दशैँको टीका: व्यक्तिको ट्रेडमार्क कि उपासनाको प्रमाण

  • 8 अक्टोबर 2019
दशैँको टीका
Image caption सेतो र रातो टीका लगाएका महिलाहरू

बहुसङ्ख्यक नेपालीहरूको सबैभन्दा ठूलो पर्व दशैँ सबै स्थानमा एकै तरिकाले मनाउने नगरिएको नेपाली संस्कृतिका जानकारहरू बताउँछन्।

मत, स्थान, जाति र भाषा समूह अनुसार दशैँ मान्ने आ-आफ्नै तरिकाहरू रहेको उनीहरू बताउँछन्।

दशैँमा टीका लगाउने चलन भने लगभग सबैजसो क्षेत्र र समुदायमा रहेको उनीहरू बताउँछन्।

तर सबैले दशैँमा एकै खाले टीका लगाउँदैनन्। अनि, सबै स्थानमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म पाँच दिन नै मान्यजनबाट टीका लगाउने चलन पनि छैन।

दशैँको टीकासँगै आशीर्वाद दिँदा प्रयोग हुने श्लोकका विशेषता

चाडपर्वका बेला महिलामाथि हुने कामको बोझ यसरी घटाउन सकिन्छ

नेपाली धर्म र संस्कृतिका अध्येताहरूका अनुसार जाति, भाषा र स्थान अनुसार विभिन्न समुदायले दशैँमा रातो, सेतो, पहेँलो र कालोमा रातो मिसिएको टीका लगाउने गरेको छन्।

पछिल्ला दशकमा दशैँमा लगाइने टीकाको रङ्‌गलाई लिएर विभिन्न खाले राजनीतिक अभियानहरू चल्न थालेका छन्।

कसैले दशैँ नै बहिष्कार गर्ने त कसैले रातो टीका बहिष्कार गर्ने आह्वान पनि गर्ने गरेका छन्।

'राजनीतिक आग्रहमा' यस्ता आह्वानहरू गरिए पनि सांस्कृतिक अध्ययन र अनुसन्धान नगरिएकाले ती तथ्यमा आधारित नभएको कतिपय संस्कृतिविद्हरूको तर्क छ।

यस्ता आह्वानकर्ताहरूले चाहिँ नेपालमा राजतन्त्रात्मक व्यवस्थाका बेला हिन्दू धर्म र दशैँको परम्परा कतिपय समूहमाथि जबरजस्ती थोपरिएको तर्क गर्ने गरेका छन्।

तर संस्कृतिविद्हरू भन्छन्, "नेपाली समाजको विविधता हेर्दा दशैँ परम्परा थोपरिएको भन्दा पनि एक अर्को समुदायमा धेरै कुराहरू मिसमास भएको जस्तो देखिन्छ।"

उनीहरू दशैँमा लगाइने फरक रङ्‌गका टीकाहरूको छुट्टाछुट्टै अर्थ रहेको बताउँछन्।

टीका: ट्रेडमार्क कि आस्था प्रकट गर्ने माध्यम?

दशैँको टीका के हो भन्ने विषयमा संस्कृतिविद्हरूको धारणा एउटै छैन। तर उनीहरूको धारणा धेरै हदसम्म मिल्दोजुल्दो पाइन्छ।

बीबीसीसँगको कुराकानीमा केही संस्कृतिविद्हरूले टीकालाई प्रतीक वा धर्मकर्म अभिव्यक्त गर्ने माध्यमका रूपमा अर्थ्याए।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् जगमान गुरूङ भन्छन्, "टीका विभिन्न धर्मको ट्रेडमार्क हो, जस्तो निधारमा तेर्सो पारेर तीन धर्का खरानी लगाएको छ भने त्यो शैव हो भन्ने बुझियो। रातो वा सेतो चन्दन लगाएको छ भने वैष्णव भन्ने बुझियो। सिन्दुरको टीका लगाएको छ भने उपासक रहेछ भन्ने बुझियो अनि गाजलजस्तो कालो टीका लगाएको रहेछ भने त्यो तान्त्रिक रहेछ भन्ने बुझियो।"

अर्का इतिहासकार एवम् संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ पनि गुरुङको मतसँग लगभग सहमत देखिन्छन्।

उनी भन्छन्, "नेपाली समाज प्रतीकवादी छ। टीका आफैँमा प्रतीक हो। विभिन्न वर्गले तीनै प्रतीकको प्रयोग गरेर आफ्नो पहिचान दिन्छन्।"

नेपाली धर्म र संस्कृतिका अर्का इतिहासकार प्राध्यापक जगदीशचन्द रेग्मी चाहिँ टीकालाई कुनै सन्दर्भमा कुनै कार्य सम्पन्न गरेको प्रमाणका रूपमा अर्थ्याउँछन्।

