अफगानिस्तान द्वन्द्व: तालिबानको भीषण हमलामा अस्पताल 'ध्वस्त', कम्तीमा २० जनाको मृत्यु

  • 19 सेप्टेम्बर 2019
दक्षिणी अफगानिस्तानको एउटा अस्पतालबाहिर विस्फोटन तस्वीर कपीराइट Reuters

तालिबान विद्रोहीहरूले दक्षिणी अफगानिस्तानको एउटा अस्पतालबाहिर विस्फोटन गराउँदा कम्तीमा २० जना मानिसको मृत्यु भएको छ।

सो घटनामा विस्फोटक पदार्थले भरिएको एउटा ट्रक प्रयोग भएको रक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारीले राजधानी काबुलमा समाचार संस्था रोएटर्सलाई बताएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार कालात सहरमा भएको उक्त विस्फोटनमा हताहत हुनेमध्ये धेरैजसो चिकित्सक र बिरामीहरू छन्।

त्यसैगरी पूर्वी अफगानिस्तानमा इस्लामिक स्टेट लडाकुहरूप्रति लक्षित अर्को एक हवाई आक्रमणमा कम्तीमा १६ सर्वसाधारण नागरिकको ज्यान गएको बताइएको छ।

गत महिना कम्तीमा ४७३ नागरिकहरूले विभिन्न घटनामा परेर ज्यान गुमाएको विवरण बीबीसीको एउटा खोजले देखाएको छ।

अगस्ट महिनामा कम्तीमा २३ सय सात जनाले ज्यान गुमाएको पुष्टि भएको छ। ज्यान गुमाउने पाँच जनामध्ये एक जना गैरसैनिक रहेका छन्।

दुई हमला

उक्त अस्पताल जाबुल प्रान्तको प्रमुख स्वास्थ्य संस्था रहेको बताइएको छ।

तालिबानले भने त्यस हमलामा आफूहरूले अस्पताल नजिकै रहेका भनिएका सरकारी गुप्तचरहरूलाई निशाना बनाउन चाहेको बताएको छ।

अधिकारीहरूले उक्त घटनामा झण्डै एक सय मानिसहरू घाइते भएको बताएका छन्।

घटनास्थलमा रहेकाहरूले भग्नावशेषबाट महिला र बालबालिकाहरू झिकिएको देखेको बताएका छन्।

त्यसैगरी बुधवार रातीको हवाई हमला नाङ्गहार प्रान्तमा आइएस लडाकुहरूलाई लक्षित गरिएको अफगान रक्षा मन्त्रालयले जनाएको रोएटर्सले लेखेको छ।

नाङ्गहारका सुरक्षा अधिकारीहरूले भने खेतमा काम गरिरहेका १५ जना नागरिकहरूको मृत्यु भएको बीबीसीलाई बताएका छन्।

अधिकारीहरूका अनुसार हमला हुँदा ती श्रमिकहरू आगो बालेर एकै ठाउँ बसेका थिए।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
अफगान युद्धमा ज्यान गुमाउने को हुन्?

सम्बन्धित सामग्री