नेपालमा 'आतङ्कवाद'को खतराबारे पूर्व गुप्तचर प्रमुखको भनाइ यस्तो
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नेपाल सन्दर्भ: अमेरिकी प्रतिवेदनले भने जस्तो 'नेपालमा केही वर्षदेखि आतङ्कवादीहरूको गतिविधि भएको छैन'

  • 7 नोभेम्बर 2019

सन् १९९९ को अन्त्यतिर काठमाण्डूबाट भएको भारतीय विमान अपहरणको घटना तथा भारतीय भूभागभित्र भएका अन्य केही घटनापछि भारतीय सुरक्षा निकायको आतङ्कवादीहरूले नेपाली भूमि प्रयोग गरेको आरोप लगाएका छन्।

यो साता फेरि नेपालको अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँगको खुला सीमामा सुरक्षा व्यवस्था नाजुक भएको निष्कर्ष निकालिएको अमेरिकी प्रतिवेदन सार्वजनिक भएको छ।

अमेरिकी विदेश मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको आतङ्कवादसम्बन्धी प्रतिवेदनले 'नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूका लागि बाटो वा गतिविधि गर्ने विन्दुको रूपमा रहेको र रहिरहन सक्ने' खतरा औँल्याएको छ।

प्रतिवेदनमा भारतको आतङ्कवादी समूह इन्डीअन मुजाहिदीनले नेपाललाई आफ्नो अखडाको रूपमा प्रयोग गरेको उल्लेख छ।

नेपाल सरकारको गृह मन्त्रालयले उक्त प्रतिवेदनबारे अनभिज्ञता प्रकट गरेको छ।

गृहसचिव प्रेमकुमार राई त्यसबारे मन्त्रालयका प्रवक्तासँग कुरा गर्नु भन्दै बोल्न चाहेनन् भने प्रवक्ता केदारनाथ शर्मालाई पटकपटक फोन गर्दा उनको मोबाइलको स्विच अफ गरिएको पाइयो। सूचना अधिकारी एवम्‌ मन्त्रालयअन्तर्गत रहेको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका उपसचिव उमाकान्त अधिकारीले सो प्रतिवेदनबारे आफूहरूलाई कुनै जानकारी नै नभएको प्रतिक्रिया दिएका छन्।

साप्ताहिक कार्यक्रम 'नेपाल सन्दर्भ' मा हामीले नेपाल सरकारको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका पूर्व महानिर्देशक देवीराम शर्मासँग अमेरिकी प्रतिवेदनले नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूको चलखेलको केन्द्र बन्न सक्ने खतरा औँल्याएको विषयमा कुराकानी गरेका छौँ।

उक्त प्रतिवेदनले भने जस्तो नेपाल [भारतीय] आतङ्कवादीहरूको मार्ग वा अखडा नबनेको दाबी गर्दै उनले अमेरिकी आकलन कुनै प्रमाणमा आधारित नभएकोले त्यसलाई नेपालले स्वीकार गर्न नसक्ने बताएका छन्।

उक्त प्रतिवेदनबारे उनको धारणा सुन्न माथिको श्रव्य सामग्रीमा थिच्नुहोस्।