गणतन्त्रको दशैँमा 'राजतन्त्रका अवशेष'

  • 11 अक्टोबर 2019
गणतन्त्रमा दशैँ तस्वीर कपीराइट RSS
Image caption प्रधानमन्त्री र प्रधानमन्त्री पत्नीलाई टीका लगाइदिँदै राष्ट्रपति भण्डारी

राजतन्त्र कालमा दशैँका बेला प्रचलित 'सामन्ती संस्कृति'लाई मलजल गर्ने खालका कुराहरूलाई राजनीति हाक्नेहरूले गणतन्त्रमा पनि जस्ताको तस्तै अपनाउनुलाई उनीहरूले गणतन्त्र र धर्म निरपेक्षताको मर्म बुझ्न नसकेको रूपमा कतिपय विश्लेषकले बताएका छन्।

तर अर्काथरी विज्ञहरूले चाहिँ सांस्कृतिक प्रचलनलाई 'सामन्तवादी व्यवस्था' भन्न नमिल्ने तर्क गरेका छन्।

विशेषतः दशैँका बेला राष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तिहरूले टीका लगाइदिने चलनलाई कतिपयले 'सामन्ती संस्कार'का रूपमा अर्थ्याइरहेका छन्।

तर राष्ट्रपतिका एकजना सल्लाहकारले त्यसको खण्डन गरेका छन्।

गत वर्षको दशैँमा राष्ट्रपति कार्यालयबाट सार्वजनिक भएको एउटा तस्बिरका कारण राष्ट्रपति विद्यादेवी भण्डारी विवादमा तानिएकी थिइन्।

विजयादशमीका दिन राष्ट्रपति भण्डारीले टीका लगाइदिँदै गरेको उक्त तस्बिरमा पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले घुँडा टेकेर टीका लगाइरहेको देखिन्थ्यो।

उक्त तस्बिरबारे त्यसबेला व्यापक रूपमा नकारात्मक टिप्पणी मात्र भएन, धेरैले गणतन्त्रमा पनि राजतन्त्र कालकै 'धङ्धङ्गी' बाँकी रहेको भन्दै सरकारको आलोचना समेत गरे।

गत वर्षको घटना

उनले टीका लगाइदिएका केही तस्बिरहरू दशैँको टीका लगत्तै 'भाइरल' भएका थिए र सामाजिक सञ्जालमा यो विषय केही सातासम्म चर्चामा रहेको थियो।

दशैँमा राजतन्त्र कालमा राजाले लगाइदिने जस्तै गरी राष्ट्रपति, प्रधानमन्त्रीलगायतले टीका लगाइदिने चलनको धेरैले आलोचना गरिरहेका छन्।

तस्वीर कपीराइट RSS
Image caption सर्वसाधारणलाई टीका लगाइदिँदै प्रधानमन्त्री ओली

अझ कम्युनिस्ट राजनीतिबाट सत्तामा आएकाहरूले त्यसो गर्नुलाई धेरैले निको मानेका छैनन्।

कुर्सीमा बसेकी राष्ट्रपतिसँग अरू विशिष्ट अधिकारी र पूर्वविशिष्ट पदाधिकारीले घुँडा टेकेर र झुकेर टीका लगाएको दृश्यलाई त्यसबेला धेरैले 'अशिष्ट र अमर्यादित कार्य'का रूपमा अर्थ्याएका थिए।

त्यसो हुनुको पछाडि राष्ट्रपति कार्यालयबाटै सार्वजनिक तस्बिरमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही विशिष्ट पदाधिकारीका लागि चाहिँ कुर्सीको व्यवस्था गरिनु र अन्यलाई हटाइनुलाई धेरैले कारण मानेका थिए।

गणतन्त्र नेपालमा राजतन्त्रकालमा भन्दा पनि बढी विभेद र पक्षपात गरिएको रूपमा धेरैले त्यसलाई लिएका थिए। राष्ट्रपतिका सल्लाहकारहरूले भने उक्त घटनाको बचाउ गरेका थिए।

उनीहरूले नेपाली सेनाका अधिकारीहरू आएपछि सैनिक मर्यादाका हिसाबले कुर्सीहरू हटाइएको र त्यसपछि ध्यान नपुग्दा त्यस्तो भएको बताएका थिए।

यस पटक भने टीकाका विषयमा त्यस्ता विवादहरू सार्वजनिक भएका छैनन्।

चलन

पछिल्ला वर्षहरूमा राष्ट्रपतिसहित प्रधानमन्त्री, राजनीतिक दलको नेतृत्व गर्नेहरूले समेत दशैँमा सर्वसाधारण र कार्यकर्तालाई टीका लगाइदिने गरेको देखिन थालेको छ।

त्यसलाई कतिपय विश्लेषकहरू चाहिँ दशैँको बहानामा गणतान्त्रिक नेताहरूले 'राजतन्त्र र सामन्तवादको परम्परालाई निरन्तरता दिएको' ठान्छन्।

