अमेरिकी विदेशमन्त्री भन्छन्, 'साउदी तेल केन्द्रमा भएका आक्रमण युद्धको कदम'

  • 19 सेप्टेम्बर 2019
साउदी तेल खानी र प्रशोधन केन्द्रमा आक्रमण गर्न प्रयोग भएका हतिहार तस्वीर कपीराइट AFP

साउदी तेल खानी र प्रशोधन केन्द्रमा भएका आक्रमणलाई "युद्धको कदम" को सङ्ज्ञा दिँदै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले साउदी अरबसँग तिनको रक्षा गर्ने अधिकार भएको बताएका छन्।

अमेरिकाले शनिवार भएका आक्रमणमा इरानको संलग्नता भएको आरोप लगाउँदै आएको छ। ती आक्रमणमा प्रयुक्त ड्रोन र क्रूज क्षेप्यास्त्रका भग्नावशेष देखाउँदै साउदी सरकारले पनि इरानमाथि नै औँला ठड्याएको छ।

ती आक्रमणको कसरी प्रतिक्रिया दिने भनेर अमेरिकासँग धेरै विकल्प भएको ट्रम्पले बताएका छन्।

साउदी राजकुमार मोहमद बिन सलमानलाई भेटेपछि पोम्पेओले इरानका कदमहरू सहन नसकिने बताएका हुन्।

इरानको सन्दर्भमा माइक पोम्पेओ निकै आक्रामक देखिन्छन्। उनी राष्ट्रपति डोनल्ड ट्रम्पभन्दा पनि कठोर विचार राख्ने गर्छन्।

तर बुधवार जेद्दाहमा अवतरण गर्नेबित्तिकै पोम्पेओले शनिवारका आक्रमणलाई युद्धसँग तुलना गरेका थिए।

इरानसंलग्नभएको दाबी

पोम्पेओले शनिवारको घटनाले विश्वव्यापी इन्धन आपूर्तिलाई जोखिममा पारिदिएको बताए।

साउदी अरबलाई तेल र ग्यास उत्पादन कटौती गर्न बाध्य हुनेगरी भएका आक्रमणमा १८ वटा ड्रोन र सातवटा क्षेप्यास्त्र हानिएको साउदी रक्षा मन्त्रालयले बताएको छ।

तस्वीर कपीराइट Reuters

इरानको समर्थनप्राप्त यमनका हूथी विद्रोहीले ती आक्रमण आफूले गरेको दाबी गरेका छन्।

तर साउदी अरबले ती अस्त्र यमनतिरबाट नभएर अर्कै दिशाबाट आएको दाबी गरेको छ।

बुधवार आयोजित पत्रकार सम्मेलनमा रक्षा मन्त्रालयका प्रवक्ताले ती प्रमाणले आक्रमणहरू उत्तर दिशाबाट भएका र तिनलाई "निस्सन्देह इरानले प्रायोजित गरेको" दाबी गरे।

तर इरानले आफू ती आक्रमणमा संलग्न नभएको दाबी गर्दै आएको छ।

बीबीसीका प्रतिरक्षा तथा कूटनीतिक संवाददाता जोनाथन मार्कस भन्छन्, "साउदी अरबको सैन्य ब्रिफ्रिङमा चार्ट र आक्रमणमा प्रयोग गरिएका सामग्रीको भग्नावशेष प्रयोग गरिएको भए पनि तिनले सबैभन्दा मूल प्रश्नलाई खासै सम्बोधन गरेनन्।"

हूथीहरूले आफ्नो संलग्नताबारे अस्वाभाविक दाबी गरेको तर्क गर्दै पोम्पेओले तिनको अस्त्रभण्डारमा हुँदै नभएको अस्त्र साउदी अरबविरुद्ध प्रयोग भएको बताए।

"यदि हूथीहरूको 'मिथ्या दाबी' सत्य नै हो भने पनि त्यसले संसारभरि इन्धन आपूर्तिलाई जोखिममा पार्ने [इरानका नेता]आयातोल्लाहको संलग्नता फेरिँदैन।"

चेतावनी

उसोभए के साउदी तेल प्रशोधन केन्द्रमा हमला गर्न प्रयोग गरिएका ती अस्त्रहरू इरानी भूमिबाटै प्रहार गरिएका थिए त?

मार्कसका अनुसार अस्पष्ट नै रहनेगरी केवल ती अस्त्र उत्तरबाट प्रहार गरिएको मात्रै भनिएको छ।

इरानले बुधवार साउदी अरबले लगाएको आरोपबारे आधिकारिक प्रतिक्रिया दिएको छैन।

तर उसले आफ्नो संलग्नता अस्वीकार गर्दै आफूलाई आक्रमण गरिए प्रतिकार गर्ने चेतावनी दिएको छ।

यही प्रसङ्गमा ट्रम्पले भनेका छन्, "अहिले पनि हामीसँग अन्तिम विकल्प र त्योभन्दा अलिक तल्लो स्तरका अरू धेरै विकल्प छन्। हामी शक्तिशाली अवस्थामा छौँ र के गर्ने विचार गरिरहेका छौँ।"