हम्जा बिन लादेन: ट्रम्पद्वारा अल-कायदा संस्थापक ओसामा बिन लादेनका छोराको मृत्यु भएको पुष्‍टि

  • 14 सेप्टेम्बर 2019
Hamza Bin Laden तस्वीर कपीराइट CIA
Image caption हम्जा बिन लादेन आफ्ना बुवाको स्थान लिनेगरी अल कायदाको नेताका रूपमा उदाइरहेको बताइएको थियो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अल-कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन वासिङ्टनको कारबाहीमा मारिएको पुष्‍टि गरेका छन्।

गत महिना गुप्तचर स्रोतहरूलाई उद्धत गर्दै अमेरिकी सञ्चारमाध्यमहरूले उनी हवाई हमलामा मारिएको जनाएका थिए।

अमेरिकाले उनलाई दुई वर्षअघि औपचारिक रूपमा विश्वका लागि खतरनाक आतङ्कवादीको सूचीमा राखेको थियो।

हम्जा बिन लादेन आफ्ना बुवाको स्थान लिनेगरी अल कायदाको नेताका रूपमा उदाइरहेको बताइएको थियो।

विज्ञप्‍ति

३० वर्षका बताइएका उनले पछिल्लो समय श्रव्यदृश्य सामग्रीमार्फत् अमेरिका र उसका पश्चिमा साझेदारसँग सन् २०११ मा मारिएका आफ्ना बुवाको हत्याको बदला लिनुपर्ने बताउँदै आएका थिए।

"अल-कायदाका बरिष्ठ सदस्य एवं ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन अमेरिकाले अफ्गानिस्तान/पाकिस्तान क्षेत्रमा गरेको प्रतिआतङ्कवाद कारबाहीमा मारिएका छन्," ह्वाइटहाउसद्वारा जारी गरिएको संक्षिप्त विज्ञप्तिमा ट्रम्पले भनेका छन्।

तर उक्त विज्ञप्तिमा कारबाही गरिएको समय भने खुलाइएको छैन।

गत फेब्रुअरीमा हम्जा बिन लादेनबारे सूचना दिनेलाई १० लाख अमेरिकी डलरसम्म पुरस्कार दिने वासिङ्टनले बताएको थियो।

हम्जाले अबर प्राय:द्वीपका जनतालाई विद्रोह गर्न आह्वान गरेका थिए।

साउदी अरेबियाले भने गत मार्च महिनामा उनको नागरिकता खोसेको थियो।

अनुमान

उनी कहाँ छन् भन्नेबारे फरकफरक अनुमान पाइने गरेका थिए।

त्यसअघि उनी इरानमा घरभित्रै नजरबन्दमा राखिएको ठानिएको थियो।

तर अन्य समाचारहरूमा उनी अफगानिस्तान, पाकिस्तान र सिरियामा पनि बसेको हुन सक्ने समेत जनाइएको थियो।

कसैले उनी आफ्नी आमासँग थुप्रै वर्ष इरानमा बसे र त्यहीँ नै उनको विवाह समेत भयो भन्ठान्छन्।

अर्काथरीको अनुमान भने उनी पाकिस्तान, अफगानिस्तान वा सिरियामा कतै लुकेर बसेका थिए भन्ने थियो।

उदाउँदा

सन् २०११ मा पाकिस्तानस्थित ओसामा बिन लादनेको निवासमा छापा मार्दा बरामद गरिएका दस्ताबेजहरूले हम्जालाई अल-कायदाको नेतृत्व सम्हाल्नेगरी उनलाई तयार पार्दै गरेको देखाएको अमेरिकी विदेश मन्त्रालयको भनाइ छ।

तस्वीर कपीराइट Getty Images
Image caption ओसामा बिन लादेन

उनको विवाह अमेरिकाको ट्विन टावरमा ठोक्याइएका विमानमध्ये एउटाको अपहरण गर्ने मोहम्मद आटाकी छोरीसँग भएको बताइएको थियो।

अल-कायदा सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको भीषण आक्रमण हमलामा जिम्मेदार समूह हो।

तर पछिल्लो दशकमा इस्लामिक स्टेटको बढ्दो प्रभावसँगै अल-कायदाको उपस्थिति कमजोर बनेको आकलन गर्ने गरिन्छ।