हेलिकप्टर आपत्‌कालीन अवतरणबारे उड्डयन प्राधिकरणको प्रश्न

  • 17 सेप्टेम्बर 2019
हेलिकप्टर आपतकालीन अवतरण तस्वीर कपीराइट RSS

लुक्लामा अलपत्र परेका पर्यटकहरूलाई लिएर उडेका नौवटा हेलिकप्टरहरू काठमाण्डू छिर्ने क्रममा मौसम बिग्रिएपछि विभिन्न जिल्लामा आपत्‌कालीन अवतरण गरिएको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले पाइलटहरूसँग प्रश्न सोधेको छ।

बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै प्राधिकरणका महानिर्देशक राजन पोखरेलले प्रश्न सोध्नुको अर्थ उनीहरूले गरेको अवतरणमाथि प्रश्न उठाउनु नभइ भविष्यमा थप सजग रहन सुझाव दिनु रहेको बताएका छन्।

सोलुखुम्बु, रामेछाप, सिन्धुली र काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न ठाउँमा रोकिएका ती सबै हेलिकप्टर अहिले काठमाण्डू आइसकेको वायुसेवा सञ्चालक सङ्घ-नेपालले जनाएको छ।

मौसमको खराबी

मौसमको खराबीका कारण सगरमाथा क्षेत्रको प्रवेशद्वार मानिने लुक्ला विमानस्थल मङ्गलवार पनि नखुलेपछि हेलिकप्टरहरूले केही तलको उचाइमा पर्ने सुर्केबाट उडान गरेका थिए।

झन्डै तीन हजार मिटरको उचाइमा रहेको लुक्लाबाट उड्दा डाँडा काट्नुपर्ने भएकाले हेलिकप्टरहरू दुधकोशी खोला पछ्याउँदै सुर्केबाट उडेका थिए।

मङ्गलवार गरिएका अवतरण सुरक्षाका दृष्टिले पाइलटहरूको सही निर्णय भएपनि उनीहरूलाई भविष्यमा यस्तो बेला थप सचेत हुन भनिएको प्राधिकरणका महानिर्देशक पोखरेलले बताए।

पोखरेलले भने: "पाइलटहरूले आज जे गरे त्यो सही निर्णय थियो।"

"तर 'पोस्ट मनसुन'जस्तो अहिलेको अवस्थामा भविष्यमा यस्तो जोखिम उठाउनु हुँदैन भनेर हामीले सचेत गरायौँ। किनकि विगतमा यस्तो मौसमको बेला धेरै दुर्घटनाहरू भएका छन्।"

हेलिकप्टर उडानका लागि एक हजार पाँच सय मिटर र जहाजका लागि पाँच किलोमिटरसम्म 'भिजिबिलिटी' चाहिने भएपनि लुक्लामा त्यो निकै कम रहेको बताइएको थियो।

लुक्लामा चाप

शनिवारदेखि लुक्ला विमानस्थलमा उडान हुन नसकेपछि त्यहाँका होटलमा भार परेको व्यवसायीहरूले बताएका छन्।

सल्लेरीस्थित बीबीसी संवाददाता सुजता तामाङ् भन्छिन्, "वर्षमा थुप्रै दिन मौसमी प्रतिकूलताका कारण लुक्ला विमानस्थल बन्द हुन्छ।"

"तर त्यहाँ अझै सडक सञ्जाल नजोडिएकाले पर्यटकहरूले बारम्बार सास्ती खेप्नेगरेका छन्।"

"अहिले वर्षाको समय भएकाले लुक्लाबाट पैदल हिँडेर सदरमुकाम सल्लेरी आउन समेत तीनदिन लाग्छ।"

मङ्गलवार बिहान ७ बजेतिर केहीबेर मौसम सफा हुँदा लुक्लामा रोकिएका दुईवटा हेलिकप्टर र रूम्जाटारबाट आएका आठवटा हेलिकप्टरले खुम्बु पासाङल्हामु गाउँपालिकाको सुर्केबाट ५० भन्दा बढी पर्यटकहरु काठमाण्डू लगेका थिए।

अधिकारीहरूका अनुसार आपत्‌कालीन अवतरणहरू गरिनुअघि बिहान ती हेलिकप्टरहरूले केही उडान पूरा गरेका थिए।

वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष पवित्र कार्कीले यी अवतरणहरू सुरक्षा मापदण्ड पालना गर्ने क्रममा भएका सामान्य उड्डयन अभ्यास भएकोले ठूलो घटनाका रूपमा हेर्न नहुने बताए।

कुहिरोभित्र नछिर्ने रणनीति

तस्वीर कपीराइट RSS

विगतमा भएका दुर्घटनाहरूलाई आधार मान्दै कुहिरोभित्र छिरेर कुनै पनि अवस्थामा हेलिकप्टर उडान नगर्ने रणनीतिको रूपमा मङ्गलवार त्यसो गरिएको कार्की बताउँछन्।

कार्कीले भने: "कुहिरोभित्र छिरेपछि रूख र डाँडाकाँडामा ठोकिएका विगतका नमीठा अनुभव छन्।"

"कुहिरोमाथि गएको अवस्थामा अवतरण गर्ने ठाउँ भेट्न गाह्रो भएकाले हामीले थोरैमात्र पनि शङ्का लागेमा नजिकैको सुरक्षित ठाउँमा अवतरण गर्न भनेका छौँ।"

युरोपेली सङ्घ ईयूको हवाई प्रतिबन्ध सूचीमा नेपाल अझै रहिरहनुमा नेपाली हेलिकप्टरहरूको 'खराब रेकर्ड' लाई प्रमुख कारण मानिएको अधिकारीहरूले बताएका थिए।

सन् २०१० यता मात्रै नेपालमा १३ वटा हेलिकप्टर दुर्घटना भएका छन्।

सम्बन्धित समाचार