एसिक्समा लरीमा भेटिएका शवहरूबारे अहिलेसम्म थाहा भएका तथ्यहरू

  • 26 अक्टोबर 2019
फाम त्रा माइ र न्गुएन डिन्ह लुओङ तस्वीर कपीराइट Family Handout
Image caption पीडितहरू मध्येमा फाम त्रा माइ र न्गुएन डिन्ह लुओङ पनि रहेको अनुमान गरिएको छ

२३ अक्टोबरमा पूर्वी ब्रिटेनको एसिक्समा एउटा लरी कन्टेनरमा ३९ शव फेला परे।

त्यो लरीको चालक सहित चार जना पक्राउ परेका छन् र उनीहरूमाथि हत्याको अनुसन्धान थालिएको छ।

एसिक्स प्रहरीले "त्यो डरलाग्दो घटना के-कसरी भयो" भन्ने विषयमा अनुसन्धान थालिएको जनाएको छ। त्यो उसले थालेको अहिलेसम्मकै सबैभन्दा ठूलो हत्या अनुसन्धान हो।

त्यो घटनाको विषयमा अहिलेसम्म थाहा भएको जानकारी यस्तो छ।

मृतकहरू को हुन्?

सुरुमा एसिक्स प्रहरीले एक विज्ञप्तिमार्फत ती ३९ जना पीडितहरू चिनियाँ नागरिक भएको हुन सक्ने बतायो। ती मध्ये आठजना महिला र ३१ जना पुरुष थिए।

सबैजना वयस्क भए पनि एक जना चाहिँ किशोर अवस्थाकी "जवान वयस्क" भएको प्रहरीले बतायो।

अहिले बीबीसीले थाहा पाए अनुसार त्यो लरीमा भएका केही पीडित भियतनामका नागरिक हुन सक्छन्।

फाम त्रा माइ, २६, ले मङ्गलवार राति आफ्ना परिवारजनलाई आफूले कष्ट भोगिरहेको भन्दै सन्देश पठाएकी थिइन्।

"म मर्न लागेको छु, म सास फेर्न सकिरहेको छैन," उनले पठाएको सन्देशमा लेखिएको छ। त्यसपछि उनको अत्तोपत्तो छैन।

उनको परिवारले बताए अनुसार उनीहरूले मानव तस्करहरूलाई ३०,००० पाउन्ड तिरेका थिए। त्यसअघि उनी बेल्जियममा थिइन्।

लण्डनस्थित भियतनामी दूतावासले हराइरहेको महिलाबारे खोजीगर्ने क्रममा एसिक्स प्रहरीलाई सम्पर्क गरेको जनाएको छ।

२६ वर्षीय एक पुरुष र १९ वर्षीया एक महिलासहित दुई भियतनामीका परिवारले पनि बीबीसीसँग कुरा गरेका छन्।

ब्रिटेनमा रहेको भियतनामी समुदायको प्रतिनिधित्व गर्ने संस्था भियतहोमले झन्डै २० जना हराइरहेका भियतनामीको तस्बिरहरू आफूले पाएको बताएको छ।

लरीमा शवहरू भेटिएपछि ती तस्बिर पाइएको उसको भनाइ छ।

घटनाबारे कसरी थाहा भयो?

तस्वीर कपीराइट PA Media

लरीमा शव रहेको बारे प्रहरीले बुधवार स्थानीय समयअनुसार विहान ०१.४० बजे खबर पाएको थियो। त्यो लरी वाटरग्लेड इन्डस्ट्रियल पार्कमा फेला परेको थियो। त्यो शहर लण्डनबाट पूर्वतर्फ करिब १५ किलोमिटर टाढा रहेको छ।

ती शवलाई एम्बुलेन्समा काम गर्ने कर्मचारीले फेला पारेका थिए। उनीहरूलाई त्यसबारे कसले खबर गर्‍यो त्यो प्रष्ट छैन।

प्रहरीले बिहीवार ती शवलाई निकाल्न सुरु गरेको हो। ११ जना पीडितलाई एक निजी एम्बुलेन्सले टिलबरी बन्दरगाहबाट चेल्मस्फोर्डको एक अस्पतालमा लगेको थियो।

मृत्युको कारण थाहा पाउन सबै शवको जाँच तथा परीक्षण हुँदैछ।

त्यसपछि प्रहरीले हरेक व्यक्तिको पहिचान पत्ता लगाउने प्रयास गर्नेछ। प्रहरीले त्यो "निकै ठूलो कारबाही हुने" र त्यो पूरा हुन निकै समय लाग्ने बताएको छ।

को-को पक्राउ परेका छन्?

