त्रिभुवन विमानस्थलका अध्यागमन प्रमुख: “नेपाली मूलका विदेशी नागरिकका व्यवहारबाट आजित भएका छौँ”

  • 15 अक्टोबर 2019
विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन डेस्क तोडफोड गरेको आरोप लागेका एकजना नेपाली मूलका अस्ट्रेलियाली नागरिकलाई ५० हजार रुपैयाँ जरिवाना गराइएको अध्यागमन विभागले जनाएको छ।

उनलाई साथ दिएका अन्य चार नेपाली मूलका अस्ट्रेलियाली नागरिकमध्ये एक जनालाई २५ हजार रुपैयाँ र बाँकी तीन जनालाई कागज गराएर छोडिएको अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले बीबीसी न्यूज नेपालीलाई बताए।

गएको आइतवार क्याथी ड्रयागन एअरलाइन्सको विमानबाट आएका उनीहरूले अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीमाथि अपशब्द बोलेको र सम्झाउन खोज्दा समेत अभद्र व्यवहार गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यलयले बताएको थियो।

विमानस्थलमा गैरआवसीय नेपालीका लागि अलग्गै अध्यागमन डेस्कको व्यवस्था गरिएको छ।

गैरआवसीय नेपाली सङ्घले कानुन उल्लङ्घनलाई आफूले साथ नदिने बताउँदै यस बारेमा आधिकारिक जानकारी नभएको बताएको छ।

पछिल्लो विवाद के हो?

गएको आइतवार क्याथी ड्र्यागन एअरलाइन्सबाट आएका नेपाली मूलका अस्ट्रेलियाली नागरिक रमेशकुमार थापासहित पाँच जनाले कर्मचारीहरूमाथि दुर्व्यवहार गरेका विवरण आएका छन्।

अध्यागमन डेस्कको सिसा फुटाइदिएको आरोपमा थापालाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत दीर्घनारायण पौडेलले बीबीसी न्यूज नेपालीलाई बताए।

"एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई उक्साउने र अपशब्द प्रयोग गर्ने अन्य चार जनाको राहदानी नियन्त्रणमा लिएर कारबाही गर्न विभागलाई लेखेर पठाएका छौँ।"

एउटा विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागले नेपाली मूलका विदेशी नागरिकहरूबाट पटकपटक आफ्ना कर्मचारीहरूलाई अभद्र व्यवहार गरिएको भन्दै त्यस्तो व्यवहार नगर्न सार्वजनिक अनुरोध गरेको छ।

पौडेलले भने, "उहाँहरूमध्ये कतिपयले आफूलाई उच्च दर्जाको नागरिक ठान्ने र यहाँ काम गर्ने हामीहरूलाई तल्लो दर्जाका नागरिकलाई ठान्ने गरेको महसुस गरेका छौँ।"

"हाम्रा कर्मचारीहरूलाई निम्न स्तरको शब्दहरू प्रयोग गर्ने खालको पाइएको छ। हामी पहिलेका नेपाली हौँ, त्यही भएर अध्यागमनको प्रक्रिया पूरा पनि गर्नु पर्दैन जस्तो गर्नुहुन्छ।"

विमानस्थलमा रहेको गैरआवसीय नेपालीको डेस्कले परिचयपत्रवाहक नेपाली मूलका विदेशी नागरिकहरूलाई अध्यागमन सुविधा उपलब्ध गराउने गरेको छ।

तर परिचयपत्र नभएका नेपालीहरूले भने विदेशीसरह सरकारले निर्धारण गरेको दस्तुर बुझाएर मात्र नेपालको प्रवेशाज्ञा लिनुपर्ने व्यवस्था छ।

पौडेल भन्छन्, "उहाँहरूले लाइनमा नै नबसी पहिल्यै गर्दिनुपर्‍यो भन्ने खालको व्यवहार गर्नुहुन्छ।"

"थुप्रै पटक मुख छाड्ने र दुर्व्यवहार समेत गर्ने गर्नुभएकाले हामी आजित भएका छौँ।"

"हामीले नेपाली मूलका विदेशी नागरिकको व्यवहार पाच्य छैन भनेर मन्त्रालयको सचिव र अध्यागमन विभागका महानिर्देशकलाई पनि जानकारी गराएका छौँ।"

तस्वीर कपीराइट TIA

"आधिकारिक जानकारी छैन"

गैरआवसीय नेपाली सङ्घका प्रवक्ता भूषण घिमिरेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा भएको भनिएको पछिल्लो घटनाबारे आधिकारिक रूपमा आफूहरूले कुनै जानकारी नपाएको बताए।

उनले भने, "कुनैपनि कानुनको उल्लङ्घनलाई हामी साथ दिँदैनौँ। जुनसुकै देशमा हुँदा त्यहाँको कानुनको पालना गरिनुपर्छ।"

"पछिल्लो घटनाबारे संस्थालाई आधिकारीक रूपमा केही जानकारी छैन।"

तर सङ्घका अर्का एक पदाधिकारीले विमानस्थलको अध्यागमन डेस्कमा भएको उक्त घटनामा जोडिएका व्यक्तिहरू महाधिवेशन प्रतिनिधिहरू भएको पुष्टि गरेका छन्।

ती पदाधिकारी भन्छन्,"महाधिवेशनमा भाग लिन ‍तीन हजार प्रतिनिधिहरू आएका छन्।"

"अहिले आरोप लगाइएका व्यक्तिहरूले अध्यागमनका कर्मचारीबाट आफूहरूले दुर्व्यवहार खेप्नुपरेको बताएका छन्। हामी यसबारे बुझ्दैछौँ।"

गएको भदौमा सङ्घका अध्यक्ष भवन भट्टलाई मदिरा सेवन गरी सिङ्गापुर जाने जहाजभित्र अपशब्द बोलेको आरोपमा विमानबाट निकालिएको थियो।

अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन डेस्कमा सदैव कर्मचारी नहुने जस्ता समस्या पनि देखिने गरेका विवरणहरू आउने गरेका छन्।

पर्याप्त कर्मचारिको अभावका कारण पर्यटकहरूले लामो समय लाम लाग्न बाध्य भएका विवरणहरू आएका थिए।

तर प्रमुख अध्यागमन अधिकृत पौडेलले गैरआवसीय नेपालीसँग जोडिएका विवादमा कर्मचारी कारण नभई नेपाली मूलका विदेशी नागरिकको अहमका कारण भएको बताएका छन्।

सम्बन्धित सामग्री