दशैँको जमरा र इरानी नयाँ वर्षको जमराबीच यस्ता छन् समानता

  • 9 अक्टोबर 2019
जमरा तस्वीर कपीराइट Getty Images
Image caption नौरोजका बेला नेपाली जमराजस्तै सब्जी भनिने जौको अङ्कुर बोकेका इरानी महिला

काठमाण्ठूका नरेश श्रेष्ठ सन् १९९२ को मार्चमा पहिलो पटक इरानको राजधानी तेहरानस्थित आफ्नो ससुराली पुगेका थिए।

विवाहको करिब चार वर्षपछि फरक संस्कृतिको ससुराली देश पुगेको श्रेष्ठले आफ्नो ससुराली घरमा एउटा टेबलमा विभिन्न कुराहरूको साथमा जमरालाई पनि सजाएर राखेको देखे।

उनीहरू त्यहाँ पुग्ने बित्तिकै नरेशकी श्रीमती शोले मासूमपुरका मातापिता र मान्यजनहरूले उनीहरूका नाममा एक-एक वटा मैनबत्ती बाले र दीर्घायुको कामना गरे।

अनि दुवैजनालाई केही दक्षिणा दिए र आशीर्वाद पनि।

दशैँको टीकासँगै आशीर्वाद दिँदा प्रयोग हुने श्लोकका विशेषता

दशैँमा लगाइने भिन्नाभिन्नै रङ्‌गका टीकाको अर्थ

धर्म र संस्कृति नै भिन्न भएको देशमा पुग्दा पनि नरेशलाई नेपाल छाडेको जस्तो अनुभूति भएन।

उनलाई तेहरानस्थित आफ्नो ससुराली घरमा टीका नलगाइने दशैँ मनाइरहेको जस्तो लाग्यो।

इरानी नयाँ वर्ष

"इरान पुगेर त्यस्तो कुरा पहिलो पटक देख्दा मलाई निकै नै अनौठो लागेको थियो। मलाई त इरानीहरूले पनि दशैँ नै मान्छन् कि जस्तो लाग्यो," उनले बीबीसीसँग भने।

Image caption दशैँको टीका र जमरा

इरान पुगेपछि दशैँकै जस्तो चलन भएको कुन चाड रहेछ भन्ने खुलदुली मेटाउने क्रममा नरेशले त्यो इरानी नयाँ वर्ष अर्थात् नौरोज भएको थाहा पाए।

कसैले नौरोज, कसैले नौरुज त कसैले नवरोज भन्ने उक्त पर्वमा नेपालको दशैँसँग मिल्ने मुख्य कुरा भनेको नै त्यसमा प्रयोग गरिने सब्जी भनिने जमरा हो।

नरेशका अनुसार नौरोजमा 'स'बाट नाम उच्चारण सुरु हुने विभिन्न सातखाले चिजहरू राखेर एउटा टेबल सजाइएको हुन्छ।

त्यसलाई हाफ्सिन टेबल भनिन्छ र त्यसमा सब्जी अनिवार्य हुन्छ।

तर इरानीहरूले सब्जी सजाउन मात्र प्रयोग गर्छन्, नेपालीले जस्तो लगाउने गर्दैनन्।

नौरोजलाई इरानी नयाँ वर्षका रूपमा चिनिए पनि यो त्यहाँ मात्र मनाइँदैन।

संयुक्त राष्ट्रसङ्घको शिक्षा, विज्ञान तथा संस्कृति सङ्गठन युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको नौरोज इरानसहित युरेशियन र मध्य एशियाली देशहरूमा पनि मनाइन्छ।

दक्षिण एशियाका अफगानिस्तान, पाकिस्तान, भारत र बाङ्ग्लादेशका केही स्थानमा पनि नौरोज मनाइने युनेस्कोको आधिकारिक वेबसाइटमा उल्लेख छ।

नौरोजमा जमराको चलन

नौरोजमा नेपालमा जस्तो बालुवा वा माटोमा जमरा राख्ने चलन नभएको श्रेष्ठ बताउँछन्।

"सुरुमा उनीहरूले जौलाई भिजाएर एउटा सेतो कपडामा पोको पार्छन्। केही दिनमा त्यो टुसाउन थाल्छ र डल्लो पर्छ," श्रेष्ठले भने, "त्यसलाई एउटा थालमा राख्छन् र त्यही त्यो बढ्न थाल्छ। नछोपिने हुनाले त्यो पहेँलो होइन हरियो देखिन्छ।"

युनेस्कोको आधिकारिक वेबसाइट र नौरोजबारे लेखिएका अन्य सन्दर्भ सामग्रीहरूमा जनाइए अनुसार नौरोज मनाउने तरिका पनि नेपालमा दशैँका बेला गरिने नवरात्री पूजासँग मिल्दोजुल्दो देखिएको छ।

