अश्लीलता र असहिष्णुता फैलाएको आरोपमा गायकहरू पक्राउ ठीक कि बेठीक

  • 24 अक्टोबर 2019
भीटेन तस्वीर कपीराइट Facebook/VTEN

समाजमा 'अश्लीलता फैलाएको' र 'अभद्र व्यवहार' गरेको भन्दै गायकहरूलाई पक्राउ गरिएपछि त्यसबारे पक्ष र विपक्षमा टिप्पणीहरू भइरहेका छन्।

आलोचकहरूले गाएका गीतकै आधारमा उनीहरूलाई पक्राउ गरिनुलाई 'अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार' भनिरहेका छन्।

सरकारी कदमलाई जायज ठहर्‍याउनेहरूले सामाजिक सञ्जालमा यसको पक्षमा टिप्पणी गरेका छन्।

बिहीवार भिटेन उपनामले परिचित र्‍याप गायक समीर घिसिङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

केही दिनअघि गायक दुर्गेश थापालाई 'तिहारको मौलिकता भङ्ग गर्ने' र 'सामाजिक सहिष्णुता खलबल्याउने' गतिविधि गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीले दुवै गायकहरूलाई एक-एकवटा गीत युट्युबलगायत सामाजिक सञ्जालबाट हटाउन लगाएको छ।

अभद्र व्यवहारमा मुद्दा

घिसिङमाथि 'अभद्र व्यवहार गरेको' आरोपमा मुद्दा चलाइने प्रहरीले जनाएको छ।

बिहीवार ललितपुरबाट उनलाई पक्राउ गरेको पुष्टि गर्दै महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले भने, "समीर घिसिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।"

"उनीमाथि अभद्र व्यवहार गरेको अभियोगमा मुद्दा अघि बढाइनेछ।"

कार्कीले उनलाई कानुनविपरीत पक्राउ गरिएको भनी लागेको आरोपको खण्डन गर्दै भने, "हामीले कानुनी दायरमा रहेर नै उनलाई नियन्त्रणमा लिएका हुन्। कानुन अनुसार नै कारबाही हुन्छ।"

उनका अनुसार घिसिङलाई उनले गाएको 'अश्लीलता फैलाउने भनिएको' गीत पनि हटाउन लगाइएको छ।

तर तामाङको पक्राउलाई लिएर पनि सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा पक्ष र विपक्षमा विभिन्न खाले टिप्पणी आउने क्रम जारी छ।

असहमति

कतिपय विज्ञ तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको हमलाका रूपमा अर्थ्याएका छन्।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष एवम् अभिव्यक्ति स्वतन्त्रताका वकालतकर्ता तारानाथ दाहालले गायकहरूको पक्राउलाई "कलापूर्ण अभिव्यक्ति र सिर्जनशीलता माथिको हमला" भनेका छन्।

बीबीसीसँग कुराकानी गर्दै उनले भने, "यो त प्रहरी-राज्यजस्तो भयो। नागरिकको बोल्न पाउने, कला प्रदर्शन गर्न पाउने वा सिर्जना गर्न पाउने अधिकारको व्याख्या गर्ने काम प्रहरीलाई हुँदै गयो।"

"नागरिक अधिकारमाथि राज्यको अनावश्यक हस्तक्षेपका रूपमा यसलाई बुझ्न सकिन्छ।"

उनी कुनै पनि सिर्जनशील काम अश्लील हो वा होइन भन्ने निर्क्यौल गर्ने कसले भन्ने प्रश्न उठ्ने भएकाले यसरी प्रहरीले जसलाई पनि जहिले पनि पक्राउ गर्न नसक्ने दाबी गर्छन्।

"अभिव्यक्ति स्वतन्त्रताका सीमितता छन् तर त्यसो भन्दैमा प्रहरीले जे कुरामा पनि त्यस्तो पक्राउ गर्न मिल्दैन।"

"कुनै अभिव्यक्तिले तत्कालै समाजमा हिंसा भड्कने अवस्था आउँदा मात्र नियन्त्रणका उपायहरू अपनाउनुपर्ने हुन्छ," उनले भने।

अश्लीलताको मापन

गीतकार राजेन्द्र थापा पनि दाहालकै मतसँग सहमत हुँदै "नेपालमा कुन कुरा अश्लील हो भन्ने मापदण्ड नभएका अवस्थामा प्रहरीले मनपरी गर्न नपाउने" बताउँछन्।

उनी कुनै गीत वा सिर्जनशील कुराले "अश्लीलता फैलाएको वा अपराधलाई प्रोत्साहन गरेको" भन्ने लागेमा पनि प्रहरीले अदालत वा जिल्ला प्रशासन कार्यालयको निर्देशनविना पक्राउ गर्न नपाउने बताउँछन्।

"अहिले पक्राउ गरेको हेर्दा यो त गैरकानुनी हो," उनी भन्छन्।

"यो त राणा शासनका बेलामा मात्र हुन्थ्यो। यो देशमा साँच्चै कानुन छ भने गायकहरूलाई छलफलमा मात्र बोलाउन सक्थ्यो। पक्राउ गर्न सक्दैनथियो।"

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
बीबीसी नेपाली सेवाको पहिलो प्रसारणमा बजेको गीत यस्तो छ

सरकारको बचाउ

कतिले चाहिँ गीतहरूमा अश्लीलताको प्रयोग भएकाले नियन्त्रण हुनुपर्ने बताएका छन्।

गीतकार तथा संविधानविद् भीमार्जुन आचार्य भने प्रहरीले गायकहरूलाई पक्राउ गर्नुलाई कानुनी र जायज मान्छन्।

उनी भन्छन्, "नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रता दिएको छ तर त्यसका सीमाहरू छन्। त्यस्तो सीमा नाघेको हकमा गृह प्रशासनले आफ्नो कारबाही गर्न सक्छ।"

"पछिल्ला केही घटनामा राज्यले त्यही अधिकार प्रयोग गरेको देखिन्छ। त्यो मलाई जायज लाग्छ।"

उनी सिर्जनशीलता भन्दैमा 'सामाजिक नैतिकता' विपरित र 'मदिरा वा लागुपदार्थ सेवन गर्न प्रोत्साहन गर्ने' खालका कुरालाई छुट दिनु नहुने बताउँछन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
मालश्री धुन बजाउने देवी

उनले भने, "कुनै कुरा आलङ्कारिक र बिम्बात्मक रूपमा भनिएको छ भने त्यसलाई रोक्नुपर्छ भन्ने छैन तर सिधै अश्लील अभिव्यक्ति व्यक्त हुने क्रियाकलाप रोक्न पाउने अधिकार राज्यलाई रहन्छ।"

तर कतिपयले भने नेपालमा पछिल्लो समयमा कलात्मक अभिव्यक्तिका माध्यमबाट गरिएको व्याङ्ग्यलाई पनि नपचाइएको भन्दै सरकारको आलोचना गरिरहेका छन्।

सरकारी अधिकारीहरू भने यस्तो आलोचनाको खण्डन गर्ने गरेका छन्।

सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बिहीवारको नियमित पत्रकार सम्मेलनमा यसको खण्डन गरे।

उनले भने, "अहिले नेपाली समाज जङ्गली त होइन, गाउनै नपाउने त हामीले भनेको होइन तर मेरो प्रश्न छ के तपाईं आफ्नो परिवारसँग बसेर तिनले गाएका कुरा सुन्ने सामर्थ्य राख्नूस् न त।"

"कुनै पनि समाजको एउटा मूल्य पद्धति त्यसको जग भत्काउने गल्ती नगरौँ त्यस्तो कुरालाई छुट दिन सकिन्न।"