'सुपथ मूल्य पसल वर्षभरि चलाउनु पर्छ'

  • 29 अक्टोबर 2019
सुपथ मुल्य पसल

मोहन तामाङ् गएको साता श्रीमतीसहित झोला बोकेर सिंहदरबार अगाडि रहेको भवनमा सञ्चालित सुपथ मूल्य पसलमा पुगे।

तामाङ् दम्पतीले पसलमा समय त बिताएऽ तर सामान राख्न ल्याएको दुई झोला रित्तै फर्काए।

तामाङ्ले भनछन्: "सामानको भाउ बुझ्दा अन्यत्रभन्दा कम मात्र अन्तर रहेको भेटेँ। त्यहि सस्तोको लागि सामान बोकेर बस चढेर जान सकिन्छ जस्तो लागेन।"

त्यहाँ रहेका कर्मचारीको व्यवहारप्रति पनि असन्तुष्ट भएको उनले बताए।

"सबैजना त हैन, तर केही कर्मचारीको व्यवहार पनि राम्रो लागेन। सित्तैमा सामान किन्न आएको जस्तो व्यवहार गर्नुभयो। भिड व्यवस्थापन गर्न उहाँहरूको ध्यान गएको छैन।"

थोरै पसल, भिड धेरै

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दशैं आउनु केही साता अघिदेखि सुपथ मूल्य पसल सञ्चालन गर्न थालेको वर्षौं भइसकेको छ।

चाडपर्वका समयमा सर्वसाधारणले दैनिक उपभोग गर्ने दाल, चामल, नुन, चिनी, तेलदेखि घ्यू लगायतका खाद्य वस्तुहरू बजार भाउभन्दा कम मूल्यमा सरकारले बेच्ने दाबी गरेको छ।

साल्ट ट्रेडिङ्, खाद्य संस्थान, दुग्ध विकास संस्थान र केही निजी संस्थाहरूले यो ठाउँमा पसलहरू राखेका छन्।

तर यसरी राखिएका पसलहरू निकै थोरै मात्रामा भएको र वरपरका मानिसहरूले मात्र त्यसबाट लाभ लिन सकेको सर्वसाधारणले गुनासो गर्ने गरेका छन्।

नजिकै घर हुनेलाई मात्रै

सुपथ मूल्य पसलमा सामान खरिद गर्न पुगेकी पुतलीसडककी ६० वर्षीय दुर्गालक्ष्मी शाक्य भन्छिन्: ''नजिकै घर हुने र आफ्नो साधन हुने मानिसले त सामान लान सक्छन्।"

"नत्र दुईचार रुपैयाँ सस्तो सामान किनेर बसमा जाँदा भाउमा खासै अन्तर हुन्छ जस्तो देखिएन। टाढाको मानिसका लागि यहाँ आएर सामान किनेर काम छैन।''

कतिपयले चाहिँ सुपथ मूल्य पसल खोलिएको थाहा भएपनि ती कहाँ राखिएका छन् भन्ने जानकारी नभएको बताएका छन्।

उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल खोलिएको भए पनि यसले बजारमा व्याप्त कालोबजारी नियन्त्रण गर्न नसकेको विज्ञहरूले बताएका छन्।

'वर्षभरि चलाउन पर्छ'

यस्ता पसलहरूलाई प्रभावकारी बनाउनका लागि सरकारले वर्षभरि नै सञ्चालनमा ल्याउनु पर्ने सुझाव पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाको छ।

उनले भने: "उपभोक्ताको पहुँच बढाउन यस्ता पसलहरू अझ धेरै ठाउँमा राख्नु पर्यो।"

"त्यसैले सबैभन्दा पहिला सङ्ख्या बढाउनु पर्छ। यी पसलहरू शहर केन्द्रित भएका छन्।"

"व्यापारीहरूको एकाधिकार र देखिएको कालोबजारी तोड्नका लागि यस्ता पसलहरू वर्षभरि चलाउनु पर्छ।"

काठमाण्डूको सिंहदरबार, सतुङ्गल, कोटेश्वर, कालिमाटी, भक्तपुर र ललितपुर लगायत केही अन्य जिल्लाहरूमा यस्ता पसल सञ्चालनमा रहेका छन्।

सम्बन्धित सामग्री