ट्रम्प महाभियोग: पहिलो औपचारिक मतदान गर्ने डेमोक्र्याटस्‌को तयारी

डोनल्ड ट्रम्प

तस्बिर स्रोत, EPA

अमेरिकी संसद्‌को तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने छानबिनका क्रममा बिहीवार पहिलो औपचारिक मतदान गराउने बताएकी छन्।

ट्रम्प प्रशासनले केही ढाकछोप नगरेको कुरा सुनिश्चित गर्न पनि महाभियोग आवश्यक रहेको वरिष्ठ डेमोक्र्याट पेलोसीले बताइन्।

महाभियोगले ह्वाइट हाउसले कुनै दस्तावेज लुकाउन सक्ने वा नसक्ने, कुनै निर्देशन टेर्ने अथवा नटेर्ने अथवा छानबिनमा प्रत्यक्षदर्शीलाई रोक्न सक्ने वा नसक्ने विषयमा रहेका द्विविधालाई अन्त्य गर्ने उनको भनाइ छ।

रिपब्लिकन दलले चाहिँ डेमोक्र्याट नेतृत्वको महाभियोग छानबिन प्रक्रियामा पारदर्शिताको अभाव रहेको आरोप लगाएका छन्।

आरोप

राजनीतिक प्रतिद्वन्द्वीमाथि छानबिन गर्न विदेश सरकारहरूको डेमोक्र्याटहरूमाथि दबाब रहेको उनीहरूको आरोप छ।

वाशिङ्टनबाट बीबीसी संवाददाता क्रिस बक्लरका अनुसार अरू डेमोक्र्याटहरूलाई पठाएको एउटा पत्रमा पेलोसीले ट्रम्पविरुद्धको महाभियोग प्रक्रिया अगाडि बढाउन मतदान आवश्यक रहेकोमा जोड दिएकी छन्।

उनले संसद्‌का तीनवटा समितिबाट भइरहेका छानबिनलाई ट्रम्पले बेवास्ता गर्न नसक्ने कुरा सुनिश्चित गर्नुपर्ने समय पनि भएको उनले बताएकी छन्।

छानबिन

यसअघि अक्टोबर दोस्रो हप्तातिर ह्वाइट हाउसले डेमोक्र्याटहरूले अमेरिकी कंग्रेसमा थालेको राष्ट्रपतिविरुद्धको महाभियोगको छानबिनलाई नसघाउने बताएको थियो।

सो छानबिनलाई उसले दलीय पूर्वाग्रहपूर्ण तथा असंवैधानिक भनेको थियो।

डेमोक्र्याटका वरिष्ठ नेताहरूलाई पत्र लेख्दै ह्वाइट हाउसका वकिलले पक्षपातपूर्ण एवम्‌ उचित प्रक्रिया नअपनाइएका छानबिनमा राष्ट्रपति ट्रम्पले नसघाउने उल्लेख गरेका छन्।

सदनमा डेमोक्र्याटिक पार्टीका नेताको नेतृत्वमा रहेका तीनवटा समितिले राष्ट्रपतिमाथि अनुसन्धान गरिरहेका छन्।