सी जिन्पिङ: २३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपालमा

  • 12 अक्टोबर 2019
सी र भण्डारी तस्वीर कपीराइट RSS

नेपालको उत्तरी छिमेकी चीनका राष्ट्रपति सी जिन्पिङ दुईदिने राजकीय भ्रमणका लागि शनिवार अपराह्न राजधानी काठमाण्डू आइपुगेका छन्।

उनी भारतको दुईदिने भ्रमण सकेर शनिवार नेपाल आइपुगेका हुन्।

उनलाई काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरिन्।

नेपालमा बहुप्रतीक्षित चिनियाँ राष्ट्रपतिको यो भ्रमणलाई सरकारको विशेष कूटनीतिक उपलब्धिका रूपमा अर्थ्याइएको छ।

यसअघि २३ वर्ष पहिले सन् १९९६ मा चीनियाँ राष्ट्रपति जियाङ जमिनले नेपालको दुईदिने भ्रमण गरेका थिए।

राष्ट्रपति भण्डारीका साथ सीलाई स्वागत गर्न विमानस्थलमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च पदस्थ अधिकारीहरू पुगेका थिए।

आजै नेपाल र चीनका राष्ट्रपतिहजरूले द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।

त्यसपछि सीले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई भेट्ने र साँझ राष्ट्रपति भण्डारीले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ।

आइतवार बिहान पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग सीको भेट हुने बताइएको छ। त्यसपछि प्रधानमन्त्री ओली नेतृत्वको नेपाली र सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता र सम्झौताहरू हुनेछन्।

आइतवारै सी नेपालको भ्रमण टुङ्ग्याएर स्वदेश फर्कनेछन्।

स्वागतको तयारी

सीको भ्रमण तय भएपछि काठमाण्डूका सडकहरू सिँगार्न थालिएको थियो।

तस्वीर कपीराइट Getty Images
Image caption फाइल तस्बिर

अहिले काठमाण्डू विमानस्थलदेखि सीलाई राखिने सोल्टी होटलसम्मको सडक र राष्ट्रपति निवाससम्म पुग्ने सडकहरूमा स्वागतद्वारहरू बनाइएका छन्।

त्यहाँ दुवै देशका राष्ट्रपतिका तस्बिरहरू सजाइएका छन् भने नेपाल र चीनबीच मित्रताकको भाव व्यक्त गरिने नाराहरू लेखिएका छन्।

विमानस्थलमा पानीको फोहरा र ठाउँठाउँमा फूलहरू सजाएको देख्न सकिन्छ।

नेपाल र चीनका ऐतिहासिक र सांस्कृतिक महत्त्वका स्थलहरूका तस्बिरहरू पनि सडक किनाराका खम्बाहरूमा राखिएका छन् भने दुवै देशका झण्डाहरू फहर्‍याइएका छन्।

सम्झौतामा हस्ताक्षर

सीको नेपाल भ्रमणका बेला नेपाल र चीनबीच विभिन्न आर्थिक साझेदारीका विषयमा छलफल र सम्झौताहरू हुने अधिकारीहरूले बताएका छन्।

दुई देशबीच सञ्जाल विस्तार र आर्थिक लगानीमा वार्ताहरू केन्द्रित हुने उनीहरूको भनाइ छ।

तस्वीर कपीराइट RSS

छलफलमा नेपाल र चीन जोड्ने नाकाहरूमा पूर्वाधार विकास र स्तरोन्नतिलाई प्राथमिकता दिइने बताइएको छ।

दुई दिनअघि पूर्व प्रधानमन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले सीसँग "केरुङ-काठमाण्डू रेलमार्ग निर्माणको लगानीको ढाँचाबारे समेत छलफल हुने" बताएको ओलीको सचिवालयले जनाएको थियो।

त्यसबाहेक नेपालका विभिन्न ठूला आयोजनाहरूका लागि चिनियाँ लगानीबारे सम्झौताहरू गरिने जनाइएको छ।

