परराष्ट्र नीति जोडिएका अभिव्यक्तिमा विवादमा तानिन्छन् प्रचण्ड

  • 12 सेप्टेम्बर 2019
प्रचण्ड तस्वीर कपीराइट twitter/cmprachanda

परराष्ट्र नीतिका संवेदनशीलता जोडिएका कतिपय विषयहरूमा कहिले वक्तव्य निकालेर त कहिले मौखिक अभिव्यक्ति दिएर प्रचण्ड पटक-पटक विवादमा तानिने गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हालै नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्रीसँगको भेटका क्रममा उनीसँग व्यक्त गरेको भनिएको अभिव्यक्तिले पुन: विवादमा परेका छन्।

गत मङ्गलवार बिहान प्रचण्डले चिनियाँ विदेशमन्त्री वाङ यीसँग राजधानी काठमाण्डूको एउटा होटलमा भेटवार्ता गरेका थिए।

त्यसक्रममा उनले 'नेपालले अमेरिकी नेतृत्वको इन्डो-प्यासिफिक रणनीतिलाई अस्वीकार गर्छ' भन्ने धारणा चिनियाँ विदेशमन्त्रीसँग व्यक्त गरेको विवरण सार्वजनिक भएपछि प्रचण्ड विवादमा तानिएका हुन्।

चिनियाँ विदेश मन्त्रालयले जारी गरेको एउटा वक्तव्यलाई उल्लेख गर्दै अङ्ग्रेजी दैनिक द काठमाण्डू पोस्टले बुधवार समाचार प्रकाशित गरेको थियो।

उक्त वक्तव्यमा उनले नेपालले इन्डो प्यासिफिक रणनीतिलाई अस्वीकार गर्ने र हङ्‍कङ चीनको आन्तरिक मामिला भएको बताएको उल्लेख गरिएको समाचारहरूमा जनाइएको छ।

तर उक्त भेटपछि संवाददाताहरूलाई दिएको प्रतिक्रियामा भने दाहालले त्यस्तो कुनै प्रसङ्ग उल्लेख गरेका थिएनन्।

प्रचण्डले उक्त भेटवार्ता दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा केन्द्रीत भएको बताएका थिए।

उनले भनेका थिए, "हामीले चीनको सहयोग मात्रात्मक मात्र नभई गुणात्मक हुने अपेक्षा गरेका छौँ।"

"यसले नेपालको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास लिएका छौँ। भेटका क्रममा विदेशमन्त्रीज्यू हामीले उठाएको विषयमा सकारात्मक बन्नु भएको छ।"

प्रचण्डले संवाददाताहरूलाई बताएको भन्दा भिन्न रूपले चिनियाँ विदेश मन्त्रालयले चिनियाँ भाषामा निकालेको वक्तव्यमा इन्डो प्यासिफिक रणनीतिको विषय परेपछि त्यसले तरङ्ग उत्पन्न गरेको हो।

त्यसबारे नेपालस्थित अमेरिकी दूतावासले चासो राखेको र नेपाल सकारलाई उक्त रणनीतिबारे आफ्नो धारणा स्पष्ट पार्न आग्रह गरेको समाचाहरू प्रकाशमा आएका छन्।

बिहीवार राजधानी काठमाण्डूबाट प्रकाशित हुने अखबारहरूले त्यसबारे अमेरिकाले बेइजिङस्थित आफ्नो दूतावासलाई बुझ्न लगाएको भन्दै समाचार लेखेका छन्।

यसअघि पनि भेनेजुएला प्रकरणमा विज्ञप्ती निकालेर प्रचण्ड यस्तै विवादमा परेका थिए।

प्रचण्ड किन परिरहन्छन् विवादमा?

