कर्ण अवाल: जसले बनाउने इँटाले सम्पदा सिँगारिन्छन्

  • 27 अक्टोबर 2019
कर्ण अवाल

भक्तपुरका कर्ण अवालले बनाउने अधिकांश इँटाहरू देवालय, दरबार, पाटी-पौवाजस्ता धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वका सम्पदा संरचनाहरू निर्माणमा प्रयोग हुन्छन्।

यो उनको पुर्ख्यौली व्यवसाय हो।

दक्ष र अनुभवी प्राविधिकहरू समेत उनीसँग मन्दिर वा अन्य पुरातात्त्‍विक महत्त्वका संरचनामा प्रयोग हुने विभिन्न किसिमका इँटाबारे सुझाव लिन आइरहन्छन्।

पुराना दरबार वा मन्दिरमा प्रयोग भएका विशेष किसिमका इँटाहरु हातैले बनाउनुपर्ने हुनाले कहिलेकाहीँ माग धान्न कठिन हुने गरेको उनको अनुभव छ।

थरीथरीका इँटा

Image caption मन्दिर बनाउन विभिन्न थरीका इँटाहरूको प्रयोग हुने अवाल बताउँछन्।

कर्ण अवालको उद्योगमा बन्छन् यी विभिन्न खाले इँटाहरू:

  • मन्दिरको गारो बनाउन प्रयोग हुने दाची अपा,
  • भुइँमा ओछ्याइने चिकं अपा,
  • छानो छाउने पोल अपा,
  • झ्याल र झ्यालको वरिपरि प्रयोग हुने विभिन्न कार्नेसहरू,
  • टुँडालहरू, आँखी झ्यालहरू, कसिमो, लिविङ्चा, नासप्व, नागद्यो,
  • बाटु, पलेफ्वो, खाल, छड्के, खाल नावल, ठूलो कार्नेस, छेफ, कोपु आदि

कर्ण भन्छन्: "मन्दिर बनाउन पचासौँ थरी इँटा चाहिन्छ भन्ने कुरा धेरै मानिसहरूलाई थाहा छैन। कतिपयलाई सबै इँटा एकैखाले हो भन्ने लाग्छ। तर आकार, कोण, मोटाइ अनि बुट्टाहरू फरक पर्छ।"

कतिपय इँटा उनका सहयोगीहरूले मेसिनबाट बनाउँछन् भने कति चाहिँ उनी आफ्नै हातले बनाउँछन्।

"मन्दिर बनाउन प्रयोग हुने कतिपय इँटाहरु मेसिनबाट बनाउनै सकिँदैन। कुनै इँटामा कोण मिलाउन पर्छ, कुनैमा स्लोप मिलाउन पर्छ," उनी सुनाउँछन्।

किन हातैले बनाउने?

प्यागोडा शैलीमा निर्माण भएका मन्दिरहरूमा ल्हा काइ, ठूला कार्नेस, झाकूंजस्ता विशेष खालका इँटाहरू प्रयोगमा रहेको कर्ण बताउँछन्।

विशेषगरी मन्दिर वा दरबारका कुनाकाप्चामा प्रयोग हुने यस खालका इँटाहरूको खास विशेषता हुने उनको तर्क छ।

उनी भन्छन्: "सयौँ वर्ष पहिले बनेका कुनै मन्दिर, अहिले पनि उस्तै गरी उभिएको पाइनु त्यसको निर्माण गर्दा प्रयोग गरिएका इँटाहरूका कारण पनि हो।"

तर कुनै मन्दिरको कुनाकाप्चा वा छानामा विभिन्न किसिमका बोटविरुवा र घाँसपात उम्रेको देखिनुको कारण चाहिँ त्यहाँ इँटाहरू सही तरिकाले नराखिएको वा सही प्रकारका इँटाको प्रयोग नभएको हुने कर्णले बताए।

"इँटा काटेर जोडिएका कतिपय मन्दिर वा संरचनाहरूमा यस्तो समस्या चाँडो देखिन्छ। त्यसैले इँटा काट्न नपरोस्, पानी वा माटो नछिरोस् र मन्दिर सालौँ सम्म उस्तै भइरहोस् भन्नका लागि आवश्यकता अनुसारको आकार र स्लोपको ल्हा काइ, कार्नेसहरु बनाउनु पर्छ। जुन मेसिनबाट सम्भव छैन।"

चिन्ता

५२ वर्षिय कर्ण अवालका ३ सन्तान अ-आफ्नो अध्ययनमा व्यस्त छन्।

पाँच दाजुभाइमध्ये दुई दाजुहरू इँटा उत्पादन गर्ने उद्योग सञ्चालन गर्छन् भने बाँकी दुई भाइ अन्य पेशामा छन्।

एक्लै पुर्खाको बिँडो थामेर बसेका उनी अब यसपछि कसले थाम्ने हो भन्ने चिन्तामा छन्।

उनले बनाएका इँटाको माग देशैभर छ।

"७७ जिल्लाबाटै इँटाको माग हुन्छ। नमूना लिएर आउँछन् त्यही अनुसार बनाएर पठाउँछु। कहिलेकाहीँ भ्याइँदैन," उनी भन्छन्।

"एक्लैले सबैतिरको भ्याउन सम्भव छैन। यसरी काम गर्ने अरू मान्छे पाइँदैन। हातले नै बनाउन पर्ने इँटाको सवालमा त झन् अन्य उद्योगहरूले आँट नै गरेका छैनन्।"

यसको प्रक्रिया नै लामो हुनु त्यसको एउटा कारण रहेको उनी बताउँछन्। माटो मुछ्ने, सुकाउने, रङ्ग भर्ने, बुट्टाहरू कुद्नेजस्ता प्रकृयामा तीन साताभन्दा बढी लाग्ने गरेको छ।

धेरै समय र धेरै मेहनत पर्ने कारण इँटाको मूल्य पनि सामान्य इँटाको भन्दा बढी पर्ने गर्छ।

उनले बनाउने प्रत्येक इँटाका मूल्य त्यसकारण फरक-फरक हुने गर्छन्।

"सम्पदा"

संरक्षणविद् रविन्द्र पुरीले कर्ण अवाललाई एउटा गर्व गर्न लायकको सम्पदाको रूपमा हेरेको बताउँछन्।

"भक्तपुरमा जर्मन प्रोजेक्ट आउँदा कर्णका बुवा कान्छा अवाल एक जना नभइदिएको भए भक्तपुरका मठमन्दिरहरूको पुनर्निर्माण कुनै हालतमा सम्भव हुने थिएन।"

त्यतिबेला कान्छा अवाललाई भक्तपुरका मन्दिरहरूमा प्रयोग भएका इँटाहरूबारे ज्ञान भएकोले पुनर्निर्माणको काम सजिलो बनेको बताइन्छ।

कर्णका बुवाको ज्ञान र सीप सम्झँदै सम्पदाविद् पुरी मल्लकालदेखि नै कलात्मक इँटाहरु बनाउने काममा दक्ष अवाल परिवारको सम्पदा संरक्षणमा योगदान भएको बताउँछन्।

पुरी भन्छन्: "अहिले कर्ण अवाल मात्र एकजना यस्तो मान्छे हुन् जसलाई एउटा मन्दिर बनाउन के कस्ता इँटाहरू चाहिन्छ भन्ने थाहा छ र बनाउन सक्छन्।"

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
सम्पदा पुनर्निर्माणबारे भक्तपुरवासी