महराविरुद्ध 'जबरजस्ती करणी उद्योग' गरेको अभियोग

  • 31 अक्टोबर 2019
महरा तस्वीर कपीराइट RSS

प्रतिनिधिसभाका पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध बिहीवार जिल्ला अदालत काठमाण्डूमा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा मुद्दा दर्ता गरिएको छ।

उनलाई संसद् सचिवालयकी एक कर्मचारीलाई करणीको उद्योग गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो।

महराले पीडित भनिएकी महिलालाई जबरजस्ती करणी गरेको नभई "करणीको उद्योग गरेको" सरकारी वकिल कार्यालयले निष्कर्ष छ।

मागदाबी कस्तो

जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट दर्ता गरिएको उक्त मुद्दामा मु्लुकी अपराधसंहितामा जबरजस्ती करणी उद्योग गरेमा हुने सजायका अतिरिक्त सार्वजनिक पदमा बसेर कसुर गरेको भन्दै थप सजायको माग गरिएको जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकारी नुमराज खनालले बताए।

उनले भने "मु्लुकी अपराधसंहिताको दफा २१९ को उपदफा ३ को (ङ) बमोजिम हुने सजायमा संहिताको दफा ३४ को ३ बमोजिम कसुर गरेको अभियोगको मागदाबी गरिएको छ संघीय संसद्को सभामुख जस्तो पदमा रहेर उक्त पदको दुरुपयोग गरी कसुर गरेको हुँदा फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको दफा १५ को उपदफा २ को (ङ) को बमोजिम थप सजाय होस भनेर मागदाबी लिइएको छ।"

मु्लुकी अपराधसंहितामा अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गरेको भए सात वर्षदेखि दश वर्षसम्म सजायको व्यवस्था गरिएको छ। तर उद्योगमात्रै गरेकोमा तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ। जस अनुसार उक्त सजाय अवधि साढे ३ वर्ष देखी ५ वर्षसम्म हुन आउँछ।

महरा "सभामुख जस्तो पदमा रहेका बेला गरिएको अपराध भएको" भन्दै थप सजायको माग गरिएको छ। कानुनको व्यवस्था अनुसार सार्वजनिक पदमा रहँदा गरिएको अपराधमा तोकिएको सजायको डेढ गुणा बढी सजाय हुने छ।

थुनछेक बहस बाँकी

शुक्रवार महराको बयान हुने र बयान सकिएपछि थुनछेक बहस हुने बताइएको छ।

जिल्ला अदालतका वैतानिक वकिल सुदर्शन पौडेलले भने, "बयान र बहसमा लाग्ने समयले उनलाई थुनेर मुद्दा चलाउने कि धरौटीमा वा साधारण तारेखमा भन्ने निर्धारण गर्ने छ। बयान थोरै भयो र बहसमा पनि थोरै वकिल भए भने शुक्रवार नै त्यसको पनि टुङ्गो लाग्ने छ।"

सरकारी वकिलको कार्यालयले महराको बयान लिनका लागि पहिले केही समय स्वास्थ्यका कारण आनाकानी गरे पनि पछिल्ला दिनमा सघाएका थिए। उनले आफूमाथि लागेको आरोप झूटा भएको दाबी गर्दै आएका छन्।

उनीविरुद्ध प्रहरीमा जाहेरी दिएकी पीडित भनिएकी महिलाले सञ्चार माध्यमहरूमा पटकपटक उक्त घटनाबारे फरक फरक भनाइ राखेका विवरणहरू सार्वजनिक भइसकेका छन्।