उत्सर्जित कार्बन डाइअक्साइडबाट भाँडाकुँडा र काँटाचम्चा

चिम्नीबाट निस्कीरहेको कार्बन डाइअक्साइड

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

खनिज तेल प्रयोगमा कडा नियमहरू लगाइएपछि आधुनिक जीवनको एउटा महत्त्वपूर्ण तत्व प्लास्टिक उत्पादनको नयाँ तरिक खोज्न वैज्ञानिकहरू लागिपरेका छन्

प्लास्टिक एउटा ठूलो वातावरणीय समस्या हो- हाम्रो जमिन र समुद्रमा करिब ७.२५ खर्ब टन यसले ढाकेको छ। यो जताततै छ।

र यो राम्रो पनि छ- हामीलाई प्लास्टिक चाहिन्छ र यसले बीसौँ शताब्दीमा जीवनमा क्रान्ति ल्याइदिएकोमा कुनै शङ्का छैन।

प्लास्टिकबिना रेकर्ड गरिएका सङ्गीत र सिनेमाहरू सम्भव हुँदैनथे।

आधुनिक औषधि पनि प्लास्टिक पूर्ण रूपमा निर्भर छ- रक्त सङ्कलन गरिने झोलाहरू, पाइपहरू र सुईहरू।

सोच्नुहोस् त- त्यसैगरी कार र विमानका पार्टपुर्जाहरू- सबै प्लास्टिकमा आधारित छन् जसले हामीलाई संसारको यात्रा गर्न सम्भव बनाइदिएका छन्।

र कम्प्युटर, फोन र सबै प्रकारका इन्टरनेट प्रविधि पनि त प्लास्टिकमा आधारित छन्।

र तपाईँ सम्भवत: यो समाचार पनि प्लास्टिककै कारण पढ्न पाइरहनुभएको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

प्लास्टिक प्रदूषण एउटा प्रमुख वातावरण प्रदूषण बनेको छ तर यो बहसमा धेरैजसो यसको कार्बन डाइअक्साइसँगको सम्बन्धलाई भने उपेक्षा गर्ने गरिएको छ।

अहिले प्लास्टिक बनाउने भनेको खनिज इन्धन बालेर कार्बन डाइअक्साइड उत्सर्जन गर्नु हो भन्ने बुझिन्छ, जुन हरितगृह ग्यास हो।

त्यसले जलवायु परिवर्तनमा सघाउ पुर्‍याइरहेको छ।

तर कार्बन डाइअक्साइड उत्सर्जन नगरिकनै हामीले प्लास्टिकका म्याट्रेस, फोम इन्सुलेसन, प्लास्टिकका काँटाचम्चा वा पुन: प्रयोग गर्न मिल्ने भाँडाकुँडा बनायौँ भने अथवा वायुमण्डलबाट त्यसलाई सोसेर निकाल्न सक्यौँ भने नि?

नयाँ प्रविधिहरूले कार्बन डाइअक्साइड उत्सर्जनलाई प्लास्टिकमा परिवर्तन गर्नेतर्फ प्रगति देखाएका छन्।

त्यसो गर्न सके पृथ्वीको वायुमण्डलमा परेको हरितगृह ग्यासको प्रभाव कम गर्न सकिन्थ्यो। तर कसरी हुन सक्छ त्यो?

त्यसो गर्न सकिने वैज्ञानिक उपाय हेरौँ है त।

कार्बन डाइअक्साइडबाट नाइलन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

प्लास्टिकहरू टिकाउ, र जतापनि प्रयोग गर्न मिल्ने किसिमका छन्

प्लास्टिकहरू प्रयोगशालामा उत्पादन गरिने पोलिमरहरू हुन्, लामो लामो मालाजस्ता तत्वहरू एकअर्कासँग जोडेर राखिएका।

यूके सेन्टर फर कार्बन डाइअक्साइ युटिलाइजेशन (सीडीयूयूके) मा अनुसन्धानकर्ताहरूले कार्बन डाइअक्साइडबाट पोलीअक्रीलमाइड तत्वले बन्ने नाइलन बनाउने तरिका पत्ता लगाएको बताएका छन्।

सीडीयूयूकेका निर्देशक तथा शेफिल्ड विश्वविद्यालयमा केमिकल इन्जिनियरिङ तथा केमिस्ट्रीका प्राध्यापक डा. पीटर स्टाइरिङ भन्छन्: "कार्बन डाइअक्साइडबाट नाइलन बनाउने भन्ने कुरा पागलपन जस्तो लाग्छ तर हामीले त्यो सम्भव बनाएका छौँ।"