नौरोजका लागि तयार पारिने सब्जी अर्थात् जमरा पनि नौ दिन राखेर नै तयार पार्ने चलन रहेको छ।

दशौँ दिन त्यसलाई एउटा टेबलमा सजाएर राखिन्छ। अनि आफन्तहरू कहाँ जाने र भोजभतेर गर्ने चलन हुन्छ।

त्यसअघि दशैँको टीका जस्तै हाफ्सिन टेबल अगाडि गएर आएका आफन्तका नाममा मैनबत्ती बाल्ने गरिन्छ।

दशैँ घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन चल्छ, तर नौरोज भने १३ दिनको हुने नेपालका लागि इरानका अवैतनिक महावाणिज्य दूत समेत रहेका श्रेष्ठले जानकारी दिए।

"१३ दिनका दिन त्यो जमरा पनि नजिकैको नदीमा लगेर हामीले कोजाग्रत पूर्णिमामा गरेको विसर्जनजस्तै विसर्जन गर्ने चलन रहेछ," उनले भने।

Image caption नौरोज टेबल

जमरा कहाँबाट सुरु भयो?

नरेशले वर्णन गरेको नौरोज र नेपालको नवरात्रि पूजाको विवरण मिल्दोजुल्दो देखिएको छ।

के त्यसले नेपालको दशैँ र इरानको नयाँ वर्षबीच कुनै सम्बन्ध देखाउँछ त?

पूर्वीय धर्म र संस्कृतिको अध्ययन गरेका इतिहासकारहरू भन्छन्- नेपालमा अहिले चलनचल्तीमा रहेका धेरै सांस्कृतिक र धार्मिक प्रथाहरूको जरा खोज्दै जाने हो भने इरान-इराक वा आसपास पुग्ने गरेकाले जमराको चलन पनि उतैबाट आएको हुन सक्छ।

युनिभर्सटी अफ अक्सफोर्डमा पूर्वीय धर्म र नीति अध्यापन गराउने प्राध्यापक दिवाकर आचार्यका अनुसार दक्षिण एशियामा पश्चिमबाट पूर्वतर्फ सभ्यता सरेकाले जमरा पनि इरानबाट नेपाल आएको हुन सक्छ।

उनी भन्छन्, "शतपथ ब्राह्मणमै हेर्ने हो भने पनि पश्चिमबाट पूर्वतर्फ अर्थात् अध्यारोबाट उज्यालोतर्फ सरेको भन्ने देखिन्छ। त्यसमा सुरुमा अग्नि त्यसपछि पुरोहित र अनि मिथी राजा पूर्वतर्फ लागेको भन्ने विवरण छ। जसको नामबाट पछि मिथिला बनेको हो। यस हिसाबले नेपालमा अहले चलनचल्तीमा रहेका धेरै कुराहरू पश्चिमबाट पूर्व नै सरेका हुन्।"

उनी उहिलेको भारतवर्षभित्र इरान पनि पर्ने भएकाले धेरै संस्कृतिहरू मिल्ने दाबी गर्छन्।

तर अहिले राजनीतिक कारणले फरक देशहरू बनेको र ऋग्वेदिक धर्ममा धेरै परिवर्तन आएका कारण फरक देखिएको आचार्यले बताए।

मुस्लिम धर्मको प्रभावसँगै धेरै कुराहरू हराए पनि पुरानो संस्कृतिका कतिपय कुराहरू अहिले पनि जीवित पाइने आचार्य बताउँछन्।

आचार्यका अनुसार नेपालका लिच्छवीहरूको पुर्ख्यौली थलो खोज्दै जाँदा सिरिया, इरान र इराकतिर पुग्ने गरेको छ।

त्यसले पनि कतिपय सांस्कृतिक कुराहरू त्यताँबाट आएका थिए भन्ने देखाउँछ।

दिवंगत भइसकेका भाषाशास्त्रका एक प्राध्यापक बालकृष्ण पोखरेलले विभिन्न भाषाका शब्दहरूको निर्वचनको अनुसन्धान र व्याख्या गरेर लेखेको खस जातिको इतिहासमा पनि नेपालका खसहरू इरान, इराक, सिरियातिर बाटै आएको लेखेका छन्।

उनले त ऋग्वेदको रचना र दुर्गा वा देवीको परिकल्पना नै त्यस क्षेत्रमा भएको दाबी गरेका छन्।

दुर्गाको परिकल्पना नै त्यस क्षेत्रमा भएको र दुर्गा उपासना त्यहीबाट सुरु भएको उनको तर्कले जमरा र नवरात्र विधि उतैबाट आएको देखाउन खोजको छ।