विशेषगरि अमेरिका जोडिएको वा उसको नीति विपरित हुने अभिव्यक्ति दिएर पछिल्ला समयमा प्रचण्ड विवादमा तानिएका छन्।

विश्लेषकहरूका ठम्याइमा उनले कतिपय अवस्थामा हतार गर्दा र कतिपय बेलामा भने कूटनीतिक भाषा प्रयोग नगर्दा विवादमा फस्ने गरेका छन्।

पछिल्लो प्रकरणबारे भने कतिपय उनको पार्टी निकट मानिने विश्लेषकहरूले प्रचण्डले आफ्नो स्वत:स्फूर्त अभिव्यक्ति व्यक्त गरेका हुनसक्ने र चीनले त्यसमा संवेदनशीलता नदेखाएको जस्तो देखिएको बताएका छन्।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलका अनुसार चीनले यसपटक प्रचण्डको अभिव्यक्तिलाई आफ्नो हितमा प्रयोग गरेको जस्तो देखिएको छ।

उनी भन्छन्, "खासमा उनलाई चीनले प्रयोग गरेको त होइन तर उनले आफ्नो मनमा लागेको कुरा स्पष्ट रूपमा राखे, त्यसलाई चिनियाँले आफ्नो हितमा प्रयोग गरेको जस्तो लाग्छ।"

तर उनी प्रचण्डको धारणालाई नेपाल सरकारको आधिकारिक धारणा मान्न नसकिने बताउँछन्।

तस्वीर कपीराइट twitter/cmprachanda

सत्ताधारी दलका नेता भए पनि उनको अभिव्यक्ति फरक हुनसक्ने पोखरेलको तर्क छ।

उनी भन्छन्, "अहिलेका हकमा त सरकारले नै नेपाल इन्डो प्यासिफिक रणनीतिको साझेदार नेपाल नरहेको स्पष्ट गरिसकेकाले प्रचण्डले त्यही कुरा भनेका हुन्।"

"तर उनले अमेरिकाको प्रतिस्पर्धी मुलुकको विदेशमन्त्रीसँग त्यो कुरा गर्न हुन्थ्यो कि हुँदैन भन्ने चाहिँ हो।"

विश्लेषक हरि रोकालाई चाहिँ प्रचण्डले जानजान त्यस्तो अभिव्यक्ति दिएको जस्तो लागेको छ।

उनी भन्छन्, "पूर्वप्रधानमन्त्री भइसकेको मान्छेले चिनियाँ विदेशमन्त्रीसँग त्यसरी कुरा राख्नु भनेको विवादमा पर्नु नै हो।"

रोका गत वर्ष भएको नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अमेरिका भ्रणमका बेला भएको भेटमा त्यहाँका विदेशमन्त्रीले 'स्वतन्त्र र समृद्ध इन्डो प्यासिफिक'का लागि नेपालको केन्द्रीय भूमिका खोज्नु तर नेपाल फर्केपछि ज्ञवालीले त्यसलाई अस्वीकार गर्नुले चाहिँ प्रचण्डलाई त्यस्तो अभिव्यक्ति दिन प्रेरित गरेको हुनसक्ने बताउँछन्।

उनले भने, "अमेरिकाबाट इन्डो प्यासिफिकमा नेपालको केन्द्रीय भूमिका खोजेको कुरा आउनु नेपालका परराष्ट्रमन्त्रीले चाहिँ हामी इन्डो प्यासिफिकको हिस्सा होइनौँ भन्नुले पार्टीभित्र कतै छद्म काम त भएको छैन भन्ने प्रचण्डलाई परेको हुनसक्छ।"

"त्यही शङ्काले त्रसित भएर प्रचण्डले त्यस्तो अभिव्यक्ति दिएका हुनसक्छन्।"

अर्का विश्लेषक झलक सुवेदी चाहिँ प्रचण्डले सरकारकै धारणालाई दोहोर्‍याएकाले त्यस विषयले विवाद हुनुनपर्ने बताउँछन्।

तर प्रचण्डले भाषाको छनोट गर्दा कूटनीतिक भाषा प्रयोग गर्न नसकेकाले विवाद देखिएको हुनसक्ने उनको तर्क छ।

उनी भन्छन्, "उनले भाषा प्रयोग गर्दा के गरे भन्ने कुरा हुनसक्छ तर इन्डो प्यासिफिकबारे चीनले चासो राख्दा केही त बोल्नै पर्थ्यो।"

विश्लेषकहरू कतिपय प्रकरणमा नेपालका बहालवाला र भूतपूर्व उच्च पदाधिकारीहरूले सम्बन्धित क्षेत्रका विज्ञहरूसँग सरसल्लाह नगरि बोल्ने गर्दा पनि यस्तो परिस्थिति सिर्जना हुने गरेको बताउँछन्।

सम्बन्धित सामग्री