको छ। तालिबानले गर्ने हिंसात्मक आक्रमण कम गर्न पनि उनीहरू लागिपरेका छन्।

ओसामा बिन लादेन

तस्वीर कपीराइट Getty Images

"हामीले यो मिशन रोजेका थिएनौँ। तर हामी यो पूरा गर्नेछौँ," सन् २००१ को अक्टोबर १ मा अफगानिस्तानमाथि हवाई आक्रमण सुरु गर्नुअघि तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले घोषणा गरे।

न्यूयोर्क र वाशिङ्टन आदि स्थानमा ९/११ आक्रमण भनेर चिनिने सन् २००१ को सेप्टेम्बर ११ मा भएका आक्रमणहरूमा २,९७७ जनाको मृत्यु भएपछि आक्रोशित अमेरिकाले हवाई कारबाही सुरु गरेको थियो।

बुशका अनुसार उक्त मिशन अफगानिस्तानलाई आतङ्कवादी उद्देश्यका लागि प्रयोगको हुन नदिन र तालिबान सत्ताको सैन्य क्षमता ध्वस्त पार्न सञ्चालन गरिएको थियो।

पहिलो चरणको आक्रमणमा तालिबान समूहको सैन्य केन्द्रहरू तारोमा परेका थिए। बिन लादेनको अल-कायदा समूहले सञ्चालन गरेका सैन्य अखडाहरूमा पनि आक्रमण गरिएको थियो।

तर १८ वर्ष भइसक्दा पनि अमेरिकाको मिशनले पूर्णता पाएको वा नपाएको विषयमा प्रश्न गर्ने प्रशस्त ठाउँ छन्।

अमेरिका र तालिबानबीच शान्तिवार्ता सम्पन्न भए तालिबानले अफगानिस्तान सरकारमा भूमिका खेल्न सक्ने सम्भावना रहन्छ।

सन् १९९६ मा राजधानी काबुलमाथि कब्जा जमाएको तालिबान समूहले त्यसको दुई वर्षभित्र अफगानिस्तानका अधिकांश स्थान कब्जा गरेको थियो।

कट्टरपन्थी इस्लाम धर्म अनुसरण गर्ने उक्त समूहले सार्वजनिक रूपमा मृत्युदण्ड दिने जस्ता दण्ड बलपूर्वक लागु गरेको थियो।

अमेरिका र उसका सहयोगीहरूले गरेका आक्रमणको दुई महिनामा तालिबान सत्ता ढल्यो। उक्त समूहका लडाकुहरू पाकिस्तानतर्फ लागे।

सन् २००४ मा अफगानिस्तामा अमेरिकाको समर्थन रहेको सरकार बन्यो। तर पाकिस्तानको सीमानजिक रहेका क्षेत्रमा तालिबानको प्रभाव कायम थियो।

उक्त समूहले लागुऔषध बेचबिखन, खनिजपदार्थ उत्खनन र कर लगाएर राम्रो आम्दानी गरिरहेको थियो।

सन् २०१४ मा उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटो अन्तर्गतका विभिन्न देशका सेना अफगानिस्तानबाट फर्किए। तर त्यसले तालिबानलाई एक किसिमको ऊर्जा दियो।

गत वर्ष बीबीसीले तालिबान अफगानिस्तानका ७० प्रतिशत भूभागमा खुला रूपमा सक्रिय रहेको फेला पारेको थियो।

तालिबान कहाँबाट आएको हो?

तस्वीर कपीराइट Getty Images

यसका धेरै पक्ष छन्।

तालिबानको कडा प्रतिरोध, अफगानिस्तानको सेनाको सीमितता र अफगानिस्तानमा आफ्ना सेना राख्न अमेरिकासहित अन्य राष्ट्र अनिच्छुक हुनु केही महत्त्वपूर्ण विषय हुन्।

गत १८ वर्षमा कतिपय समयमा तालिबान रक्षात्मक अवस्थामा पुगेको थियो। सन् २००९ मा तत्कालीन अमेरिका राष्ट्रपति बाराक ओबामाले अफगानिस्तानमा अमेरिकी सैनिकको सङ्ख्यामा वृद्धिको घोषणा गरे र त्यहाँ अमेरिकी सैनिकको सङ्ख्या एक लाखभन्दा बढी पुग्यो।

