ब्रिटिश निर्वाचन: डिसेम्बरको आमनिर्वाचनका लागि संसद्‌मा छलफल

  • 29 अक्टोबर 2019
ब्रिटिश प्रतिनिधि सभा तस्वीर कपीराइट HoC

ब्रिटेनमा प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिटसम्बन्धी गतिरोधको अन्त्य गर्नका लागि देशमा चाँडै आमनिर्वाचन गराउने विधेयकलाई समर्थन गर्न संसद्‌लाई आह्वान गरेका छन्।

संसद्‌मा आगामी डिसेम्बर महिनामा देशमा आमनिर्वाचनको प्रस्ताव गर्ने एक-वाक्यको विधेयकमाथि विमर्श भइरहेको छ।

मुख्य विपक्षी दल लेबरले समयअगावै हुने आमनिर्वाचनको प्रस्तावप्रतिको आफ्नो यसअघिको असहमति हटाएको छ।

समयअगावै निर्वाचन गर्ने प्रस्ताव पारित गराउने प्रधानमन्त्री बोरिस जोनसनको यो चौथो प्रयास हो।

यो पछिल्लो विधेयक पारित हुन संसद्‌मा सामान्य बहुमत भए पुग्छ।

लेबर पार्टी पनि ब्रिटेनमा शीघ्र चुनावको पक्षमा

सोमवार प्रस्तुत विधेयकमा दुई तिहाई सांसदको मत प्राप्त गर्न असफल भएपछि उनले मङ्गलवार सामान्य बहुमत मात्र आवश्यक पर्ने प्रकृतिको विधेयक प्रस्तुत गरेका हुन्।

बीबीसीका रब वाट्सन भन्छन्, "तीन वर्षभन्दा अघि ब्रिटेनले ईयूको सदस्यता त्याग्ने विषयमा भएको जनमत सङ्ग्रहपछि यूकेलाई चपेटामा पारिरहेको राजनीतिक सङ्कटको अवस्थामा यो उल्लेखनीय घटना हो। अब निःसन्देह यो ब्रेक्जिटसम्बन्धी निर्वाचन हुनेछ।"

तस्वीर कपीराइट HoC

संसद्‌मा बोल्दै प्रधानमन्त्री जोनसनले " यो संसद्‌मा फेरबदल गरेर" जनतालाई ब्रेक्जिट र देशको भविष्यका सम्बन्धमा "विकल्प दिने" समय भएको बताएका छन्।

लेबर नेता कोर्बिनले १६ र १७ वर्ष उमेरका पुगेका र ब्रिटेनमा स्थायी बसोबास रहेका ईयू नागरिकहरूलाई पनि मतदान अधिकार प्रदान गर्ने सांसदहरूको कदमलाई आफ्नो दलले समर्थन गर्ने बताएका छन्।

त्यस्तो कदमलाई सरकारले कडा रूपमा विरोध गर्दै आएको छ।

अर्को निर्वाचनको मितिबारे कहिले टुङ्गो लाग्ला?

सरकारले शीघ्र निर्वाचन विधेयक पारित हुन प्रतिनिधिसभामा पालना हुनुपर्ने सबै चरणहरू आजको दिनको अन्त्यसम्ममा पूरा गर्ने लक्ष्य लिएको छ।

यो प्रक्रियाले सामान्य अवस्थामा कैयौँ दिनको समय लिने गर्दछ। उक्त विधेयकमा कयौँ संशोधनहरू प्रस्ताव गरिएको छ।

विधेयकको दोस्रो चरणको छलफलमाथिको मतदान स्थानीय समय अनुसार साँझको छ बजेअगावै हुने अनुमान गरिएको छ।

त्यसपछि थर्ड रिडिङ भनिने तेस्रो चरणको छलफल हुनेछ।

सांसदहरूले त्यसपछि उक्त विधेयकलाई समर्थन गरेमा ब्रिटेनमा क्रिसमसअघि नै आमनिर्वाचन हुने निश्चित हुनेछ।

यद्यपि उक्त विधेयक, संस‌द्को माथिल्लो सदन हाउस अफ लर्डसबाट पनि अनुमोदित हुनुपर्छ।