त्यस्तैमध्येका एक राजनीतिक विश्लेषक झलक सुवेदी भन्छन्, "यो भनेको भिन्नभिन्न मठ बनाउने र आफूलाई चाहिँ शक्तिपीठ वा पीठाधीश ठानेर हिड्ने चेतना हो। यो एकदमै डरलाग्दो र खतरनाक चेतना हो।"

उनका अनुसार राजतन्त्रका बेला कुनैकुनै परम्परा र संस्कृति धान्न राष्ट्र प्रमुखको उपस्थिति र सहभागीतालाई महत्त्व दिने गरिएको थियो।

त्यो गणतन्त्रकालमा राष्ट्रपतिमा सर्नुलाई नाजायज भन्न नमिल्ने तर त्यसलाई शक्ति प्रदर्शनको औजार बनाइन थाल्नु गलत भएको उनको तर्क छ।

एकजना संस्कृतिविद् डा. गोविन्द टण्डन भने राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च पदमा आसीन व्यक्तिहरूले संस्कृति र परम्पराका लागि कतिपय कुराको निरन्तरता दिनुपर्ने आवश्यकता भए पनि बढ्दो विकृति कम गर्नुपर्ने बताउँछन्।

उनी राजतन्त्रकालका कतिपय परम्परालाई परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याउँछन्।

संस्कृतिको निरन्तरता र विकृतिको अन्त्य

टण्डन भन्छन्, "कतिपय विषयमा हिजो राजा महाराजाहरूले गरेका कुराहरूलाई गाली गर्ने चलन थियो अब आज उहाँहरूले ठ्याक्कै त्यो कुरालाई निरन्तरता दिइरहनुभएको छ। त्यसमा समय अनुसार परिवर्तन पनि गर्नुपर्ला।"

उनी संस्कृतिको नाममा गणतन्त्र कालमा पनि पुरानै कुरालाई दोहोर्‍याउनु नहुनेमा जोड दिन्छन्।

"संस्कृतिको निरन्तरता दिने तर विकृतिलाई हटाउने तिर लाग्नु भयो भने त्यसले नेपालको हित गर्छ," उनी भन्छन्।

सरकारी अधिकारीहरूले भने शक्ति केन्द्रित गर्न वा कुनै फाइदाका लागि राष्ट्रपति वा प्रधानमन्त्रीले टीका लगाइदिनेलगायतका कुराहरू नगरेको तर्क गरेका छन्।

उनीहरूले पहिलेका कतिपय कुराहरूमा परिवर्तन समेत गरिएको बताए।

खण्डन

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेल भन्छन्, "राज्यका विभिन्न ओहोदामा बसेकाहरू र अन्यले पनि टीका लगाउने चलन छ, यो संस्कृतिको रूपमा विकास भएको छ। त्यसै क्रममा गणतन्त्र आएपछि पनि टीका लगाउने कुरालाई निरन्तरता दिएका छौँ।"

तस्वीर कपीराइट RSS
Image caption बालुवाटारमा टीका लगाउनेको भिड

उनले गणतन्त्रको पहिलो राष्ट्रपतिले पनि त्यो संस्कारलाई कामय राखेको र अहिले पनि जारी रहेको बताए।

उनले भने, "तर टीका लगाउन कसैलाई पनि उर्दी जारी गरिएको छैन र हिजो राजाकहाँ जानै पर्छ भन्ने अनिवार्यता थियो आज त्यस्तो छैन।"

उनले देश धर्मनिरपेक्ष भएकाले त्यसलाई ख्याल गरेर राष्ट्रपति विभिन्न धर्मका चार्डपर्वमा जाने गरेको बताए।

त्यसले गर्दा दशैँमा टीका लगाएको आधारमै कसैले पनि राष्ट्रपति वा अन्य उच्च अधिकारीहरूलाई विवादमा तान्नु उपयुक्त नभएको प्याकुरेलको तर्क छ।

दशैँमा राज्यको उच्च ओहोदामा रहेकाहरूले टीका लगाइदिने विषयमा पटक पटक विवाद देखिने गरेका बेला कतिपयले चाहिँ देश धर्मनिरपेक्ष बनिसकेकाले परम्पराका नाममा पनि यसलाई निरन्तरता दिनु जरुरी नभएको बताउने गरेका छन्।

अर्काथरि विश्लेषकहरू चाहिँ गणतन्त्रमा नेता वरिष्ठ र कार्यकर्ता वा सर्वसाधारण कनिष्ठ भन्ने नै नहुने भएकाले आफूभन्दा गन्यमान्यबाट टिका लगाउने दशैँ परम्परा धान्न नेताहरूकहाँ कसैले धाउनु पनि गलत भएको तर्क गर्छन्।