शुक्रवार स्ट्यान्स्टेड विमानस्थलबाट मानव तस्करी र हत्याको आशङ्कामा उत्तरी आयरल्याण्डका ४८ वर्षीय एक पुरुष पक्राउ परेका छन्।

त्यसअघि एसिक्स प्रहरीले ३८ वर्षका एक पुरुष र त्यति नै उमेरकी एक महिला पक्राउ परेको जनाएको थियो। वारिङ्टन निवासी त्यो जोडीले मानव तस्कर गर्ने र ३९ जनाको हत्या गर्ने षडयन्त्र गरेको आशङ्का गरिएको छ।

त्यो लरीका चालक हत्याको आशङ्कामा बुधवारै पक्राउ परेका थिए। २५ वर्षीय ती पुरुषको स्थानीय नाम मो रबिन्सन हो। उनी उत्तरी आयरल्याण्डको पोर्टाडोन निवासी भएको बताइएको छ।

उनलाई सोधपुछ गर्न २४ घन्टाको म्याद थपिएपछि उनी प्रहरी हिरासतमा रहेका छन्।

उत्तरी आयरल्याण्डका तीन स्थानमा प्रहरीले छापा मारेको छ। राष्ट्रिय अपराध निकाय एनसीएले कुनै सङ्गठित समूह संलग्न भए नभएकोबारे अनुसन्धान गरिरहेको छ।

लरी र ट्रेलर कहाँ छ?

जीपीएस तथ्याङ्कले देखाएअनुसार रेफ्रिजेरेटर जस्तो कन्टेनर ट्रेलर भएको त्यो लरीले केही दिनदेखि ब्रिटेन र युरोप आउजाउ गरिरहेको थियो।

१५ अक्टोबरदेखि भाडामा पठाइएको त्यो ट्रेलरको सञ्चालक ग्लोबल ट्रेलर रेन्टल्सले त्यो ट्रेलर "जे कामका लागि प्रयोग भएको देखियो त्यसबारे आफूलाई पटक्कै जानकारी नभएको" बताएको छ।

सूत्रहरूका अनुसार त्यो ट्रेलरले १५ अक्टोबरमा गणतन्त्र आयरल्याण्ड छोडेको थियो। त्यसपछि त्यो वेल्स र त्यसपछि फ्रान्स पुगेको थियो। त्यसपछि त्यो बेल्जियम र फ्रान्सका विभिन्न शहर पुगेको थियो।

तस्वीर कपीराइट AFP

प्रहरीका अनुसार त्यो २२ अक्टोबरमा वेल्सहुँदै ब्रिटेन फर्किएको थियो।

लरीको कन्टेनरभित्र रेफ्रिजेरेटरको जस्तो चिसो हुने हुनाले तापक्रम -२५ डिग्री सेल्सियस सम्म झर्न सक्छ। त्यो लरी अहिले एसिक्सको सुरक्षित स्थानमा रहेको छ।

सुरुका विवरणहरूमा त्यो लरी बल्गेरियाबाट आएको ठानियो। तर त्यहाँको सरकारले जनाए अनुसार त्यो लरीको ट्रयाक्टर त्यहाँ सन् २०१७ मा दर्ता भएपनि त्यसपछि त्यो फर्किएको छैन।

ब्रिटेन आउने कति आप्रवासीको ज्यान गयो?

संयुक्त राष्ट्रसङ्घले सन् २०१४ देखि ब्रिटेन आउने क्रममा ज्यान गुमाएका आप्रवासीबारेको अभिलेख राख्न सुरु गरेको हो।

त्यसपछिका वर्षहरूमा कन्टेनर वा लरीमा पाँच जना आप्रवासीका शव भेटिएको छ।

सन् २०१४ मा युरोपमा आप्रवासी सङ्कट सुरु हुनु अघिको तथ्याङ्क उपलब्ध छैन।

तर यस्ता मृत्युका घटना नयाँ होइनन्।