ब्रिटेन लरी मृत्यु प्रकरण: प्रहरीले खोजीरहेका दुई भाइ

  • 30 अक्टोबर 2019
ह्युज दाजुभाइ तस्वीर कपीराइट Essex Police

ब्रिटेनको एसिक्समा गत साता एउटा लरीमा ३९ वटा शव भेटिएपछि हत्याको शङ्कामा प्रहरीले दुई दाजुभाइको खोजी गरिरहेको छ।

४० वर्षीय रोनन ह्युज तथा ३४ वर्षीय क्रिस्टोफर ह्युज उत्तरी आयरल्याण्डको आर्मागका हुन्। उनीहरूमाथि मानव तस्करीको शङ्का पनि गरिएको छ।

कहाँ होलान्?

गत बुधवार एसिक्सको एक औद्योगिक क्षेत्रमा एउटा लरीको कन्टेनरमा ३९ जनाको शव भेटिएको थियो।

ती ह्युज दाजुभाइ उत्तरी आयरल्याण्डमा भएको हुन सक्ने प्रहरीको विश्वास छ। तर उनीहरूको सम्बन्ध आइरिश गणतन्त्रसँग पनि रहेको ठानिएको छ।

लरीका ड्राइभर मोरिस रबिन्सन पनि उत्तरी आयरल्याण्डकै हुन्।

सोमवार अदालतमा प्रस्तुत गरिएका उनीविरुद्ध हत्यासम्बन्धी विभिन्न ३९ अभियोग लगाइएका छन्।

तस्वीर कपीराइट PA Media

प्रहरी अधिकारी स्टुआर्ट हुपरले भने, "ह्युज दाजुभाइलाई भेट्टाएर सोधपूछ गर्नु यस अनुसन्धानको निम्ति अति आवश्यक छ।"

"यो घटनामा ३९ जना महिला तथा पुरुषको पीडादायी मृत्यु भएको छ। जिम्मेदारहरूलाई कानूनको दायरमा ल्याउन समुदायको सहयोग महत्त्वपूर्ण रहनेछ।"

प्रहरीले ती दाजुभाइबारे कुनै पनि सूचना हुने व्यक्तिलाई आफूहरूसँग सम्पर्क गर्न आह्वान गरेको छ।

अरू पनि पक्राउ

सो घटनालाई लिएर अन्य तीन जना पक्राउ परेका थिए।

पक्राउ परेका एकजना ३८ वर्षीय पुरुष, एकजना ३८ वर्षीया महिला तथा एकजना ४६ वर्षीय पुरुष, सबैजना हाल जमानतमा रिहा भएका छन्।

सुरुमा प्रहरीले मृतक ३१ पुरुष तथा ८ महिला चिनियाँ भएको हुनसक्ने बताएको थियो।

तर कैयौँ भियतनामी परिवारहरूले आफ्ना सदस्य हराइरहेको जानकारी दिँदै ती मृतकहरूमा आफूहरूका आफन्त पनि रहेको हुनसक्ने बताए।

भियतनामी सरकारी सूत्रहरूले बीबीसीलाई जनाए अनुसार त्यहाँका राष्ट्रिय तथा प्रान्तीय प्रहरी विभागका अधिकारीहरू ब्रिटिश प्रहरीलाई अनुसन्धानमा सघाउन यूके जान तयार छन्।

भियतनामी प्रहरीले शङ्कास्पद पीडितका परिवारजनको डिएनएको नमूना सङ्कलन गरिरहेको छ।

त्यसले पीडितको पहिचानमा सघाउ पुग्ने ठानिएको छ।