ब्रेक्जिटः समयअघि निर्वाचन गराउने बोरिस जोनसनको प्रयास दोस्रो पटक पनि विफल

  • 10 सेप्टेम्बर 2019
बोरिस तस्वीर कपीराइट Reuters

समयअघि निर्वाचन गराउने ब्रिटिश सरकारको योजनालाई सांसदहरूले दोस्रो पटक विफल बनाइदिएका छन्।

सरकारले प्रस्तुत गरेको प्रस्तावको पक्षमा २९३ जना सांसदले मतदान गरेका थिए जुन चाहिएको मतभन्दा निकै कम हो।

यसअघि ब्रिटेनको संसद् निलम्बनमा पर्नुभन्दा केही समयअघि भएको बहसमा बिना कुनै सहमति युरोपेली सङ्घबाट बाहिरिने ब्रिटेनको योजनालाई रोक्ने कानुनी प्रावधानलाई सरकारले कार्यान्वयनमा ल्याउनुपर्ने माग विपक्षी दलका सांसदले गरेका थिए।

विपक्षी दलका सांसदले प्रधानमन्त्री बोरिस जोनसनले कानुनी प्रावधान उल्लङ्घन गरे उनीमाथि समेत कानुनी कारबाही हुन सक्ने भन्दै चेतावनी दिएका छन्।

प्रावधान

ब्रिटेनको कानुनअनुसार उसले आगामी अक्टोबर ३१ तारिखमा ब्रसल्ससँग सहमति गरेर वा बिना कुनै सहमति युरोपेली सङ्घबाट बाहिरिनुपर्नेछ।

तर सोमवार मात्रै शाही स्वीकृति प्राप्त गरेको एउटा नयाँ कानुनले त्यसलाई परिवर्तन गरिदिएको छ।

उक्त प्रावधानले ब्रिटेन कुनै किसिमको सहमति गरेर सङ्घबाट बाहिरिने वा बिना कुनै सम्झौता बाहिरिने भन्ने विषय सांसदहरूले अनुमोदन नगरेसम्म प्रधानमन्त्रीलाई सन् २०२० को ज्यानुअरी महिनासम्म ब्रेक्जिट प्रक्रिया लम्ब्याउन बाध्य बनाउने छ।

तस्वीर कपीराइट Reuters

बीबीसीकी राजनीतिक सम्पादक लोरा कुन्सबर्गले प्रधानमन्त्रीको कार्यालयले कानुन उल्लङ्घन गर्न नखोजेको बताए पनि उक्त कानुनी प्रावधानबाट कसरी उम्कन सकिन्छ भन्ने विषय हेरिरहेको बताउँछिन्।

यसअघि संसद्‌मा बिना कुनै सहमति सङ्घबाट बाहिरिँदा कस्तो असर पर्छ भन्नेबारे सरकारले गरेको अध्ययन आफूहरुले हेर्न पाउनुपर्ने र संसद्‌लाई लामो समयका लागि किन निलम्बन गरिएको हो भन्ने विषयमा सरकारले प्रस्ट्याउनुपर्ने माग सांसदहरूले राखेका थिए।

बोरिस जोनसनले आगामी अक्टोबर ३१ तारिखमा जुनसुकै अवस्थामा पनि ब्रिटेन युरोपेली सङ्घबाट बाहिरिने अर्थात् नो-डील ब्रेक्जिटमा समेत जाने भन्दै आएका छन्।

नो-डील ब्रेक्जिट के हो?

जनमतसङ्ग्रहको परिणामअनुसार ब्रिटेनले युरोपेली सङ्घको सदस्यता परित्याग गरेर उक्त गठबन्धनबाट बाहिरिँदा 'नो-डील' को परिदृश्यमा ब्रिटेन र ईयू दुई पक्षबीच हालका सबै सम्बन्ध विच्छेद गरेर बहिर्गमनमा अघि बढ्ने र भावी सम्बन्धबारे कुनै पनि ठोस सहमति हुँदैन। ब्रिटेन तत्काल उक्त गठबन्धनबाट बाहिरिन्छ।

रातारात ब्रिटेन एकल युरोपेली बजार र संयुक्त भन्सार प्रणाली कस्टम्स युनियनबाट बाहिरिन्छ।

ती प्रावधानहरू ईयूका सदस्य राष्ट्रहरूबीच जाँच र आयातकरको व्यवस्था व्यापारिक कारोबारबिना नै सहज ढङ्गले सञ्चालन हुन सकोस् भनेर स्थापना गरिएका हुन्।

नो-डीलको मतलब युरोपेली अदालत र युरोपोलजस्ता ईयूका संस्थाहरूबाट तत्काल बाहिरिनु पनि हो।

त्यसैगरी औषधिदेखि लिएर ट्रेडमार्कसम्मका क्षेत्रलाई नियमन गर्ने ईयूका दर्जनौँ प्रशासकीय निकायहरूको सदस्यताको पनि अन्त्य हुनेछ।

यूकेले ईयूको बजेटमा पनि आफ्नो योगदान दिनुपर्नेछैन। अहिले वार्षिक नौ अर्ब पाउन्ड जति ईयूले यूकेबाट पाउँदै आएको छ।

भूतपूर्व प्रधानमन्त्री टरिजा मेको सहमति प्रस्तावअनुसार (जुन प्रस्ताव संसद्‌मा तीन पटकसम्म अस्वीकृत भएको थियो) ब्रेक्जिट प्रक्रियाअन्तर्गत ब्रिटेन ईयूबाट बाहिरिएपछि २१ महिनाको सङ्क्रमणकालीन अवधि कायम रहने थियो।

त्यस्तो समय प्राप्त भएको भए हालको सम्बन्धको अवस्थालाई कायमै राख्‍दै नयाँ व्यापारिक सम्झौता गर्नका लागि दुवै पक्षलाई केही होलो हुने‍थियो।