उनी भन्छन्, "यो हामीले केही काम गरेको प्रमाण हो। दशैँमा हामी टीका लगाउँछौँ त्यो दशैँ मानको चिह्न हो। यसलाई कुनै भगवान् मानेको देखाउने माध्यम हो पनि भन्न सकिन्छ।"

टीकाका रङको अर्थ

गुरुङका भनाइमा काठमाण्डू उपत्यकाबाहेक नेपालका अन्य क्षेत्रमा दशैँमा पहिले दहीमा अक्षता मुछेर सेतो टीका लगाउने चलन थियो।

उनी रातो टीका लगाउने चलन दशैँ मनाउन थालेको थोरै पछि विस्तार भएको ठान्छन्।

तस्वीर कपीराइट COURTESY: TARA RAI
Image caption कतिपय जनजातिहरूले दशैँमा सेतो टीका लगाउने गर्छन्

"सेतो टीका जनजातिहरूले मात्र लगाउने हो वा रातो टीका बाहुन क्षेत्रीले मात्र लगाउने हो भन्ने कुराहरू आउँछन्, त्यो कुरा सत्य होइन," उनले भने।

उनका अनुसार टीका रङ्‌गले पहिले ती मानिसहरू कुन मतबाट आएका हुन् भन्ने बुझिन्छ। आफ्नो पुर्खाको मतलाई अहिलेसम्म अवलम्बन नगरिए पनि टीकामा त्यो कामय रहेको गुरुङको तर्क छ।

उनका अनुसार बाहुन क्षेत्रीहरूले अहिले रातो टीका लगाउने गर्छन् भने कतिपय जनजातिले सेतो टीका लगाउँछन्।

काठमाण्डू उपत्यकाका नेवारहरूले रातो र कालो मिसिएको तथा कालो टीका पनि लगाउने गरेको उनले जानकारी दिए।

त्यस्तै दैलेखमा भने बाहुन क्षेत्रीले दही र अक्षतामा बेसार मिसाएर पहेँलो टीका लागाउने चलन पनि रहेको गुरुङले बताए।

उनले नेवारहरूले लगाउने कालो टीका उनीहरूको तन्त्र परम्परासँग जोडिएको बताए।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
किन कम उड्न थाल्यो चङ्गा?

त्यस्तै रातो टीका विजय भावसँग जोडिएको उनको तर्क छ। तर अहिले रातो टीका लगाउनेहरूले पनि नेपालमा अबिर सर्वसुलभ नहुञ्जेल सेतै लगाउने गरेको उनको दाबी छ।

अर्का संस्कृतिविद् श्रेष्ठका अनुसार नेवारहरूले दशैँलाई दशैँ नभनेर मोहनी भन्ने गर्छन्। र, कालो टीकाको प्रचलन पनि त्यो मोहनी प्रथासँगै जोडिएको छ।

उनी पनि तन्त्रप्रधान समाज भएकाले नेवारहरूले कालो टीका लगाएको बताउँछन्।

"रातो टीका चाहिँ असत्यमाथि सत्यको विजयको प्रतीक हो भने सेतो शैव परम्पराको सङ्केत हो," श्रेष्ठले भने, "यसलाई शान्तिको प्रतीक पनि मान्न सकिन्छ।"

रेग्मी चाहिँ रातो र सेतो टीकालाई रजोगुण र सप्तगुणसँग जोडेर हेर्छन्। रजोगुण भनेको सृष्टि र सन्तान प्राप्तिसँग जोडिएको उनी बताउँछन्।

देवीको उपासना गर्नु भनेकै रजोगुणको उपासना गर्नु भएकाले रातो टीका रजोगुण उपासकहरूले लगाउने गर्छन्।

त्यस्तै चिन्तन मनन गरेर बस्ने चिन्तकहरूको सप्तगुणी भएकाले उनीहरूले सेतो टीका लगाउने गरेको रेग्मीले बताए।

उनी विजयको रङ्‌गका रूपमा दशैँको रातो टीकालाई अर्थ्याउनु गलत भएको बताउँछन्।

भन्छन्, "यो विजयसँग सरोकार भएको विषय नै होइन। अहिले विजयादशमीलाई जसरी असत्यमाथि सत्यको विजय वा रावणमाथि रामको विजयका रूपमा अर्थ्याइएको छ। त्यो दशैँ मनाउन थालिएको धेरैपछि जोडिएका कथा हुन्। खासमा दशैँ परम्परा विजय वा पराजयबाट सुरु नै भएको होइन।"

उनी दशैँमा गरिने खड्ग पूजा र खड्गजात्राले दशैँ युद्ध अभ्यासको उपासना हो भन्ने देखाउने तर्क गर्छन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
सिंहदरबारमा राउटे

सम्बन्धित सामग्री