अस्ट्रेलियाको टीभीमा रजस्वला हुँदाको रगत देखाउने विज्ञापन नियमसम्मत भएको ठहर

  • 19 सेप्टेम्बर 2019
अष्ट्रेलिया तस्वीर कपीराइट ASALEO CARE

रजस्वला हुँदा आएको रगत भएको दृश्य समाविष्ट विज्ञापन नियमसम्मत रहेको र त्यसले प्रसारणको मापदण्ड उल्लङ्घन नगरेको निष्कर्ष अस्ट्रेलियाको टेलिभिजन नियमनकारी निकायले निकालेको छ।

महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याड उत्पादन गर्ने कम्पनी लिब्राले गत महिना उक्त विज्ञापन अस्ट्रेलियाली टेलिभिजनमा प्रसारण गरेको थियो। विज्ञापनमा रगत लागेको कट्टु र एउटी महिलाका खुट्टा देखाइएको थियो।

दर्शकहरूले उक्त विज्ञापन अनुपयुक्त रहेको भन्दै ६०० वटा उजुरी गरेका थिए। अस्ट्रेलियामा यो वर्ष कुनै विज्ञापनविरुद्ध परेको उजुरीको यो सर्वाधिक सङ्ख्या हो।

तर त्यहाँको विज्ञापन उद्योग नियमन गर्ने निकायले ती उजुरी खारेज गर्दै विज्ञापनले दिन खोजेको सन्देशको प्रशंसा गरेको छ।

भ्रम हटाउने उद्देश्य

एड स्ट्यान्डर्ड्सले उक्त अभियानले "समानतालाई प्रवर्धन गरेको र महिनावारीसँग जोडिएका भ्रमलाई चिरिरहेको" देखिएको बताएको छ।

लिब्राको माउ कम्पनी एसेलियो केअरले महिनावारी हुँदा महिला तथा किशोरीहरूले खेप्ने गरेको लज्जाको अनुभूति र गलत विश्वासलाई उक्त विज्ञापनले सम्बोधन गरेको प्रतिक्रिया दिएको छ।

उक्त विज्ञापनमा यी वाक्य पनि लेखिएका थिए: "महिनावारी सामान्य कुरा हो। महिनावारी भएको देखाउनु पनि त्यस्तै हुनुपर्छ।"

तर उजुरीकर्ताहरूले विज्ञापनको प्रस्तुति "अपमानजनक र अनुपयुक्त" र "घिनलाग्दो" भएको तर्क गरेका थिए।

तस्वीर कपीराइट ASALEO CARE

त्यसको उत्तरमा अस्ट्रेलियाको नियमनकारी निकायले केही दर्शकहरूले शरीरबाट महिनावारीको बेला निस्कने पदार्थ हेर्न नचाहेको तर उक्त विज्ञापनले आचारसंहितालाई नमिचेको जनाएको छ।

उक्त निकायले टीभी बढी हेरिने समयमा त्यस्तो विज्ञापन देखाइनु वा बालबालिकाका लागि उक्त विज्ञापन अनुपयुक्त भएको तर्कको खण्डन गरेको छ।

आफ्नो प्रतिवेदनमा नियामकहरूले उक्त विज्ञापनमा कुनै पनि नकारात्मक शब्द वा चित्र नरहेको उल्लेख गरेका छन्।

प्याडमा रगत देखाउन नीलो रङ्ग

त्यो विज्ञापनले रजस्वला हुने विषयमा लज्जित हुनुपर्ने वा रजस्वला भएका महिलालाई अन्य व्यक्तिभन्दा कम आँक्ने आशयको सन्देश नदिएको पनि नियमनकारी निकायको निष्कर्ष छ।

एसेलिओ केअरले उक्त विज्ञापनको सम्बन्ध आफ्नो भगिनी कम्पनी एसीटीको #BloodNormal अभियानसँग भएको जनाएको छ।

उक्त अभियानमा नीलो नभई रातो तरल पदार्थको दाग स्यानिटरी प्याडमा देखाइएको थियो।

सन् २०१७ मा यूकेबाट आरम्भ भएको उक्त अभियान युरोप, अमेरिका र दक्षिण अफ्रिकासम्म फैलियो।

त्यसको छ वर्षअघि अल्वेज नामक कम्पनीले पहिलो पटक महिनावारीमा प्रयोग गरिने प्याडमा रातो थोप्ला राखेर विज्ञापन बनाएको थियो।

उक्त फर्मको विज्ञापन एजेन्सीमा प्रशिक्षार्थीका रूपमा काम गरिरहेका लिओ ब्राउनले त्यो उपाय सुझाएका थिए। उक्त अभियान सन् २०११ मा चलाइएको थियो।