स्वास्थ्यमन्त्रीप्रति सांसदहरू आक्रोशित, डेङ्गी सङ्कटलाई बेवास्ता गरेर विदेश घुमेको आरोप

  • 18 सेप्टेम्बर 2019
उपेन्द्र यादव तस्वीर कपीराइट RSS

देशका विभिन्न भागमा फैलिएको डेङ्गी रोग नियन्त्रण उन्मुख रहे पनि वास्तविकताभन्दा बढी आतङ्क सिर्जना भएको उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बताएका छन्।

लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीको बढ्दो सङ्क्रमणबारे सांसदहरूले पटकपटक प्रश्न उठाएपछि उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रतिनिधिसभाको बुधवारको बैठकमा त्यस्तो जानकारी गराएका हुन्।

उपप्रधानमन्त्री यादवले सङ्क्रमण कम हुँदै नियन्त्रणउन्मुख भएको विवरण प्रस्तुत गरेका थिए।

मन्त्रीले के भने?

उपप्रधानमन्त्री यादवले अहिलेसम्म करिब पाँच हजार एक सयजनालाई डेङ्गीको संक्रमण भएको र छ जनाको मृत्यु भएको जानकारी दिए।

"डेङ्गी रोग विस्तारै नियन्त्रणतर्फ छ। आपत्‍कालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था छैन। बढी आतङ्कित भएर पनि यो रोग ठूलो देखिएको हो।"

तस्वीर कपीराइट AFP
Image caption डेङ्गी भाइरस सार्ने लामखुट्टेले प्राय: मानिसलाई दिउँसो टोक्छ

मन्त्रीको दाबीप्रति सत्ताधारी नेकपाकै सांसद अमनलाल मोदी समेतले अविश्वास व्यक्त गर्दै प्रश्न उठाएका थिए।

उपप्रधानमन्त्री यादवले भने भदौ २३ गतेसम्म अस्पताल आउने बिरामीको तथ्याङ्कलाई आधार मानेर उक्त दाबी गरेको जवाफ दिए।

तथ्याङ्क अद्यावधिक नगरिएकोमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले प्रश्न उठाए पनि उपप्रधानमन्त्रीले त्यसको जवाफ दिएनन्।

विगतमा सांसदहरूले स्वास्थ्य आपत्‍काल घोषणाको खाँचो औंल्याएका थिए।

Image caption डेङ्गी सङ्क्रमण रोक्ने मुख्य उपाय भनेको लामखुट्टे नियन्त्रण हो

मन्त्रीले भने बढी प्रभावित सूदुरपश्चिम, गण्डकी र प्रदेश नम्बर ३ मा उच्चस्तरीय विज्ञहरूको टोली परिचालन गरिएको बताएका थिए।

आलोचना

रोग नियन्त्रणको निम्ति उपप्रधानमन्त्री यादवले सरकारले गर्नुपर्ने सबै प्रयास गरिरहेको बताए पनि उनले विगतमा जस्तै सांसदहरूको चर्को आलोचना खेप्नु पर्‍यो।

देशमा डेङ्गीको सङ्क्रमण व्यापक रूपमा बढ्दै गएका बेला उनले बारम्बार विदेश भ्रमणमा मोह देखाएको सांसदहरूको आरोप थियो।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
डक्टर यादव र डक्टर पुन

नेपाली कांग्रेसकी सांसद पार्वता डीसी चौधरीले भनिन्: "वहाँ विदेश मात्र घुमिरहनु भएको छ र असोज १ गते आएर जनतलाई संसद्‍मार्फत् जानकारी दिने काम जनताप्रतिको अपमान हो। वहाँ फेरि विदेश जाँदै हुनुहुन्छ... घुमिरहनुस्!"

आक्रोशित रूपमा प्रस्तुत भएका सत्ताधारी नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले संसद्‍मा थुप्रैपटक डेङ्गीको कुरा उठ्दा समेत मन्त्रीले त्यसलाई मतलब नगरेको तर मुलुकमा सङ्कट हुँदा विदेश मोहमा परेको आरोप लगाए।

उपप्रधानमन्त्री यादव ती विषयमा भने प्रवेश नै गरेनन्।

तर कतिपय सांसदहरू समस्यासँग कम परिचित रहेको भन्दै सर्वसाधारणको स्वास्थ्यसँग जोडिएको महत्वपूर्ण विषयमा उपप्रधानमन्त्री र उनीहरूबीचको प्रश्नोत्तर फितलो रहेको एकथरीको टिप्पणी छ।

सम्बन्धित सामग्री