उनी भन्छन्: "खनिज इन्धनलाई कच्चा पदार्थका रूपमा प्रयोग गर्नुको बदला रासायनिक प्रक्रियाबाट कार्बन डाइअक्साइड निकालेर प्रयोग गर्न सकिन्छ। यसले पेट्रोकेमिकल क्षेत्रमा क्रान्ति ल्याइदिनेछ।"

त्यस्ता काममा प्रयोग भइरहेको कार्बन डाइअक्साइड उत्सर्जनबाट लिइएको होइन--रासायनिक प्रक्रियाबाट निकालिएको हो।

तर अनुसन्धानकर्ताहरूको लक्ष्य फ्याक्ट्रीहरूले उत्सर्जन गर्ने कार्बन डाइअक्साइड प्रयोग गर्ने भन्ने रहेको छ।

ग्यासमाथि ओछ्यान?

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

वैज्ञानिकहरूले आंशिक रूपमा कार्बन डाइअक्साइड प्रयोग गरेर गद्दा उत्पादन गरेका छन्

कार्बन डाइअक्साइडबाट प्लास्टिक बनाउन वैज्ञानिकहरूले जटिल उत्प्रेरक प्रयोग गर्नुपर्छ, उत्प्रेरकले आफू समाप्त नभइकन रासायनिक प्रतिक्रियालाई तीव्र बनाइदिन्छ।

जर्मनीस्थित पेट्रोकेमिकल समूह कोभेस्ट्रोमा अनुसन्धानकर्ताहरूले २० प्रतिसत कार्बन डाइअक्साइड प्रयुक्त भएको कार्ड्योन ब्रान्ड नाममा गद्दा उत्पादन गरेका छन्।

उनीहरूले एउटा उत्प्रेरक पत्ता लगाएका छन् जसले कार्बन डाइअक्साइड र अन्य तत्वहरूबीच रासायनिक प्रतिक्रिया गराउँछन्।

जसबाट पोलीयुरेथेन नामको रासायनिक पदार्थ बनाइन्छ जुन डसना, 'कुशन' र फ्रिजको इन्सुलेसनमा प्रयोग हुनेगर्छ।

हरेक वर्ष विश्वव्यापी रूपमा एक करोड ५० लाख टन पोलीयुरेथेन बनाइने भएकाले कार्बन डाइअक्साइड कच्चा पदार्थका रूपमा प्रयोग गर्नुले कार्बन उत्सर्जनमा ठूलो असर पार्न सक्छ।

सफा हावा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

वैज्ञानिकहरू प्लास्टिक बनाउने नयाँ तरिकाबारे काम गरिरहेका छन्

संसारभर वैज्ञानिकहरू विभिन्न प्रकारका प्लास्टिक बनाउन कार्बन डाइअक्साइडको प्रयोग गरिरहेका छन्।

यूकेस्थित इकोनिक भन्ने कम्पनीले कार्बन डाइअक्साइडबाट पोलीयुरेथेन बनाइरहेको छ, उसले दुई वर्ष भित्रै फोम उत्पादन गरेर बजारमा पुर्‍याउने अपेक्षा राखेको छ।

त्यस्तै उसले रबरजस्ता तन्काउन मिल्ने विभिन्न वस्तु पनि बनाउने लक्ष्य राखेको छ।

कम्पनीको बिक्री प्रमुख लेइ टेलर भन्छन्: "यी पदार्थहरू परम्परागत प्लास्टिकको गुणस्तरका त हुन्छन् नै कहिलेकाहीँ ती भन्दा पनि राम्रा हुन्छन्।"

"हाम्रा उत्पादन अझ बढी राम्रो भएको पाइरहेका छौँ जस्तो कि आगो लाग्न नदिने क्षमता र कोरिने सम्भावना कम हुनु इत्यादि।"

इकोनिकले एकअर्कालाई जोड्न प्रयोग गरिने पोलीओल्स ३० प्रतिसत जति कार्बन डाइअक्साइडबाट बनाइएका छन्।

जसले गर्दा वायुमण्डलबाट ९ करोड टन उत्सर्जन जोगाउन सकिन्छ जुन चालीस लाख रूख बराबर या सडकबाट बीस लाख कार हटाउनु सरह हो।

