भारतीय स्मार्टफोन बजारमा किन बढ्दैछ शाउमीको वर्चस्व

शाओमी

तस्बिर स्रोत, Getty Images

चिनियाँ प्रविधि कम्पनी शाउमी केही वर्षभित्रै भारतमा कम मूल्यमा पाइने स्मार्टफोनको बजार कब्जा गरिसकेकोअवस्था छ।

तर यो कसरी सम्भव भयो? बीबीसीकी क्रुतिका पाथीले प्रविधि विशेषज्ञहरूसँग कुराकानी गरेर यसको जवाफ खोजेकी छन्।

गत हप्ता शाउमीका नयाँ स्मार्टफोन रेड्मी नोट ८ लाई फ्ल्यास सेल्समा अनलाइनमा राख्दा जम्मा १५ मिनेट सबै बेचियो।

सो कम्पनीका लागि यो कुनै नयाँ कुरा होइन किनभने सो कम्पनीको भारत रणनीतिको यो एउटा महत्त्वपूर्ण हिस्सा हो।

प्रविधि मामिलाबारे जानकार पत्रकार माला भार्गव भन्छिन्, "तपाईँले पहिला अनलाइन दर्ता गर्नुपर्ने हुन्छ अनि फ्ल्यास सेल्सलाई पर्खिनुपर्छ। विक्री खुल्नासाथ तपाईँले खरिद गर्न सक्नुहुन्छ।"

बजार

हुन त शाउमीका मोबाइलहरू पसलहरूमा पनि पाइन्छ। तर नयाँ मोडलहरू प्रायः अनलाइनमार्फत् विक्री हुन्छन्।

सन् २०१५ मा शाउमी भारतीय बजारमा आएको थियो। दूरसञ्चारबारे अनुसन्धान गर्ने कम्पनी कन्भरजेन्स क्याटेलिस्टका साझेदार जयन्त कोलाका अनुसार उक्त कम्पनीले भारतमा स्टोर बनाउनका लागि लगानी गरेन।

उसले आफ्ना उत्पादनहरूलाई अनलाइनमार्फत विक्री गर्नमा आफ्नो ध्यान केन्द्रित गर्‍यो। जसका कारण खर्च कम हुन पुग्यो र फोन सस्तोमा विक्री गर्न सकिने भयो।

कोला भन्छन्, "उसको अनलाइन उपस्थितिले भारतमा उसलाई मन पराउनेको सङ्ख्या बढ्यो।"

"अनि शाउमी भारतको स्मार्टफोन बजारमा एउटा ठूलो हिस्सा बन्न पुग्यो।"

तस्बिर स्रोत, Getty Images

भारतको स्मार्टफोन बजारमा आधाभन्दा बढी हिस्सा चिनियाँ कम्पनीहरूको छ।

भारतमा तिनीहरूका ४५ करोडभन्दा बढी ग्राहक छन्। भारतमा शाउमीको आठ अर्ब डलर बराबरको बजार छ।

शाउमीका मोबाइललाई 'गरीबको आईफोन' पनि भन्ने गरिन्छ। भारतीय बजारमा त्यसको २८ प्रतिशत हिस्सा छ। सन् २०१६ सम्म त्यो तीन प्रतिशतमा सीमित थियो।

पत्रकार भार्गव भन्छिन्, "त्यो कम्पनीले आईफोनजस्तो देखिने मोबाइल ल्यायो। सबैभन्दा शुरूतिर एपलको उत्पादनसँग त्यसको तुलना गरियो जसका लागि उसले आलोचना पनि खेप्नुपर्‍यो।"

तर शाउमीका फोन आईफोनजस्तो देखिने मात्रै नभई तिनका केही विशेषताका कारण ग्राहकहरूलाई रकम असुल भएको लाग्यो।

मूल्य

उदाहरणका लागि रेड्मी फोनमा ग्राहकले ६४ मेगापिक्सलको क्यामरा पाए। त्यो फोनको मूल्य भारु ९,९९९ देखि १७,९९९ सम्म थियो।

भारतीय ग्राहक त्यसका फोनप्रति आकर्षित हुँदै गए जुन हेर्दा आईफोनजस्तै थिए। तर मूल्य आईफोनको एक तिहाइ मात्रै।

कोला भन्छन्, "सबैले आईफोन किन्न सक्दैनन् अनि किन्ने क्षमता नहुञ्जेल शाउमीले काम चलाउँछन्।"

कोलाको कम्पनीले गरेको एउटा अध्ययन अनुसार मानिसको आम्दानी बढेपछि उनीहरूले आईफोन अथवा सामसङ्ग जस्ता राम्रा स्मार्टफोन किन्दारहेछन्।

कोला भन्छन्, "भारतमा तिनको लोकप्रियताको कारण भनेको कम मूल्य नै हो। कम मूल्यमा धेरै विशेषतासहितका स्मार्टफोन ग्राहकले पाइरहेका छन्।"

तस्बिर स्रोत, Getty Images

प्रविधि मामिलाका विश्लेषक नील शाह भन्छन्, "एउटा समय थियो जब माइक्रोम्याक्स जस्तो भारतीय ब्रान्ड बजारमा सबैभन्दा अगाडि थियो। तर भारतमा फोरजी आएपछि सन् २०१६ र २०१७ वरपर सबै कुरा बदलिए।"

भारतमा फोरजी आएको बेला चिनियाँ कम्पनीहरूले स्वदेशमा फोरजी प्रविधिका सस्ता फोन बेचेर सफलता हासिल गरिसकेका थिए।

शाह भन्छन्, "यसकारण भारतमा रातारात थ्रीजीबाट फोरजी फोनसेटमा आउन निकै सजिलो भयो। त्यसले भारतीय ब्रान्डलाई अन्ततः पछाडि पार्यो।"

तर भारतीय बजारमा अहिले पनि कडा प्रतिस्पर्धा छ र कुनै एउटा कम्पनीले लामो समयसम्म वर्चस्व कायम गर्न गाह्रै हुन्छ।

पछिल्लो वर्षसम्म शाउमीको बजार शेयर बढेर २८ प्रतिशत पुग्यो। सामसङ्गको त्योभन्दा कम २५ प्रतिशतमा कायम रह्यो।