वनस्पतिविद्को तर्क

वनस्पतविद् तीर्थबहादुर श्रेष्ठ चाहिँ जमराको चलन कहाँबाट सुरु भयो भन्ने बुझ्न जौको खेती कताबाट सुरु भयो भन्ने खोज्नुपर्ने बताउँछन्।

उनका अनुसार जौको खेती अहिलेको इजिप्ट, इराक र इरानतिर बाटै भएको भन्ने आधार पाइएकाले जमराको चलन उतैबाट आएको हुन सक्छ।

तस्वीर कपीराइट DIYANADIMITROVA
Image caption वनस्पतिविद् जौको खेती र त्यसको प्रसारसँग जोडेर जमराको चलनबारे अध्ययन गर्नुपर्ने बताउँछन्

"नेपालमा खेती हुने जौ उतैबाट आएको भन्ने लेखहरू भेटिन्छन्। रारा तालमा जापानीहरूले गरेको अनुसन्धानका क्रममा त्यहाँको पिँधमा रहेको माटोमा जौको परागकणहरू भेटिएको छ," उनले भने।

"त्यसले पनि नेपालमा पश्चिमतिर बाटै जौ आएको भन्न सकिन्छ।"

श्रेष्ठका अनुसार धेरै अन्नहरूलाई कहिले मानिसले जङ्गली अवस्थाबाट आफैँले घरेलु खेतीका रूपमा अपनाए भन्ने खोज्दै जाँदा इरान-इराक तिरै पुगिन्छ।

अन्योल

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् जगमान गुरूङ चाहिँ इरानतिर बाटै जमरा नेपाल आइपुगेको हो भनिहाल्न नसकिने बताउँछन्।

उनी भन्छन्, "प्रसार त भएको हो तर यताबाट उता गयो कि उताबाट यता आयो भन्न सकिन्न। भारतीय सभ्यता निकै प्रभावशाली भएकाले यताबाट उता गएको पनि हुन सक्छ।"

तर प्राध्यापक आचार्य भने भारतीय सभ्यताभित्रै इरान, मध्य एशिया र युरेसियाका कतिपय देशहरू पनि पर्ने भएकाले यो तर्कसँग सहमत छैनन्।

उनी ऋग्वेदकाल र त्यसपछि रचना गरिएका वेदका कथाहरूलाई पनि पुराणहरू रचना गर्दा बङ्ग्याइएको बताउँछन्।

त्यसैले वैदिक भारतवर्षलाई बुझ्न वेदहरूका कथाहरूमा खोजबिन गरिनुपर्ने उनको तर्क छ।

भारतमा किन लगाइँदैन?

अहिले नेपालीभाषीहरूको बसोबास रहेको क्षेत्र वा उत्तर भारतको हिमाली तथा पहाडी क्षेत्र बाहेक अन्यत्र दशैँको टीका र जमरा लगाउने चलन देखिँदैन।

त्यसको कारणबारे गुरुङ भन्छन्, "भारतमा लामो समयसम्म मुसलमान र त्यसपछि अङ्ग्रेजको शासन रह्यो। त्यसको प्रभावका कारण यो प्रचलन हराएको हो। पहिले त भारतीयहरूले पनि लगाउँथे।"

त्यसको प्रमाणका रूपमा कालिदासले रचना गरेको रघुवंशलाई पनि लिन सकिने कतिपय इतिहासकारहरूको तर्क छ।

उक्त पुस्तकमा कालिदासले लङ्का जितेर आउँने क्रममा पुष्पक विमानमा राम र सीताले यव-अङ्कुर अर्थात् जौको अङ्कुर लगाएको उल्लेख गरिएको उनीहरू बताउँछन्।

'नेपालको धार्मिक इतिहास' पुस्तकका लेखक समेत रहेका अर्का इतिहासकार जगदीशचन्द्र रेग्मीका बुझाइमा चाहिँ जमरा संस्कृति भनेको उर्वराशक्तिको प्रभावलाई पहिल्याउने विधि हो।

संस्कृत साहित्य र पुराना ग्रन्थहरूमा यव अर्थात् जौलाई नै सबैभन्दा पुरानो अन्न मानिएकाले यव-अङ्कुर अर्थात् जमराको चलन धेरै अघिदेखि चलेको उनको कथन छ।

उनी नेपालका खस र आर्यहरू इरानतिर बाट आएका प्रमणहरू पाइएकाले जमरा उतैबाट ल्याइएको भन्ने आधार भेटिनु नौलो नभएको तर्क गर्छन्।

तर यथार्थ पत्ता लगाउँन यस विषयमा अझै गहन अध्ययन र अनुसन्धान आवश्यक पर्ने रेग्मी बताउँछन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
इस्लामिक देशमा प्रवासी नेपालीको दशैँ

सम्बन्धित सामग्री