धरानमा 'कम्युनिस्ट किल्ला' भत्किनुको राजनीतिक सन्देश

  • 2 डिसेम्बर 2019
तिलक राई

धरान उपमहानगरपालिकाका मेयरमा विजयी प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका तिलक राई धरान-१८ बुद्धचोकका स्थायी बासिन्दा हुन्।

विसं २०७४ मा भएको धरान उपमहानगरपालिकाको निर्वाचनमा तत्कालीन नेकपा एमालेका उम्मेदवार तारा सुब्बासँग फराकिलो मत अन्तरले पराजित भएका तिलकले यो पटक चाहिँ ऐतिहासिक बाजी मारेका छन्।

उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रकाश राईलाई फराकिलो मत अन्तरले पराजित गरेका छन्।

तिलकले नेकपाका प्रकाश राईलाई दुई हजार ७९५ मत अन्तरले पराजित गरेका हुन्।

राजनीतिक अर्थ

उनले २६ हजार ७०९ मत ल्याए भने प्रतिद्वन्द्वी प्रकाशले २३ हजार ९१४ मत पाए।

कतिपयले तिलकको जितलाई धरानमा 'तीन दशकदेखिको कम्युनिस्टहरूको किल्ला तोडिएको' रूपमा अर्थ्याइरहेका छन्।

नवनिर्वाचित मेयर तिलक राईले धरानवासीले परिवर्तन चाहेको बताए। "मेरो जित धरानवासी जनताको जित हो, मैले यसलाई अवसरको रूपमा लिएको छु।"

झण्डै तीन दशकदेखि कम्युनिस्ट पार्टीका सदस्यहरूले एकलौटी नेतृत्व गर्दै आए पनि खानेपानी, सुकुम्वासी समस्या, विमानस्थल निर्माण जस्ता विषयमा जनप्रतिनिधिले ध्यान नदिएको धरानवासीले गुनासो गर्दै आएका थिए।

नेकपाका एक सांसद जयकुमार राईले जनताका आकाङ्क्षा पूरा गर्न नसक्दा पार्टीले हार बेहोर्नुपरेको बताए।

उनले भने, "निर्वाचन भएको छोटो अवधिमा धेरै काम गर्न सकिएन। त्यसलै जनताले विकल्प खोजे।"

'स्वाभाविक'

धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका सह-प्राध्यापक अमृत श्रेष्ठ धरानको चुनावी परिणाम 'स्वाभाविक' भएको बताउछँन्।

चुनावका बेला गरेका प्रतिबद्धता पूरा नभएका कारण जनताले विकल्प खोजेको हुनसक्ने उनको ठम्याइ छ।

विसं २०३६ सालमा भएको निर्वाचनमा तत्कालीन 'जनपक्षीय' उम्मेदवार बम देवानले जितेपछि धरानमा कम्युनिस्ट पार्टीको पकड बलियो बनेको थियो।

धरानका एकजना पत्रकार केशव घिमिरेको विचारमा पछिल्लो स्थानीय तहको निर्वाचनपछि नगरमा बढेको विभिन्न करप्रतिको आक्रोश र जनप्रतिनिधिको कार्यशैलीप्रतिको असन्तुष्टि मतदानमा पोखेका हुन्।

तत्कालीन एमाले र एकीकृत नेकपा माओवादीबीचको एकताका गाँठो स्थानीय तहसम्म राम्रोसँग नबाँधिएका कारण पनि नेकपाको पराजय भएको उनी बताउँछन्।