त्यसले तालिवानलाई अफगानिस्तानको दक्षिणी क्षेत्रबाट भाग्न बाध्य बनायो। तर त्यस्तो अवस्था धेरै वर्षसम्म टिक्न सकेन।

फलस्वरूप तालिबान विद्रोहीहरू फेरि सङ्गठित हुन सफल भए। उक्त प्रक्रियामा छिमेकी राष्ट्र पाकिस्तानको पनि हात छ। तालिबानको जरा पाकिस्तानमा छ भन्ने कुरामा दुई मत छैन।

तर पाकिस्तानले भने आफूहरूले उक्त समूहलाई सहयोग वा रक्षा नगरेको बताउँदै आएको छ।

तालिबान कसरी बलियो रहन सफल भयो?

उक्त समूहले वार्षिक १.५ अर्ब अमेरिकी डलर आम्दानी गर्न सक्ने अनुमान लगाइएको छ। यो गत एक दशकको तुलनामा निकै ठूलो वृद्धि हो।

आम्दानीको प्रमुख स्रोतमध्ये लागुऔषधि तस्करी पनि हो। अफगानिस्तानलाई विश्वको एउटा प्रमुख अफिम उत्पादनकर्ता मानिन्छ।

तालिबानको आयस्रोतको अर्को प्रमुख स्रोत भनेको आफूले कब्जामा लिएको भूभागबाट उसले असुल्ने कर र दूरसञ्चार, विद्युत् र खनिजपदार्थ उत्खनन जस्ता व्यवसायमा लगाइएको कर हो।

युद्धले कति हानि गरेको छ?

अत्यधिक धेरै।

तस्वीर कपीराइट Getty Images

युद्धमा कति अफगान सेना मारिए भन्ने बताउन गाह्रो छ। उक्त तथ्याङ्क सार्वजनिक गरिँदैन।

तर सन् २०१९ मा राष्ट्रपति असरफ गनीले सन् २०१४ यता ४५ हजार सैन्य अधिकारी मारिएको बताएका थिए।

सन् २००१ मा आक्रमण सुरु भएपछि हालसम्म अन्य विभिन्न देशका करिब ३५०० सैन्य अधिकारीको मृत्यु भएको बताइएको छ। यो सङ्ख्यामा २३०० भन्दा बढी त अमेरिकी सैनिक नै छन्।

कति सर्वसाधारण मानिस मारिए भन्न झन् गाह्रो छ। फेब्रुअरी २०१९ मा संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको प्रतिवेदनमा ३२ हजारभन्दा बढी गैरसैनिक मारिएको उल्लेख गरिएको छ।

राष्ट्रसङ्घका अनुसार इराक, सिरिया, अफगानिस्तान र पाकिस्तान भएका द्वन्द्वमा सन् २००१ यता करिब ५९ खर्ब अमेरिकी डलर खर्च भएको बताएको छ। अमेरिकाले अझैसम्म तालिबानविरुद्ध हवाई कारबाही जारी राखेको छ।

तर सन् २०२० मा हुने निर्वाचनअघि ट्रम्पले अफगानिस्तानमा सैनिकको सङ्ख्या घटाउन चाहेका छन्। सन् २०१४ यता तालिबानको शक्ति वृद्धि हुँदै गएको छ। उसले पहिलेभन्दा बढी क्षेत्रमा प्रभाव जमाएको छ।

धेरैले अमेरिकी सैनिकको सङ्ख्या घटे एक किसिमको शून्यता सिर्जना हुन सक्ने र त्यसको फाइदा उठाउँदै आतङ्कवादी समूहहरूले पश्चिमा मुलुकमाथि आक्रमणको योजना बनाउन सक्ने बताएका छन्।

अफगान नागरिकहरूले भने लामो समयदेखि रक्तपातपूर्ण द्वन्द्व र अशान्ति खेप्नुपरेको छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
५० लाख मानिस भएको काबुलमा जम्मा २२ वटा एम्बुलेन्स

सम्बन्धित समाचार