सीको भनाइ

नेपाल भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ राष्ट्रपति सीले नेपालको सरकारी मुखपत्र गोरखापत्र र द राइजिङ नेपालमा एउटा आलेख लेख्दै नेपाल र चीनको मैत्रीपूर्ण सम्बन्धको व्याख्या गरेका थिए।

त्यसमा उनले "चिनियाँ र नेपाली जनताको सपना र भाग्य सँगै जोडिएको हुँदा यस युगमा हामी दुई देशले आपसी सहयोगलाई सुदृढ पार्दै उज्ज्वल भविष्यका लागि संयुक्त प्रयास गर्नुपर्छ," भनेका छन्।

तस्वीर कपीराइट RSS

उनले त्यसका लागि चीन र नेपालले मिलेर गर्नुपर्ने काम भनेर चारवटा बुँदाहरू पनि उल्लेख गरेका थिए।

उनले नेपाल र चीनले रणनीतिक सञ्चारलाई प्रगाढ बनाउनुपर्ने, व्यावहारिक सहयोगको विस्तार गरिनुपर्ने, जनस्तरीय आदानप्रदानलाई व्यापक पार्नुपर्ने र सुरक्षासम्बन्धी सहयोगलाई सुदृढ पार्नुपर्ने आवश्यकता औँल्याएका छन्।

लामो समयपछि चिनियाँ राष्ट्रपतिको नेपालमा हुन लागेको भ्रमणलाई विभिन्न राजनीतिक दलका नेताहरूले ऐतिहासिक भएको बताएका छन्।

सत्तारूढ दलका नेतादेखि विपक्षी दलका नेताहरूले सीको भ्रमणलाई 'ठूलो उपलब्धि'का रूपमा अर्थ्याएका छन्।

तस्वीर कपीराइट RSS

विपक्षी नेताहरूका भनाइमा यो भ्रमण ऐतिहासिक भएकाले त्यसबाट अधिकतम लाभ लिन सरकारले पहल गर्नुपर्नेछ।

पछिल्ला वर्षहरूमा नेपालले चीनको उच्चपदस्थ नेतालाई भ्रमण गराउन पहल गरेको तर सफल हुन नसकेको चर्चा भइरहेका बेला हुन लागेको सीको भ्रमणलाई चासोपूर्वक हेरिएको छ।

कतिपयले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई सरकारको एउटा ठूलो कूटनीतिक उपलब्धिको रूपमा अर्थ्याएका छन्।

सन् २०१२ मा चिनियाँ प्रधानमन्त्रीको सङ्क्षिप्त नेपाल भ्रमणपछि यो पहिलो उच्चस्तरीय भ्रमण हो।

चिनियाँ राष्ट्रपति जियाङ जमिनले सन् १९९६ मा नेपाल भ्रमण गरेयता यो राष्ट्रपतिको तहमा भएको पहिलो भ्रमण हो।

चीनबाट नेपालमा यसअघि भएका उच्चस्तरीय भ्रम

मिति पद नाम
ज्यानुअरी २५–२९, १९५७ प्रधानमन्त्री चाउ एनलाई
एप्रिल २६–२९, १९६० प्रधानमन्त्री र उपप्रधानमन्त्री चाउ एनलाई र चेन यी
फेब्रुअरी २२–२६, १९७५ उपप्रधानमन्त्री चेन सिलियान
फेब्रुअरी ३–६, १९७८ उपप्रधानमन्त्री देङ सियाओ पिङ
जुन ४–७, १९८१ प्रधानमन्त्री झाओ झियाङ
मार्च १९–२३, १९८४ राष्ट्रपति ली सियाननियान
मे २८–जुन १, १९८७ उपप्रधानमन्त्री चियाओ सी
नोभेम्बर १९–२१, १९८९ प्रधानमन्त्री ली पेङ
जुलाई १९–२०, १९९४ उपप्रधानमन्त्री चियान चिचेन
डिसेम्बर ४–५, १९९६ राष्ट्रपति जियाङ जमिन
मे २००१ प्रधानमन्त्री झु रोङ्जी
ज्यानुअरी १४, २०१२ प्रधानमन्त्री वेन जियाबाओ