र प्रयोग हुँदै आएको कच्चा पदार्थ भन्दा कार्बन डाइअक्साइड धेरै सस्तो भएकाले उत्पादकहरूले पनि धेरै पैसा जोगाउनेछन्।

महत्त्वाकाङ्क्षी भविष्य

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

चिनीमा आधारित पोलीकार्बोनेटहरूबाट बच्चाका लागि आवश्यक बोत्तल बनाउने गरिएको छ

अरूतिर वैज्ञानिकहरूले कार्बन डाइअक्साइडलाई चिनीसँग मिसाएर पोलिकार्बोनेट्स विकास गरिरहेका छन्।

जसबाट पुन: प्रयोग गर्न मिल्ने खाद्यान्न राख्ने बट्टाहरू र बच्चाका लागि प्रयोग हुने बोत्तलहरू बनाउन सकिन्छ।

उनीहरूको चिनीमा आधारित घूलन अहिले प्रयोगमा रहेको बीपीएमा आधारित उत्पादन भन्दा सुरक्षित हुनेछ।

बीपीए बच्चाहरूको बोत्तल र कपहरू बनाउनमा प्रयोग गर्न क्यानडामा सन् २०१० मै प्रतिबन्ध लगाइएको थियो।

त्यो भन्दा पनि महत्त्वाकाङ्क्षी योजना कार्बन डाइअक्साइडबाट इथाइलिन बनाउनु हो।

अहिले संसारमा उत्पादन हुने आधा भन्दा बढि प्लास्टिक इथाइलिनबाट बनाइन्छ जसले यसलाई संसारकै एक महत्त्वपूर्ण कच्चा पदार्थ बनाएको छ।

यूकेको स्वानसी विश्वविद्यालयमा प्राध्यापक एनरिको एन्ड्रीओलीले कार्बन डाइअक्साइड पानी र बिजुली मिसाएर इथाइलिन बनाउन आवश्यक उत्प्रेरक विकास गर्ने काममा लागिपरेका छन्।

प्राध्यापक एन्ड्रीओली भन्छन्: व्यापारिक प्रयोजनका लागि हुने गरी प्लास्टिक पोलीइथाइलीन बनाउन बीस वर्ष लाग्न सक्छ तर त्यो लक्ष्य राख्नु राम्रो कुरा हो।

"हामी ३० देखि ४० वर्षमा खनिज तेलबाट इथाइलिन बनाउन असमर्थ हुनेछौँ- त्यसैले कार्बन डाइअक्साइडबाट बनाउन मिल्ने गरी अरू उपाय खोजी गर्नैपर्नेछ।"

बायोप्लाष्टिक समाधान कि झन् समस्या?

तस्बिर स्रोत, Getty Images

तर प्लास्टिकबारेका केहि महत्त्वाकाङ्क्षी योजनाका वातावरणीय पक्षहरू नराम्रा पनि छन्।

बायोप्लास्टिक भनिने आलु, मकै वा फोहोर फ्याँक्न प्रयोग गरिने झोलाहरूको प्रयोग गरेर बनाइएका काँटा चम्चा प्लेटहरूबारे सञ्चारमाध्यममा निकै चर्चा भयो।

तर नाम अनुसार तिनीहरू सजिलै कुहिँदैनन् तिनलाई उद्योगमा लगेर गाल्नुपर्ने हुन्छ। कार्बन डाइअक्साइड उत्सर्जनको पक्षबाट हेर्दा तिनलाई उत्पादन गर्न झन धेरै उर्जा आवश्यक पर्छ।

बाली भित्र्याउँदा मशिनको प्रयोग र फ्याक्ट्रीहरूमा कच्चा पदार्थको उत्पादन हेर्दा बायोप्लास्टिक श्रृङ्खलामा कार्बन उत्सर्जन परम्परागत प्लास्टिकको भन्दा झन् बढी हुन्छ।

यसले कार्बन डाइअक्साइडबाट प्लास्टिक बनाउने कुरालाई उतै लग्छ- जसले पृथ्वीको प्रदूषण समस्या समाधान गर्दैन, तर त्यसले वातावरण संरक्षण अर्कै प्रकारले गर्न सक्छ।

(यो रिपोर्ट जो कोर्मियरले बीबीसी अर्थका लागि गरेको रिपोर्टमा आधारित छ।)