ब्रिटिश निर्वाचन: लेबर पार्टी पनि चाँडै आम निर्वाचनको पक्षमा

  • 29 अक्टोबर 2019
जेरमी कोर्बिन तस्वीर कपीराइट HoC
Image caption लेबर नेता जेरमी कोर्बिनले डिसेम्बर महिनामा हुने निर्वाचनको प्रस्तावलाई समर्थन गर्न सकिने बताएका छन्

ब्रिटेनमा निर्धारित समय अगावै आगामी डिसेम्बर महिनामा आमनिर्वाचन हुने सम्भावना बलियो बन्दै गएको छ।

प्रमुख विपक्षी लेबर पार्टीले पनि डिसेम्बर महिनाका लागि प्रस्तावित आमनिर्वाचनका लागि आफ्नो समर्थन रहने बताएपछि त्यस्तो सम्भावना बढेको हो।

मंगलबार प्रधानमन्त्री बोरिस जोनसनले देशमा समय अगावै आमनिर्वाचन गर्ने प्रस्ताव पारित गराउन चौथो प्रयास गर्दैछन्।

यसअघि आमनिर्वाचन सम्बन्धी उनका सबै प्रस्ताव सांसदहरूले अस्वीकार गरिदिएका थिए।

अब प्रधानमन्त्री जोनसनले एक-पाने विधेयक मार्फत आउँदो १२ डिसेम्बरमा आमनिर्वाचन गर्ने प्रस्ताव गर्नेछन् जुन विधेयक पारित हुन यसअघि जस्तो दुई तिहाइ सांसदहरूको समर्थन आवश्यक पर्दैन।

प्रधानमन्त्री कार्यालयका समाचार स्रोतहरूका अनुसार विपक्षी दलहरू सहमत भएमा डिसेम्बर ११ को मिति पनि सरकारलाई मान्य हुन सक्छ।

समर्थन

इयूले ब्रेक्जिटको समयसीमा लम्बाउन सहमति जनाएपछि विपक्षी लेबर पार्टीका नेता जेरमी कोर्बिनले नो-डिल ब्रेक्जिट अर्थात विना कुनै सहमति ब्रिटेन युरोपेली संघबाट बाहिरिने सम्भावना अब नरहेको भन्दै आफ्नो दलले शीघ्र निर्वाचनकालागि समर्थन जनाउने बताएका छन्।

तर उनले केही समयपछि सरकारले संसदमा प्रस्तुत गर्ने यससम्बन्धी विधेयकलाई उनले समर्थन गर्छन् की गर्दैनन् भन्ने चाहिँ स्पष्ट पारेका छैनन्।

ब्रिटेनको संसदका अन्य विपक्षी दलहरू एसएनपी र लिबरल डिमोक्र्याटहरूले आगामी ९ डिसेम्बरमा निर्वाचन हुनुपर्ने माग गरिरहेका छन्।

ति पार्टीहरूका अनुसार उक्त मितिमा निर्वाचन भएमा त्यसबाट बोरिस जोनसनलाई निर्वाचन अगावै संसदबाट उनको ब्रेक्जिट योजना अघि बढाउनबाट रोक्न सकिनेछ।

अभियान

आफ्नो छाया मन्त्रिमण्डललाई सम्बोधन गर्दै लेबर नेता जेरमी कोर्बिनले भने, "अब हामी हाम्रो देशले अहिलेसम्म देखेकोभन्दा फरक वास्तविक परिवर्तनका लागि महत्त्वाकांक्षी र आमूल परिवर्तनकारी अभियान संचालन गर्नेछौँ।"

लेबर पार्टीका छाया कानुनमन्त्री रिचर्ड बर्गनले भनेका छन् उनको दलले आगामी क्रिसमस अगाडि नै बोरिस जोनसनलाई सत्ताबाट बाहिर देख्‍न चाहेको छ, तर उनले उनको दलले निर्वाचनकालागि कुन मिति चाहेको हो भन्ने बारे चाहिँ केही उल्लेख गरेनन्।